जागिर नपाएपछि यतिसम्म गरियो !

जागिर नपाएपछि यतिसम्म गरियो !


व्यक्तिगत स्वार्थका निम्ति मानिसले राज्यको नीतिलाई कतिसम्म प्रभावित गर्न सक्छन् भन्ने उदेकपूर्ण उदाहरण फेरि एकपटक देखिएको छ । आफ्नो स्वार्थका निम्ति राज्यको निर्णयलाई नै प्रभावित गर्ने प्रयास यसपटक नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले गरेका छन् ।

प्राप्त जानकारीअनुसार नागरिक उड्डयन प्राधिकरणले पोखरामा निर्माणाधीन क्षेत्रीयस्तरको विमानस्थलका निम्ति सार्वजनिक सूचना जारी गरी केही समयअघि कन्सल्टेन्ट माग गरेको थियो । र, वीरेन्द्रबहादुर देउजाले पनि सो प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । कुल ६ वटा कम्पनीले भाग लिएको टेन्डरमा देउजाको कम्पनी छनोटमा पर्न सकेको थिएन ।

त्यसको केही समयपश्चात् पर्यटन मन्त्रालयले विमानस्थलहरूको स्थिति अध्ययन गरी सुझावका लागि प्रतिवेदन दिन विज्ञहरूको एउटा टोली गठन गरेको थियो । सातजना विज्ञहरूमध्ये वीरेन्द्रबहादुर देउजा पनि उक्त सुझाव समितिमा थिए । देउजाकै जोडबलमा पोखरा विमानस्थल एक सय सीटभन्दा बढी क्षमता भएको विमानका निम्ति उपयुक्त नहुने भनी प्रतिवेदनमा उल्लेख गरेको बुझिएको छ । देउजाले आफूलाई पोखरा विमानस्थलका निम्ति कन्सल्टेन्ट चयन नगरेको बदला लिन सुझाव प्रतिवेदनमा पोखरा विमानस्थलविरुद्धको व्यहोरा पारेको जानकारहरूको भनाइ छ ।

ज्ञातव्य छ, जापानी सहयोग संस्था जाइकाले स्थलगत अध्ययन गरी प्रतिवेदन दिएपछि मात्र पोखरामा विमानस्थल निर्माणको प्रक्रिया सुरु गरिएको हो । बोइङ ७३७ तथा ७५७ र एयरबस ३२० तथा ३१९ जस्ता विमान उडाउनका निम्ति पोखरा विमानस्थल उपयुक्त मानिएको छ । यसप्रकारको विमान आवागमनका निम्ति कुल दुई हजार दुई सय मिटर लम्बाइको विमानस्थल आवश्यक पर्ने भए पनि पोखरा विमानस्थल दुई हजार पाँच सय मिटर लम्बाइको बन्दै छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लम्बाइ कुल तीन हजार मिटरको रहेको छ ।