प्रज्ञा–प्रतिष्ठानहरूको पुनर्संरचना गरिनुपर्ने

प्रज्ञा–प्रतिष्ठानहरूको पुनर्संरचना गरिनुपर्ने


प्रज्ञा भवन कमलादीमा ‘वर्तमान परिप्रेक्ष्यमा प्रज्ञा–प्रतिष्ठानहरूको पुनर्संरचना’ विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिक उत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनद्वारा आयोजित उक्त गोष्ठीमा बोल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बदलिँदो परिस्थितिमा सबै कुराहरूको एकीकरण अनिवार्य रहेको भन्दै प्रज्ञा–सम्बन्धित विधाहरूको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठान एउटै हुनु पर्नेमा जोड दिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्बद्र्धन एवम् उन्नयनका लागि सरकारले आफ्नो बुताअनुसार आर्थिक सहयोग गरिरहेको भन्दै प्रज्ञा–प्रतिष्ठानहरूले सरकारेको आशे नभई आत्मनिर्भर हुने उपाय खोज्नुपर्ने बताए ।

यस्तै प्रा. जगत् उपाध्यय ‘प्रेक्षित’ले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान सन्दर्भमा प्रज्ञा–प्रतिष्ठानहरूको नयाँ ढङ्गले पुनर्संरचना गरिनुपर्ने देखिएको भन्दै विभिन्न विकल्पसमेत प्रस्तुत गरे । प्रस्तुत कार्यपत्रमाथि चित्रलाकार केके कर्माचार्य, श्याम तमोट र चर्तुभुजलाल दास केवरतले टिप्पणी गरेका थिए ।

सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारीको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा संस्कृतिकर्मी तथा नेकपा केन्द्रीय सदस्य खगेन्द्र राई, पेशागत महांघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेललगायतले पनि बोलेका थिए ।