स्वीटजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो

स्वीटजरल्याण्डले ब्राजिललाई बराबरीमा रोक्यो


विश्वकप फुटबलका प्रमुख दाबेदारमध्यको एक ब्राजिल लिग चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबरीमा रोकिएको छ । पाँच पटकका विश्व च्याम्पियन ब्राजिलले स्वीटजरल्याण्डमाथि सहजै विजयी हासिल गर्ने अनुमान गरिएको थियो ।

नेमार र मार्सेलोजस्ता प्रभावशाली खेलाडी टीममा भएर पनि ब्राजिललाई जिताउन सकेनन् । विश्वकप फुटबलको इतिहासमा सन् १९७८ पछि ब्राजिल आफ्नो खेल जित्न असफल भएको हो ।

पहिलो हापको २३औं मिनेटसम्म लयमा देखिएको ब्राजिलले त्यो अवधिमा स्वीटजरल्याण्डलाई दबाबमा राख्दै पहिलो गोल गर्न सफल भएको थियो । ब्राजिलले १७औं मिनेटमा गोल गरेको थियो । उक्त गोल कुटीनियोले गरेका थिए । १ गोलको अग्रता लिएपछि ब्राजिलको सन्तुलन बिग्रिएको थियो । त्यसपछि स्वीटजरल्याण्ड खेलमा फर्किएको थियो । पहिलो हापमा २५ देखि ४५ मिनेट आफ्नो पकड पारेको स्वीटजरल्याण्डले सो समयमा थुप्रै गोल गर्ने अवसर पाएपनि चुकेको थियो ।

दोश्रो हापमा पनि स्वीटजरल्याण्ड ब्राजिलमाथि हाबी भएको थियो । आक्रामक रुपमा प्रस्तुत भएको स्वीस टोलीले ब्राजिलको डिफेन्सको फाइदा उठाउँदै ५०औं मिनेटमा गोल फर्काउन सफल भएको थियो ।

उक्त गोल स्वीटन जुवेरले गरेका थिए । जुुबेरले कर्नर किकलाई सुन्दर तरिकाले हेड गर्दै गोल पोस्टभित्र छिराएका थिए । यसपछि ब्राजिलले अग्रता लिन प्रयास गरेपनि असफल भएको थियो । स्ट्राइकर नेमारले आफुले मात्रै गोल गर्ने प्रयास गर्दा अर्थात सेल्फिस गेम खेल्दा ब्राजिल बराबरीमा रोकिएको थियो ।