सभापतिविरुद्ध सभापतिहरूको आक्रोश

सभापतिविरुद्ध सभापतिहरूको आक्रोश


नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूको हेटौँडामा मंगलबार (असार ५ गते) शुरु भएको भेलामा पार्टी नेतृत्वको भित्रभित्रै व्यापक आलोचना भएको छ । गत निर्वाचनमा पार्टीले महापराजय व्यहोर्नुपरेपछि सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने आवाज जोडदार रूपमा उठेको थियो । देउवा राजीनामा गर्न तयार नभएपछि पार्टीभित्र विशेष महाधिवेशनको आयोजना गर्न माग भएको थियो ।

उक्त मागलाई मत्थर तुल्याउन देउवाले केन्द्रीय समितिको बैठकबाट आगामी भदौ महिनामा महासमितिको बैठक बोलाउने निर्णय गराउनुका साथै जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने निर्णय गराएका थिए । यो भेलाले पार्टीमा ठोस परिवर्तन ल्याउने वैधानिक हैसियत राख्नेछैन । तथापि नेतृत्वमाथि दबाब पैदा गर्न भेलाले योगदान पुऱ्याउने विश्वास गरिएको छ ।

सभापतिको जिम्मेवारी प्राप्त गरेपछि देउवा पार्टीभित्र दिनप्रतिदिन कमजोर तथा अप्रिय बन्दै गएका छन् । यसबीचमा शिक्षक सङ्घ, निजामती कर्मचारी सङ्घ र नेपाल ट्रेड युनियन कङ्ग्रेसजस्ता महत्वपूर्ण भ्रातृ संस्थाहरूमा देउवाले आफ्नो पकड गुमाइसकेका छन् । खासगरी ट्रेड युनियन काङ्ग्रेसमा पार्टीभित्र देउवाका विपक्षीहरू एकजुट भएर देउवालाई ‘पत्तासाफ’ गरिनुले अब काङ्ग्रेसबाट देउवा बढारिने सङ्केत दिएको छ । सभापतिहरूको हेटौँडा भेलामा पनि देउवासँग असहमत पक्ष एकजुट र आक्रामक देखिएका छन् । देउवालाई तेजोबध गर्न कुनै कसर बाँकी नराखिने भेलाका केही सहभागीले जनाएका छन् । सहभागीले देउवाविरुद्ध जे–जस्ता प्रस्ताव पारित गर्ने योजना बनाएका छन्, त्यो सफल भएमा आफूले आयोजना गरेको सभापतिहरूको भेलाबाट देउवा आफैँ तर्सिएर भाग्ने स्थिति बन्न सक्ने सहभागीहरूको विश्वास छ ।

चुनावमा हारको समीक्षा र पार्टीको भावी कार्यदिशा तय गर्न आयोजना गरिएको भेलामा जिल्ला सभापतिहरू स्पष्ट रूपमा दुई पक्षमा बाँडिएका छन् । सभापति शेरबहादुर देउवा र देउवाविरोधी समूहमा जिल्लाका सभापतिहरू लागेपछि काङ्ग्रेसको गुटगत विवाद छताछुल्ल भएको हो ।

चुनावमा हारको समीक्षा र पार्टीको भावी कार्यदिशा तय गर्न आयोजना गरिएको भेलामा जिल्ला सभापतिहरू स्पष्ट रूपमा दुई पक्षमा बाँडिएका छन् । सभापति शेरबहादुर देउवा र देउवाविरोधी समूहमा जिल्लाका सभापतिहरू लागेपछि काङ्ग्रेसको गुटगत विवाद छताछुल्ल भएको हो ।

मंगलबारको उद्घाटन सत्रमै अधिकांश सभापति देउवाको विपक्षमा देखिएका थिए । हेटौँडास्थित एउटै होटेलमा बसेका सभापतिहरूले आफ्ना पक्षका नेतालाई मात्र भेटेका देखिन्थे । अर्को पक्षमा लागेका सभापतिहरूले देउवालाई भेटेनन् । अहिलेसम्म ४५ जिल्लाका सभापतिहरू देउवाको विपक्षमा खुलेरै लागेका छन् । जिल्ला सभापतिहरूको सङ्ख्यात्मक आधारमा हेर्दा पार्टी संस्थापन पक्ष अल्पमतमा रहेको देखिन्छ । हेटौँडाको रिगल होटेलमा बसेका देउवा र अर्को पक्षका नेताले आफूपक्षीय सभापतिहरूसँग भेटघाट गरेका छन् ।

गुटगत प्रभाव मंगलबारको उद्घाटन सत्रमा पनि प्रस्ट देखापऱ्यो । मञ्चमा रोलक्रममा विवाद सिर्जना भएपछि कार्यक्रम निर्धारित समयभन्दा २ घन्टा पछि सरेको थियो । मञ्चमा पार्टीका पूर्वपदाधिकारीलाई राख्न पाउनुपर्ने माग भएपछि केहीबेर कार्यक्रमस्थलमा होहल्ला मच्चिएको थियो । तर, संस्थापन देउवा पक्षले पूर्वपदाधिकारीलाई मञ्चमा राख्न नसकिने अडान लिएको थियो । सहमतिअनुसार मञ्चमा वरिष्ठ नेतासहित वर्तमान पदाधिकारी मात्र बस्न पाउने निर्णय भएपछि कार्यक्रम सुचारु भएको थियो । मञ्चमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला मात्र राख्ने सहमति गरिएको थियो । पार्टीको विधान संशोधन, आगामी महाधिवेशन, सङ्गठन निर्माण र वर्तमान राजनीतिक विषयमा छलफल गर्न डाकिएको जिल्ला सभापतिहरूको भेलाले निर्वाचनमा पराजय भोग्नुपर्ने विषयमा निर्मम समीक्षा हुनुपर्ने भन्दै त्यसको तयारी थालेका छन् । पार्टी सभापति देउवाले निर्वाचन हारको जिम्मेवारी नलिए सबै जिल्ला सभापतिले जिम्मेवारी लिने तयारी भएको एक सहभागीले जानकारी दिए ।

हेटौँडामा भएको भेलामा ७७ जिल्लाका सभापतिसहित केन्द्रीय कार्यसमितिका नेताहरू गरि करीब करिब ३ सय जना सहभागी रहेका छन् । सातवटै प्रदेशका आधारमा सबै जिल्ला सभापतिहरूलाई विभाजन गरेर बन्दसत्रमा व्यापक छलफल हुने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए । मंगलबार उद्घाटन कार्यक्रम मात्र गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी चुनावमा हारेको जिम्मेवारी सबैले लिनुपर्ने दोहो¥याएका थिए । देउवाले कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै भएको आरोप लगाए ।

सभापति देउवाले भने, ‘अबको चुनावमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाएरै छोड्छु ।’ काङ्ग्रेसले लडाइँ हारे पनि मैदानबाट नभागेको देउवाले बताए । ठाउँठाउँमा अन्तर्घात भएर चुनाव हारेको बताउँदै सभापति देउवाले अब यस्ता प्रकारका गुट–उपगुट सह्य नहुने चेतावनी दिए । वरिष्ठ नेता पौडेलले भने हारको जिम्मेवारी सबैको भए पनि पार्टी सभापति नै यसको मुख्य कारण भएको बताएका थिए । कार्यक्रममा उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता विजयकुमार गच्छदारलगायतका नेताहरूले सबै नेताहरू आरोप–प्रत्यारोपमा उत्रन छोडेर पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका थिए । केन्द्रीय पदाधिकारी, नेताहरू सम्मिलित जिल्ला सभापतिहरूको भेला ३ दिनसम्म चल्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।