देउवा आफू नबदलिने, गरे कार्यकर्ता बदलिनुपर्ने तर्क

देउवा आफू नबदलिने, गरे कार्यकर्ता बदलिनुपर्ने तर्क


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको आरोप लगाएका छन् ।

कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको आज हेटौँडामा उद्घाटन गर्दै उनले सरकारले संवैधानिक अंग, प्रशासनिक निकायमा राजनीतिकरण गर्न थालेको भन्दै चिन्ता व्यक्त गरे ।

गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एकढिक्काको साथ राष्ट्रिय अभियानमा समाहित हुन जिल्ला सभापतिहरुलाई उनले आह्वान गरे ।

सभापति देउवाले प्रजातान्त्रिक चरित्र र संस्कारलाई दिगो व्यवस्थापन गर्न कांग्रेसको नेतृत्व परिवर्तन हैन कार्यकर्ताबीच जनमुखी सेवाभाव र व्यावहारिक हुनेतर्फ आफैं परिवर्तन हुनुपर्नेमा सचेत गराए ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको नेपाली कांग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा विगत निर्वाचनमा पराजय भोग्नु परेको तथ्यलाई आत्मसात् गर्नुपर्ने बताए ।

नेतृत्वले नै गुटबन्दी गर्न उपयुक्त नहुने विचार व्यक्त गर्दै उहाँले अब आफूले कुनै गुटको नेतृत्व नगर्ने घोषणा गरे । मुलुक, जनता र प्रजातन्त्रलाई दिशाबोध गर्न भावनात्मक रुपमा हृदय परिवर्तन गरेर अब सधैँका लागि कांग्रेस एक भएको खाका तयार गर्न जिल्ला सभापतिहरुलाई आग्रह गरे ।

सभामा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेस एकजुट भएको विश्वास जनता माझ पु¥याउन नेताहरु नै विवेकशील बन्नुपर्ने बताए । उनले प्रजातान्त्रिक शक्तिबीच सहकार्य गरी प्रजातन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा क्रियाशील हुन आफूमा रहेको हिनताको भावनालाई त्यागेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

उपसभापति विमेलन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाले संसदीय प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रताको साथै प्रेस स्वतन्त्रतामाथि पनि वर्तमान सरकारले उपेक्षाभाव प्रदर्शन गर्न थालेकामा आपत्ति जनाए। मुलुकलाई दिगो शान्ति, राजनीतिक स्थायित्व प्रदान गर्न काँग्रेसको नेतृत्व कुशल, पारदर्शी हुनुपर्ने उनको भनाई थियो ।

राससका अनुसार तीन दिनसम्म चल्ने भेलामा सभापति देउवा, वरिष्ठ नेता पौडेल, संसदीय दलका उपनेता गच्छदार, नेता कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, डा. प्रकाशशरण महत, अर्जुन नरसिंह केसीलगायतले राजनीतिक एवं संगठनात्मक प्रशिक्षण दिनेछन् ।