अमेरिकावासी कवि नदियाको ‘नदिया लहर’

अमेरिकावासी कवि नदियाको ‘नदिया लहर’


अमेरिकाको न्युयोर्कमा बस्दै आएकी कवि नदिया लिबाङ आफ्नोे प्रथम कविताकृति ‘नदिया लहर’ लिएर साहित्य जगत्मा आएकी छिन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्युयोर्क च्याप्टरद्वारा आइतबार न्युयोर्कमा आयोजित भव्य समारोहबीच उनको कृति ‘नदिया लहर’को विमोचन गरियो ।

नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत तथा कवि कृसु क्षेत्री, अनेसासकी पूर्वअध्यक्ष गीता खत्री, कार्यक्रमका सभाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास न्युयोर्क च्याप्टरका पूर्वअध्यक्ष ज्योति पौडेल, पुनम काफ्ले, विकास विष्ट र कृतिकार नदियाले संयुक्त रूपमा विमोचन गरेका थिए ।

विमोचनपछि कार्यक्रममा बोल्ने क्रममा वक्ताहरूले विमोचित कृतिको उच्च प्रशंसा गरेका थिए । सोही क्रममा वाणिज्यदूत तथा कवि क्षेत्रीले कवि नदियाका कविताहरूको उच्च प्रशंसा गर्दै उनको कवितामा छुट्टै प्रकारका भावहरू उर्लिएको आफूले पाएको उल्लेख गरे । उनले भने, ‘कवि नदियाका कविताहरू मार्मिक, सरल र सम्प्रेषणीय छन् ।’

समारोहमा धन लामा, सङ्गीता उप्रेती, अर्जुन दाहाल, शारदा क्षेत्री, ज्योतिकुमार श्रेष्ठ र नदियाका पति विश्व थापाले कवि नदियालाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रमा कृतिभित्र रहेको ‘एउटी छोरीको प्रतिज्ञा’ शीर्षकको कवितामाथि बनाइएको कविता भिडियो र नेपालबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु मिमिरे, प्राज्ञ डा. अमर गिरी, प्रा.डा. ज्ञानु पाण्डे र अनेसासका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तथा नेपाल च्याप्टर अध्यक्ष राधेश्याम लेकालीले पठाएका शुभकामना भिडियो पनि प्रोजेक्टरमा देखाइएको थियो । कार्यक्रममा उपस्थित दर्शकहरूले भिडियो अधिक रुचाएका थिए । कवि नदिया, उनका पति र छोरी अभिनीत कविता भिडियो हेर्दै गर्दा दर्शक तथा स्रोता भावुक बनेका थिए ।

कार्यक्रममा कवि नदियाले पतिका कारण आफू यस क्षेत्रमा लाग्न प्रेरित भएको बताइन् । उनले आफ्नो विचारमा हरेक मानिसहरू आफ्नो विचारमा कवि भएको तर कसैले अभिव्यक्त गर्छन् त कसैले गर्दैनन् भन्दै आफ्नो सफलताका पछाडि पतिको साथ रहेको उल्लेख गरिन् ।

कार्यक्रमको सञ्चालन अनेसास न्युयोर्क च्याप्टरका उपाध्यक्ष शकुन ज्ञवाली गरेकी थिइन् । गोर्खा बुक्सद्वारा प्रकाशित ‘नदिया लहर’भित्र ५६ वटा कविता समाविष्ट छन् ।