बेपत्ता १९३ मध्ये चारजनाको शव भेटियो, चालक पक्राउ

बेपत्ता १९३ मध्ये चारजनाको शव भेटियो, चालक पक्राउ


इन्डोनेसियामा भएको एक डुंगा दुर्घटनामा परी बेपत्ता भएका ठूलो संख्याका यात्रुमध्ये चारजनाको शव भेटिएको ।

गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जीवितै उद्धार गरिएको थियो । उनीहरूको खोजी कार्य जारी नै रहेको सुरक्षाकर्मीहरुको भनाई छ ।

खोजी र अनुसन्धानको क्रममा चालक दलका अध्यक्ष पक्राउ परेका छन् । सो कुराको जानकारी इन्डोनेसियाको प्रहरीले आज बिहीबार दिएको छ । डुंगा पनि तिनै व्यक्तिको रहेको अनुमान गरिएको छ । तर, प्रहरीले अनुसन्धान भर्खरै सुरु गरेको जनाएको छ ।

प्रहरीले यस दुर्घटनामा परी हालसम्म चार व्यक्तिको मृत्यु भएको पुष्टि भएको आज जानकारी दिइएको छ । अरू दर्जनौँ व्यक्ति अझै बेपत्ता रहेका छन् ।

दुर्घटनामा परेको सो डुंगाबाट कम्तीमा १९३ व्यक्ति बेपत्ता रहेका सरकारी अधिकारीहरूको अनुमान रहेको बिहीबार जनाइएको छ ।

खोजीकार्य जारी रहेको र हालसम्म १८ व्यक्तिलाई उद्धार गरिएको उनीहरूले बताएका छन् । तर अझै पनि सो डुंगामा कति व्यक्ति सवार थिए भन्नेबारेमा भने यकिन संख्या भने प्राप्त भएको छैन ।

इन्डोनेसियाको सुमात्रा द्वीपको प्रख्यात पर्यटकीय स्थल तोबा तालमा गत सोमबार अपराह्न सो डुंगा दुर्घटनामा परेको थियो ।

डुबेका वा बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्धारमा मंगलबारदेखि सयौँको संख्यामा रहेका उद्धारकर्मी खटिएका छन् ।

तर, अब ती हराएका यात्रु जीवितै उद्धार गर्न सकिने सम्भावना भने निकै नै कम रहेको बताइन्छ । उक्त डुंगामा बिनाटिकट नै यात्रा गरेको प्रहरीले जनाएको छ ।

डुंगा गैरकानुनी भएको बताइएको छ । यसरी लुकिछिपी अवैध डुंगाबाट याात्रा गराउने गरेकोले सो क्षेत्रमा यसअघि पनि कैयौँको ज्यान गएको बताइएको थियो ।

इन्डोनेसियामा करिब १७ हजार द्वीप रहेका छन् । यस द्वीपमा यातायातको प्रमुख साधनका रूपमा नै डुंगा प्रयोग हुने गरेको पाइन्छ । तर, यसको यात्रा दिन प्रतिदिन असुरक्षित बन्दै गएको छ ।

इन्डोनेसियामा गत हप्ता सुलावेसी द्वीपमा पनि एक डुंगा दुर्घटना हुँदा ४० व्यक्ति डुबेका थिए । तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो भने केहीलाई जीवितै उद्धारा पनि गरिएको थियो ।