सुजाताले उठाइन् पार्टी महाधिवेशनको माग

सुजाताले उठाइन् पार्टी महाधिवेशनको माग


नेपाल ट्रेड युनियन कांग्रेसमा नेका संस्थापन पक्षको लज्जास्पद हारलगत्तै नेपाली कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने मुद्दा जोडपूर्वक उठाइएको छ । कांग्रेस नेतृ सुजाता कोइरालाले तत्काल महासमिति बैठक बोलाउनुपर्ने जिकीर गरेकी हुन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा आक्रामक रुपमा बोल्दै कोइरालाले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर कांग्रेस चाँडोभन्दा महाधिवेशनमा जानुपर्नेमा जोड दिइन् ।

चुनावमा भएको त्यत्रो हारको जिम्मेवारीसम्म लिने कोही नभेटिएकोमा आफूलाई आश्चर्य र दुःख लागेको नेत्रृ कोइरालाको भनाई थियो । चुनावी समीक्षा गर्न लामो बैठक बसेर पनि हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा पार्टी समस्या परेको उनले बताइन् । संसदमा पनि कांग्रेस अत्यन्त कमजोर प्रतिपक्षीको रुपमा प्रकट भएकोले चिन्ता थप बढाएको उनले तर्क राखिन् ।

कांग्रेस यतिबेला हैकमवादी प्रवृत्तिले अघि बढ्न लागेको आरोप लगाउँदै उनले यसरी कांग्रेस चल्न नसक्ने भएकाले पार्टीभित्रको गुट–उपगुट समाप्त पार्ने नेतृत्व आवश्यक रहेको बताइन् । पार्टीले बीपीलाई विस्मृत तुल्याउन लागेकोप्रति चिन्ता व्यक्त गरेकी सुजताले अब बिपी कोइरालाको विचारलाई अगाडि बढाउने व्यक्तिलाई नेतृत्व दिनुपर्ने धारणा राखिन् ।

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे मन्तव्य दिँदै कुनैबेला परराष्ट्रमन्त्रीसमेत रहेकी नेतृ कोइरालाले चीन र भारत दुवै नेपालका छिमेकी भएकोले दुवै देशसँग नेपालले समदूरी सम्बन्ध राख्नुपर्ने सुझाव दिइन् ।