उर्मिलाको एमाओवादी प्रवेश र ०४७ को संविधान

उर्मिलाको एमाओवादी प्रवेश र ०४७ को संविधान


pathakmanchविगतमा मसाल पार्टी छाडेर एमाले प्रवेश गरेकी उर्मिला अर्याल एमालेको पोलिटब्युरो सदस्य छँदा भन्ने गर्थिन्, ‘एमालेजस्तो असल अरू कुनै पार्टी छैन, वर्तमान परिवेशमा देश हाँक्न सक्ने पार्टी भनेको एमाले मात्रै हो ।’ यसरी एमालेको पक्षमा जनतामा आश्वासन बाँड्ने अर्याल एमाले पार्टीबाट झलनाथ खनालले नेतृत्व गरेको सरकारमा स्थानीय विकासमन्त्री पनि रहिन् । त्यतिबेला उनका लागि एमालेजस्तो देशभक्त र सक्षम पार्टी नेपालमा अरू कुनै थिएन । तर, गत शुक्रबारसम्म सार्वजनिक तवरमा सुइँकोसम्म नदिएर एक्कासि गत शनिबार एमाले पार्टी परित्याग गरेर एकीकृत नेकपा माओवादीमा प्रवेश गरिन् । उनलाई पुष्पकमल दाहाल प्रचण्डले अबिरको टीका र फूलको माला पहि-याउँदै पार्टीमा भित्याए । अनि उर्मिलाले भनिन्, ‘म पुरानै घरमा फर्किएँ ।’
यहाँ अब सम्झनुपर्ने कुरा के छ भने विगतमा मसाल छाड्नुपर्ने कारण के थियो ? मसाल छाडेर एमाले जान कसले बाध्य बनायो ? अनि यतिबेला एमाओवादीमा प्रवेश गर्नुपर्ने अवस्थामा कसरी आयो ? उर्मिला अर्यालले एमालेवादी पार्टीसमक्ष रोइकराई अनुनयविनय गरेर आफ्नो स्वार्थका लागि एमाओवादी पार्टी प्रवेश गरेको हो कि होइन ? अथवा एमाओवादी सिङ्गै पार्टी र अध्यक्ष प्रचण्डले विगत मसालदेखि नै उर्मिला अर्यालको अभाव पार्टीमा खट्केको महसुस गरेर अनुरोध गरेकै कारण उर्मिला एमाओवादीमा भित्रिएकी पो हुन् कि ? आमतप्कामा जिज्ञाशा जागेको छ ।
प्रचण्डले उर्मिलालाई एमालेमा हुँदा पाएकोभन्दा माथिल्लो दर्जा दिने भनेका छन् । प्रचण्डको यो उद्घोषले एमाओवादीमा रहेर दशवर्षे जनयुद्ध लड्दै रगत पसिना बगाएर आजको दिनसम्म आइपुगेका एमाओवादीका अन्य महिलालाई कति जलन बढाएको होला ? तिनले अब कसरी खपुन् ? जे–जसो भए पनि उर्मिला अर्याल धन्य छिन्, उनलाई नवदुर्गा, भगवतीझैं मानेर प्रचण्डले पार्टीमा भित्याए ।
०४७ सालमा संविधान बन्दा सायद उर्मिला मसालमै थिइन् । घुमिफिरी उनी मसालकै जरामा हुर्किएको एमाओवादीमा पुगेकी छिन् । संसारचक्र घुमिरहन्छ भनेझैँ अब राजतन्त्र, लोकतन्त्र र गणतन्त्रको फन्को मारेर मुलुक फेरि ०४७ कै संविधान ब्युँताउने दिशातर्फ हुइँकिन थालेको त होइन । उर्मिलाको एमाओवादी प्रवेशले त यस्तै तरङ्ग पैदा गराएको छ । यदि साँच्चै यस्तै भएछ भने नेपाल र नेपालीको कल्याण नै होला । मुलुकमा एकपटक फेरि शान्तिको गीत गुञ्जिएला ।
– लालकृष्ण धमला