राजदूतका कारण सबैमा चिन्ता

राजदूतका कारण सबैमा चिन्ता


चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालका कारण प्रधानमन्त्रीको भ्रमणमा असहजता पैदा हुने हो कि भन्ने चिन्ता सरकारीस्तरमा थपिएको छ । पौड्यालले त्यहाँ राजदूतको जिम्मेवारी पाएपछि दुई देशको सम्बन्ध बलियो बनाउनेभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा काम गर्ने गरेको बताइन्छ ।

भनिन्छ, उनी चीनमा रहेका नेपाली समुदायसँग कहिल्यै पनि घुलमिल हुन चाहँदैनन् । उनले नेपाली समुदायको समस्याको समाधान र दुई देशबीचको सम्बन्धको सुधारभन्दा पनि आफ्नो छोरा र आफन्तको व्यापार व्यवसायमा सिचुआन प्रान्तमा बढी केन्द्रित हुने गरेका छन् ।

यसअघि भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा पनि राजदूत पौड्यालका कारण धेरै कूटनीतिक ‘ल्याप्सेज’ भएका थिए । यहाँसम्म कि तात्कालिक प्रधानमन्त्री प्रचण्ड त्यहाँका प्रधानमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताका लागि जाँदा राजदूत पौड्याल नै छुटेका थिए । नेपाली प्रतिनिधिमण्डल चढ्ने गरेको कारको व्यवस्थापन राम्रो नहुँदा उनी आफैँ नै छुटेका थिए । भित्र वार्ता शुरु भइसकेकोले सेक्युरिटीले राजदूतलाई भित्र छिर्न दिएको थिएन, जब कि वार्ताका एजेन्डा उनीसँगै थिए ।

वार्ता सकिएर बाहिर आएपछि प्रचण्डले रातो मुख पारेर ‘तपाईंको यो के ताल हो’ भनेर हप्काएका थिए भने परराष्ट्रसचिव शंकरदास वैरागी ‘ठूलो कूटनीतिक ल्याप्सेज’ भनेर पौड्यालसँग कड्किएका थिए । त्यति मात्र होइन, नेपाली समुदायलाई उनले बेवास्ता गरेको, खर्च कटौती भन्दै प्रधानमन्त्रीसँगको रात्रिभोजमा थोरैलाई मात्र पत्र काटेर बोलाएकोले पनि प्रधानमन्त्रीसँग मञ्चमै उपस्थित भएर गैरआवासीय नेपाली मञ्च र अन्य विभिन्न कमिटीका नेपालीले पौड्यालको कडा आलोचना गरेका थिए ।

किन गएनन् ओली सिचुआन ?
चीनको कूटनीतिक परम्परामा कुनै पनि देशको राज्य तथा सरकार प्रमुखको ‘स्टेट भिजिट’ सकिएपछि कुनै न कुनै एक प्रान्तमा घुम्न लैजाने गरिन्छ । प्रधानमन्त्री केपी ओलीको यो भ्रमणका क्रममा त्यो स्थान कहाँ छान्ने भन्नेमा राजदूत पौड्याल, परराष्ट्र अधिकारी, व्यापारिक मण्डल र प्रधानमन्त्री कार्यालयबीच निकै रस्साकस्सी परेको बुझिएको छ ।

प्रधानमन्त्रीलाई सिचुआन लैजान राजदूत पौड्याल र नेपालका कतिपय व्यापारीहरू निकै कस्सिएर लागेका थिए । शुरुमा सिचुआनको राजधानी छेन्दु घुम्न जानेमा एक किसिमको सहमति प्रधानमन्त्री ओलीले दिएका पनि थिए । नेपालका धेरै व्यापारीको व्यापार छेन्दुमा रहेको छ । त्यसैले उनीहरूले राजदूतमार्फत सोही स्थानमा भ्रमण गराउन दबाब दिएका थिए ।

तर, त्यहाँ राजदूत पौड्यालको अर्काे स्वार्थ बाहिर आएपछि भने सो कार्यक्रम रद्द गराउन प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय नै लागे । उनका छोरा विवेकको ट्राभल्स एजेन्सीले पछिल्ला दुई वर्षमा धेरै पर्यटक चीन र त्यो पनि छेन्दुबाट ओसार्ने गरेको छ । सोही कारण राजदूत पौड्यालले छेन्दुमा गर्ने प्रधानमन्त्रीको डिनरमा पनि उनको छोराको एजेन्सीसँग काम गरिरहेका चिनियाँ र नेपाली व्यापारीलाई मात्र निमन्त्रणा पठाएका थिए ।

उनको त्यो करामतप्रति छेन्दुमा रहेका नेपाली एनआरएनहरू र व्यापारीहरूले परराष्ट्र मन्त्रालयमा नै विरोध गरेका थिए । यो कुरा थाहा पाएपछि परराष्ट्रसचिव वैरागीले तुरुन्तै छेन्दुको भ्रमण रद्द गर्न भने । सोहीबमोजिम अहिले उक्त कार्यक्रम रद्द भएको बुझिएको छ । राजदूत पौड्यालले अहिले पनि परराष्ट्रका सचिव र उच्चपदस्थ कर्मचारीलाई आफू मुख्यसचिव भएकै रूपमा हेप्ने र त्यस्तै व्यवहार गर्ने गर्छन् ।

तर, परराष्ट्रका अधिकारीले भने पहिले तपाईं जे भए पनि अहिले एकजना सहसचिवको स्तरमा राजदूत भएकोले त्यस्तै व्यवहार गर्न पटकपटक ध्यानाकर्षण गराउने गरेका छन् । पहिला पनि राजदूत पौड्यालसँग सचिव वैरागीको भनाभन भएको थियो । अहिले पनि चीन संवेदनशील देश भएको, तर राजदूत पौड्याल भने पटकपटक नेपालमै आइरहने गरेको र यसरी नेपाल आउँदा र चीन जाँदा पनि जानकारी नगराउने गरेकोप्रति परराष्ट्रसचिव बेखुसी रहेका छन् ।

परराष्ट्रका अधिकारी भन्छन्– भारत र चीनका राजदूतलाई नेपाल सरकारले मन्त्रीसरहको स्टाटस दिएको छ । उहाँहरूले नेपाल आउँदा मन्त्रीलाई जस्तो अङ्गरक्षक दिए हुन्थ्यो जस्तो ठान्नुहुन्छ कूटनीतिक मर्यादामा रहनु त परै जाओस् । ती अधिकारी अहिले नेपाल–चीन सम्बन्ध पहिलेजस्तो न्यानो नरहेको र यस्तो अवस्था आउनुमा ठूलो भूमिका राजदूत पौड्यालको पनि रहेको बताउँछन् ।