काङ्ग्रेस विवाद उत्कर्षमा : जिल्ला सभापति भेलामा देउवाविरोधी समूह बलियो

काङ्ग्रेस विवाद उत्कर्षमा : जिल्ला सभापति भेलामा देउवाविरोधी समूह बलियो


नेपाली काङ्ग्रेसको जिल्ला सभापतिहरूको भेलामा सभापति शेरबहादुर देउवाविरोधी समूह बलियो देखिएको छ । देउवाविरोधी समूहको पकड हुन थालेपछि भेलामा तीव्र विवाद र मतभेद छताछुल्ल भएर बाहिर आएको छ । सहभागी अधिकांश जिल्ला सभापतिहरूले देउवाले पार्टी नै समाप्त पार्न लागेको आरोप लगाएका थिए । जिल्ला सभापतिहरू देउवाको खुल्ला रूपमा विरोधमा उत्रिएका छन् ।

बुधबार जारी बन्दसत्रमा पनि विवाद निकै बढेको छ । केही केन्द्रीय सदस्य भेला नै बहिष्कार गरेको घोषणा गर्दै काठमाडौं फर्किएका छन् । तर, केही अनौठो दृश्य पनि देखिएको छ हेटौँडा भेलामा । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच गठबन्धन देखिएपछि गुटको समीकरण बदलिएको आभाष कार्यकर्ताले गरेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंह रिसले फन्फनिएर राजधानी फर्कन लाग्दा सिटौलाले फकाएर रोकेका छन् । निधि, सिटौला र खड्का पक्षका कार्यकर्ताहरू विवाद थामथुम पार्न खटिएका छन् । देउवाको विरोधमा उत्रेका जिल्ला सभापतिहरूलाई सिटौला र खड्काले समन्वय गरिरहेका छन् ।

मंगलबारको उद्घाटन सत्रमा सभापति देउवा, पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेलले मात्र बोल्ने योजना यी तीनैजना नेताहरूको थियो । यसलाई अर्जुननरसिंह केसीलगायतका नेताहरूले चर्को विरोध गरेका थिए । सभापति देउवाले पूर्वमहामन्त्री सिंहलाई बाहेक अरूलाई बोल्न दिन सकिने निर्देशन जारी गरेका थिए । अहिले हेटौँडा भेलामा देउवासँग सबैभन्दा क्रूद्ध सिंह देखिएका छन् । आधाभन्दा बढी केन्द्रीय सदस्यहरू जिल्ला सभापतिहरूको भेलास्थलबाट बाहिर गएपछि बुधबारको बन्दसत्र निकै खल्लो भएको छ । महामन्त्री पूर्णबहादुर खड्का आमाको वार्षिकी बारिरहेकाले हिजोको उद्घाटन कार्यक्रममा सहभागी थिएनन् । तर, आज बन्दसत्रमा भने उनी सहभागी छन् ।

भोलिसम्म चल्ने भेलामा ७७ जिल्लाका सभापतिहरू, केन्द्र्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, पार्टीका पुराना नेताहरूलगायत करिब ३ सय ५० भन्दा बढीको सहभागिता रहेको छ ।