योग दिवसको अवसरमा मुक्तिनाथमा योगा क्याम्प

योग दिवसको अवसरमा मुक्तिनाथमा योगा क्याम्प


हरेक वर्षको जून २१ लाई अन्तर्राष्ट्रिय योगा दिवसका रूपमा मनाइन्छ । यसअनुसार आजको दिन चौथो योग दिवस विश्वभर मनाइँदै छ । योग दिवसकै अवसरमा नेपालस्थित भारतीय दूतावासले चाहिँ मुस्ताङस्थित १२ हजार ५ सय फिट उचाइमा रहेको पवित्र धार्मिकस्थल मुक्तिनाथमा केही दिन अघिदेखि नै योग शिविर सञ्चालन गरिरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ भ्रमण गरेर फर्किएको करिव एक महिनापछि दूतावासको विशेष तदारुकतामा सञ्चालित योगा शिविरमा जम्मा भई योग गर्न स्थानीयवासीले निकै रूचि दिइरहेका छन् । सो योगा क्याम्पमा विभिन्न भिक्षुका साथै स्थानीयको उल्लेख्य सहभागिता रहेको दूतावासको भनाई छ ।

अन्तर्राष्ट्रिय योगा दिवसको अवसर पारेर आयोजना गरिएको भए पनि धार्मिक पर्यटनको सम्भावना बोकेको मुक्तिनाथमा अब योगा क्याम्पले निरन्तरता पाउने मन्दिर समितिले जनाएको छ । ज्ञातव्य छ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा गत वैशाख २९ गते मुक्तिनाथको दर्शन गरेपछि मुक्तिनाथको प्रचारप्रसारमा तीव्रता आउनुका साथै यहाँको धार्मिक पर्यटनले गति लिन थालेको छ ।