डा. देवकोटाको निधनबाट प्रधानमन्त्री स्तब्ध, अपुरणीय क्षति : नेपाली कांग्रेस

डा. देवकोटाको निधनबाट प्रधानमन्त्री स्तब्ध, अपुरणीय क्षति : नेपाली कांग्रेस


वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनप्रति नेपाली कांग्रेसले शोक व्यक्त गरेको छ । कांग्रेसले एक शोक वक्तव्य जारी गर्दै डा. देवकोटाको निधनले कांग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको जनाएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा हजारौँको जीवन बचाउन सफल डा. देवकोटाको असामयिक निधनबाट राष्ट्रका लागि ठूलो क्षति पुगेको उल्लेख गर्दै उहाँको निधनबाट चिकित्सा जगतमा दक्षिण एशियाकै लागि अपुरणीय क्षति पुगेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उहाँले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहिरहने छ ।’

साथै, हेटौंडामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले डा. देवकोटाको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टीले न्युरो साइन्सका विख्यात चिकित्सक प्राडा उपेन्द्र देवकोटाको निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ । डा. देवकोटाले न्युरो सर्जरीका क्षेत्रमा प्राप्त गर्नुभएको उचाइ कुनै एक व्यक्तिका लागि नभएर सिंगो नेपाल र नेपालीले गर्व गर्न लायक रहेको सो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘स्रोत, साधन र प्रविधिको सीमितता भएको बेलामा खुल्ला प्रतिस्पर्धामार्फत योग्यताका आधारमा विश्वका प्रसिद्ध न्युरो सर्जरी विश्वविद्यालयबाट हासिल गरेको ज्ञान र सीप नेपालमै प्रयोग गर्न उहाँले देखाएको प्रतिबद्धताका लागि उहाँप्रति राष्ट्र सधैँ ऋणी रहिरहनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो मातृभूमिप्रतिको यो अगाध प्रेम र समर्पण हामी सबैका लागि प्रेरणादायी भइरहनेछ । आफ्नो ज्ञान र सीपका माध्यमबाट हजारौँ मानिसहरुलाई जीवन दिने प्रा।डा। देवकोटा हाम्राबीचमा नरहे पनि उहाँको अद्वितीय योगदान सदा स्मरणीय भइरहनेछ ।’

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नोतर्फबाट अलग शोक सन्देश दिनुभएको छ । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको र नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा. देवकोटाले पुर्याउनुभएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने उहाँले ट्वीट गरेर बताउनुभएको छ ।