राजपाभित्र संसदीय दल नेता चयनमा खिचातानी

राजपाभित्र संसदीय दल नेता चयनमा खिचातानी


राष्ट्रिय जनता पार्टी (नेपाल)को राजनीतिक समितिको अर्को बैठक यही असार २१ गते बस्दैछ । यसअघि सो पार्टीको बैठक गत ४ गते शुरु भई ६ गते बुधबार टुङ्गिएको थियो ।उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको सो पार्टीले जनाएको छ ।

बताइएअनुसार राजपाले पहिलो महाधिवेशन आगामी २०७६ साल वैशाख ७, ८ र ९ गते गर्ने भएको छ भने बैठकले संसदीय दलको विधान पारित गर्नुका साथै महाधिवेशन विधान परिमार्जन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । महाधिवेशन विधान परिमार्जन समितिमा सहअध्यक्ष लक्ष्मण लाल कर्ण, वरिष्ठ उपाध्यक्षद्वय सर्वेन्द्रनाथ शुक्ल र वृषेशचन्द्र लाल रहेका छन् ।

उक्त बैठकले टीकापुर घटनामा दोषी देखिएका रेशम चौधरीलगायत कैलालीका बन्दीहरू र मधेस आन्दोलनको क्रममा बाँके, महोत्तरी, सिरहालगायत विभिन्न स्थानमा बन्दी जीवन बिताइरहेका राजपा कार्यकर्ताहरूको सीघ्र रिहाईको माग पनि गरेको छ ।

यस्तै, एक साताभित्रै संसदीय दलको नेता चयन गर्ने निर्णय भएको पार्टी स्रोतले जनाएको छ । तथापि, साताभित्रै संसदीय दलको नेतामा सहमति जुट्नेमा सो पार्टीका उपल्लो तहका कार्यकर्ता नै विश्वस्त छैनन् । राजपामा महन्थ ठाकुरलाई नै संसदीय नेता बनाउनुपर्ने भन्दै एक समूह सक्रिय रहेको छ भने राजेन्द्र महतोले पनि संसदीय दलको नेता हुन आफ्नै किसिमले लविङ गरिरहेका बताइन्छ ।

यसरी दुई बलिया समूहको खिचातानीका कारण सहज रूपमा संसदीय दलको नेता चयन हुनेमा आशङ्का बढेको राजपाका एक नेताले बताए ।