अल्झिए जनप्रतिनिधि, बल्झिए मनहरू

अल्झिए जनप्रतिनिधि, बल्झिए मनहरू


विनोद त्रिपाठी

कान्छा गोले, घर ललितपुर क्षेत्र नं. १ लुभु । तामाङ समुदायका कान्छाले राजधानीमा ट्याक्सी चलाएको २५ वर्ष नाघेछ । ट्याक्सी चलाउँदै परिवार हुर्काए, सानो आधुनिक घर पनि बनाए । कम्युनिस्ट नेताहरूलाई मन पराउने कान्छा गोलेले धेरैपटक सूर्यमा भोट दिएका रहेछन् । ०७० सालमा पूर्वमाओवादीका नेता वर्षमान पुनलाई पनि भोट दिए । तर, पछिल्लोपटक यही मङ्सिर (८ महिनाअघि) मा सम्पन्न सङ्घीय संसद्को चुनावमा भने उनले काङ्ग्रेसलाई भोट दिएछन् । उनको ट्याक्सीमा बसेपछि मैले कारण खोतलेँ ।

‘उनको अनुभवले भन्दै गयो, ‘कम्युनिस्टले देश बनाउने भए बनाइसक्थ्यो, धेरैपटक भोट दिइयो, जम्मै भत्काए, बिगारे कम्युनिस्टले । सडक जाम गर्ने कम्युनिस्ट, हामी निम्छरालाई खानै दिएनन् कम्युनिस्टले ।’ ‘सधैँ चक्काजाम, नेपालबन्द कम्युनिस्टले ग¥यो । सास्तीका सास्ती । अहिले त कम्युनिस्ट नेताहरू के सारो धनी भएका, हाम्रो हालत उस्तै छ, काम गर्न पनि दिन्नन्, यिनले सरकार चलाएर हाम्रो हित हुने विश्वास म¥यो,’ उनले धाराप्रवाह सुनाउँदै गए, ‘यस कारण काङ्ग्रेसलाई भोट दिएको हुँ ।’ देश नबनाए पनि काङ्ग्रेसले बिगार्दैन, चक्काजाम गर्दैन, अहिले कति आनन्दले ट्याक्सी चलाउन पाइएको छ, कम्युनिस्टले आन्दोलन गरेको भए अहिले दिनदिनै नेपालबन्द हुन्थ्यो । काङ्ग्रेसले गरेको आन्दोलनले गरिबलाई मार्दैन ।’ उनका यी पीडा घतलाग्दा छन् । पीडादायी चित्रण हुन् ।

जनताले सुशासनका लागि भोट दिए, नेतालाई जनप्रतिनिधि बनाए । तर, जनताले व्यहोर्ने पीडा जहाँको त्यहीँ छ । कान्छा गोले मन परिवर्तन भएका एक नागरिक हुन्, जसले कम्युनिस्ट नेताहरूको विश्वासमा परेर भोट दिन्थे । त्यही भोटको मूल्य कम्युनिस्ट नेताहरूले अहिले लिलामी गरिदिएका छन् । कान्छा गोले प्रतिनिधि पात्रले गरेको अनुभव हरेक क्षेत्रको पात्रले भोगेको समस्या एकै प्रकारको हो । यो सबै क्षेत्रको वास्तविक चित्र पनि हो ।

विधि नाघेपछि बेथिति :

जहाँ पानी चाहिन्छ त्यहाँ सुक्खा छ, जहाँ सुक्खा सफा चिल्लो सडक चाहिन्छ, त्यहाँ हिलो छ । सडक आहालमा बदलिएका छन् । खेत सुक्खा छन् । धारामा पानी आउँदैन । बस्ती पानीले बगाउँछ । सडकका डिलहरू गुजुल्टो तारले कुरूप छ । आकाश तारैतारले जेलिएको छ । पैदल यात्रु सडकमा सवारीले पेलिएको छ । सार्वजनिक शौचालय गइसक्नु छैन । रेस्टुरेन्टहरूका फोहोरले झिँगा जन्माइरहेछ । सडकमा कुकुरको रासलीला चलिरहेछ । घरका कुकुर बिरामी भएपछि मालिकले कुकुर सडकमा छोड्छ । त्यीह कुकुरले सडकमा फोहोर छोड्छ । अझै पनि सबै सरकारी अस्पताल बेहाल अवस्थामै छन् । प्राइभेट अस्पताल जनताको लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तै पहुँचभन्दा बाहिर छन् । सरकारी स्कुलको अवस्था उस्तै छ । निजी स्कुलले शुल्क बढाएको बढायै छन् ।

हटेको सिन्डिकेटमा अर्को बिचौलिया हावी छ । तरकारी, खाद्यान्नको भाउ दैनिक बढेको छ । माइक्रोबस चढ्न सकिँदैन । चढ्यो कि ओर्लन सकिँदैन । विश्वमै कहीँ नभएको कालोपत्रे सडकमा बुङ्ग धुलो उडेको उड्यै छ । घर बनाउनेले छिमेकीलाई असर पर्छ भन्ने कुरा ख्याल गर्दैन । किनकि राज्यले विधि नै लागू गर्दैन । घरबस्ती कुन स्थानमा, कलकारखाना कुन ठाउँमा, मोटर बनाउने वर्कशप कुन भागमा राख्ने राज्यले तोक्न जान्दैन । सडकभरि खुला चटपटेको बिगबिगी छ । अनि अस्पताल भरिभराउ हुन्छन् । यस्तो बेथितिबाट गुज्रेर जीवनयापन गर्दा पनि जनप्रतिनिधिहरू सुविधा बढाउने आफ्नै हैसियतप्रति चिन्ता प्रकट गर्छन् । किनकि विधिको शासन अहिले हराएको छ ।

विश्वमै कहीँ नभएको कालोपत्रे सडकमा बुङ्ग धुलो उडेको उड्यै छ । घर बनाउनेले छिमेकीलाई असर पर्छ भन्ने कुरा ख्याल गर्दैन । किनकि राज्यले विधि नै लागू गर्दैन । घरबस्ती कुन स्थानमा, कलकारखाना कुन ठाउँमा, मोटर बनाउने वर्कशप कुन भागमा राख्ने राज्यले तोक्न जान्दैन । सडकभरि खुला चटपटेको बिगबिगी छ । अनि अस्पताल भरिभराउ हुन्छन् । यस्तो बेथितिबाट गुज्रेर जीवनयापन गर्दा पनि जनप्रतिनिधिहरू सुविधा बढाउने आफ्नै हैसियतप्रति चिन्ता प्रकट गर्छन् । किनकि विधिको शासन अहिले हराएको छ ।

अहिले देश जनप्रतिनिधिहरूले भरिएको छ । महानगर, नगर, गाउँ सबैमा जनप्रतिनिधिको कब्जा छ । हिजो जनप्रतिनिधि नहुँदाको शासनकाल र अहिले तात्विक अन्तर रहेन । स्थानीय जनप्रतिनिधिले शासन गरेको वर्ष दिन नाघ्यो । सांसद चुनेकै ८ महिना लागेछ । तर, आयोजनाहरू जहाँको तहीँं छन् । फाइल मात्र सर्छन् । योजना चल्दैनन् । एकजना ठेकेदारले भनेका थिए, ‘सरकारी भ्याट १३ प्रतिशत, कर्मचारीलाई कमिसन १५ प्रतिशत, जनप्रतिनिधिलाई २० प्रतिशत, गुण्डाहरूलाई ७ प्रतिशत, अडिट कागजपत्र बनाउन १५ प्रतिशत अब बाँकी रहेको ३० प्रतिशतले कस्तो गुणस्तरको काम होला हजुर ।’ अझै बचेको यो रकममा नाफा त निकाल्नै छ । अनि कस्तो विकास होला । सरकारले यो काम गर्न चाहन्न, तर मातहतका जनप्रतिनिधि किन निकम्मा भएका छन् ? कारण अनगिन्ती छन् ।

जनप्रतिनिधिले गर्न सक्ने कामहरू

राजधानी बिग्रिसकेको छ । अब सच्याउन अर्बौँ खर्च लाग्न सक्छ । तर, अन्य ठूला शहर बिग्रिसकेका छैनन् । अझै योजनाअनुसार चौडा सडक बनाउने अवसर छ । असनका गल्लीजस्ता होइन, फराकिला भित्री सडक बनाउन सकिन्छ । यसको शुरुवात पोखरा, भरतपुर, वीरगञ्ज, विराटनगरजस्ता ठूला शहरले बेलैमा शुरु गर्नुपर्छ । नियम बसाउने अहिले स्थानीय प्रशासनलाई संविधानले अधिकार दिएको छ । बिनाबजेट गाउँ–नगरलाई व्यवस्थित बनाउने आधार छन् । घरबस्ती, कलकारखाना, वर्कशप, अस्पताल, स्कुलको एउटा समुचित स्थान तोक्नुपर्छ । खासगरी, पछिल्लोपटक तीव्र शहरीकरण भएको भरतपुर अहिले सबैभन्दा खराब देखिन थालेको छ । यसअघिका प्रशासनिक अधिकृत नारायणप्रसाद सापकोटाले निकै राम्रो प्रणाली बसाएका थिए । उनि सरुवा भए ।

राम्रो काम गर्दा दलहरूकै बिचौलियाले उनलाई खेदे । त्यसपछि भरतपुर नगर भद्रगोलमा बदलिएको छ । नारायणगढको फुटपाथ अहिले बिजोग छ । पोखरा पुरानो शहर हो । अहिले केही सुधारका प्रयास देखिएका छन् । जनप्रतिनिधिको अर्थहीन भूमिका काठमाडौं, ललितपुर, भक्तपुर, वीरगञ्ज र विराटनगर देखिएका छन् । यहाँका जनप्रतिनिधिले चुनाव जितेर आएपछि एउटा गतिलो काम गरेको उदाहरण भेटिँदैन । पोखराका मेयर मानबहादुर जीसीले सडक र चोक फराकिलो बनाउने निर्वाचितलगत्तै शुरुवात गरेका थिए । सबैभन्दा उनी नै अहिले अब्बल मेयर ठहरिएका छन् । अहिले सबैभन्दा खराब काठमाडौं र ललितपुरका मेयर हुन् । यसका कारण सडकभरि छरिएका छन् ।

सरकारले ठूला आयोजना ल्याएकै छ । यसमा सङ्घीय सरकारको भूमिका हुन्छ । स्थानीय जनप्रतिनिधिले आफ्नै कर्तव्य मात्र सोचौँ । योजना बुनौँ । धुलो हटाऔँ । सडकका तारहरू व्यवस्थित पार्न लगाऊँ । गतिलो योजना ल्याएर प्रभावकारी शासन गरे पुग्छ । सभा, समारोह र उद्घाटनमा जाने समय सडकको असरल्ल अवस्था सुधार गर्ने योजनामा मात्र खर्चन सक्ने हो भने हाम्रा नगरहरू सुन्दर हुन धेरै वर्ष कुर्न पर्दैन । जनप्रतिनिधि भएको आभास दिलाए पुग्छ । नत्र जनताले अहिलेका जनप्रतिनिधिलाई छाया मात्र देख्नेछन् । फगत तरङ्ग छाया । न छुन सकिने न जीवित वस्तु । एउटा भ्रमपूर्ण जनप्रतिनिधि छाया ।