पार्टी एक ढिक्का बनाउन अन्तर्घातीलाई कारवाही !

पार्टी एक ढिक्का बनाउन अन्तर्घातीलाई कारवाही !


नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक बनाएर लैजाने संकल्प पूरा गर्ने बताएका छन् । नेपाल दलित संघ चितवनले आयोजना गरेको प्रदेश नं ३ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको सोमबार उद्घाटन गर्दै उनले पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाएर लैजाने दृढता प्रकट गरेका हुन् ।

पछिल्लो निर्वाचनमा अन्तर्घात धेरै भएका कारण सोचेजस्तो परिणाम आउन नसकेको उल्लेख गर्दै कांग्रेस सभापति देउवाले छिनछिनमा विचार, मनस्थिति परिवर्तन गर्नेका कारण निर्वाचनमा हार व्यहोर्नु परेको बताए । ‘अब यस्ता अन्तर्घातीलाई कारबाही गरेर पार्टी एक बनाउने संकल्प लिएको छु,’ उनले भने ।

सभापति देउवाले निर्वाचनमा हारको सम्पूर्ण जिम्मेवारी नेतृत्वलाई मात्र दिएर हुँदैन भन्दै हार के कारणले भएको हो त्यो उम्मेदवारले भन्नुपर्ने तर्क गरे । आफू नेपाली कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ हिँडेकोले पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरी अन्तर्घातमुक्त पार्टी बनाउनुपर्छ भन्ने आफूलाई लागेको उनको भनाई थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले नेपालको इतिहासमा पहिलो पटक ठूला दुई वाम दल गठबन्धन गरेर र कांग्रेस एक्लै निर्वाचनमा होमिएको उल्लेख गर्दै तालमेल गर्दा पनि कांग्रेसका कार्यकर्ताहरुले भोट नहालेको दुःखेसो गरे । स्थानीय निर्वाचनमा तालमेल गर्दा मत हाल्न सकिँदैन भनेर विरोध गर्ने अनि तालमेल नगर्दा सभापतिको कारण निर्वाचन हारियो भन्ने यो कस्तो कुरा भन्दै उनले गुनासोमिश्रित प्रश्न गरे ।

सोही अवसरमा महामन्त्री शशांक कोइरालाले कांग्रेस एक भए कुनै शक्तिको तागतले भेट्न नसक्ने दाबी गरे भने सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक मतभेदको अन्त्य गरेर पार्टीलाई विपक्षीसँग प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको बताउँदै कम्युनिष्टले राष्ट्रियतालाई सत्तामा जाने भर्याङ मात्रै बनाएको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, महिला संघकी अध्यक्ष उमा रेग्मी, नेपाल तरुण दलका अध्यक्ष जितजँग बस्नेतलगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

तस्बिर रासस