रायमाझीको कोपभाजन र मेरो नियति

रायमाझीको कोपभाजन र मेरो नियति


– गोपाल पराजुली

म पुनरावेदन अदालत पाटनमा रहँदा एकपटक मीनबहादुर रायमाझी (जो पछि सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर निवृत्त हुनुभयो) को जग्गा विवादसम्बन्धी एउटा मुद्दा हेरेको थिएँ । काठमाडौँ सीतापाईलामा रहेको जग्गाका विषयमा मुद्दा थियो । उहाँलाई आफ्नो जग्गासँग जोडिएको छिमेकीको जग्गा पाताले जग्गा हो, जसको निस्सा छैन, प्रमाण छैन भन्ने लाग्दो रहेछ ।

मुद्दा निषेधाज्ञा थियो । रिट निवेदक सायद श्रीमती रायमाझी हुनुहुन्थ्यो । उहाँको नाममा करिव २ रोपनी जति जग्गा थियो । छिमेकीले आफ्नो जग्गामा साँध–सीमाना लगाउन दिएन भन्ने विवाद थियो । रामप्रसाद श्रेष्ठ र मेरो इजलासमा मुद्दा पर्यो । कागजात हेर्दा दुवै जग्गाको अस्तित्व देखियो । पक्ष–विपक्ष दुवैले आफ्नो आफ्नो जग्गाको सीमाभित्र रहेर बस्नुपर्ने हुन्छ भन्ने निष्कर्षमा पुग्यौँ । हामी दुवैले सल्लाह गर्यौं र अन्तरिम आदेश जारी गर्यौँ– जग्गाभित्र कोही प्रवेश नगर्नु ।

श्रीमती रायमाझीले आफ्ना छिमेकीउपर लेखेको रिट निवेदनमा आदेश जारी त भयो तर उहाँको लालपूर्जामा जति लेखिएको थियो त्यति जग्गामा मात्रै सीमित हुनुपर्ने भयो । उहाँलाई पूर्जाभन्दा बढी जग्गा प्राप्त गर्ने इच्छा थियो अथवा के थियो ? उक्त आदेशपश्चात एकदिन मलाई मीनबहादुर रायमाझीले भन्नुभयो– ‘गोपालजी ! तपाईले त ममाथि धेरै ठूलो अन्याय गरिदिनुभयो । तपाईं जुडीसियरीको मान्छे भएर, तपाईंलाई मैले त्यत्रो रिक्वेस्ट गर्दागर्दै पनि पाताले जग्गाको पनि अस्तित्व देखाइदिनुभयो । मेरो सँधियारको जग्गा छ भनिदिनुभयो । कति प्राप्त गर्नुभयो ?’ उहाँ अत्यन्त नमीठो तरिकाले प्रस्तुत हुनुभयो । मुद्दाको फैसलालाई लिएर अकारण मप्रति उहाँको त्यो क्रोध र कटाक्ष मेरा लागि अनपेक्षित थियो ।

‘त्यसो होइन श्रीमान् ! रामप्रसाद श्रीमान् र मैले सल्लाह गरिकनै आदेश लेखेको हो । न्याय–निसाफभन्दा हामी बाहिर गएका छैनौँ’– मैले उहाँको आक्रोश मत्थर पार्ने कोशिस गर्दै भनेँ । तर उहाँ मेरो कुरा सुन्ने पक्षमा हुनुहुन्नथ्यो ।

मीनबहादुर रायमाझीसँग मेरो सम्बन्ध खासै सुमधुर भएन । जब उहाँ न्यायालयको नेतृत्वमा पुग्नुभयो, जहिले पनि मलाई लखेट्नुभयो । मेरा बारेमा जहिले पनि अनर्गल प्रचार गर्नुभयो । पुनरावेदन अदालतबाट सर्वोच्च अदालतमा सिफारिस भएका हामी केही न्यायाधीशहरूलाई त कान्तिपुर पत्रिकामार्फत उहाँले ‘ऐरे गैरे नथ्थु खैरे’ समेत भनेर टिप्पणी गर्नुभयो ।

त्यसैदिनदेखि मीनबहादुर रायमाझीसँग मेरो सम्बन्ध खासै सुमधुर भएन । जब उहाँ न्यायालयको नेतृत्वमा पुग्नुभयो, जहिले पनि मलाई लखेट्नुभयो । मेरा बारेमा जहिले पनि अनर्गल प्रचार गर्नुभयो । पुनरावेदन अदालतबाट सर्वोच्च अदालतमा सिफारिस भएका हामी केही न्यायाधीशहरूलाई त कान्तिपुर पत्रिकामार्फत उहाँले ‘ऐरे गैरे नथ्थु खैरे’ समेत भनेर टिप्पणी गर्नुभयो । सँधैभरी लपेट्नुभयो, सँधैभरी दपेट्नुभयो ।

पुनरावेदन अदालतवाट सँगसँगै सर्वोच्च अदालतमा सिफारिस भई आएका हामीहरूप्रति जहिले पनि उहाँ आक्रामक हुनुभयो । कुनै विदेशका कार्यक्रम होस् वा न्यायाधीशले प्राप्त गर्ने कुनै सेवा–सुविधाका कार्यक्रममा होस् वा कुनै गोष्ठीमा होस्, के गरेर हुन्छ सहभागी हुन नदिने प्रयास गरिरहनुभयो । अझ मेरा विरुद्धमा त साह्रै नै अप्रिय तरिकाले लाग्नुभयो । मलाई कतिपय उहाँका नजिककै मान्छेले सुनाए कि उहाँ कान्तिपुर मिडियामा ठूलै शेयर भएको मान्छे हो । शेयर कसको नाममा कसरी राखेको छ, थाहा भएन । यद्यपि लेखाजोखा हुँदै जाँदा थाहा होला या नहोला । जे होस् कान्तिपुर र मीनबहादुर रायमाझीको लगाव विचित्रको छ । सर्वोच्च अदालतका न्यायाधीश, अझ हुनेवाला प्रधानन्यायाधीश समेतलाई ‘ऐरे गैरे नथ्थु खैरे’ भन्नेसम्मको कुरा विडम्बनापूर्ण हो ।

यथार्थमा त्यो मुद्दा उहाँले हारेको पनि होइन । लालपूर्जामा जति लेखिएको छ त्यतिमा बस्नुपर्छ भनेको हो । लालपूर्जाको सीमाभीत्र सीमित हुनुपर्छ अरुको जग्गा छुनुहुँदैन भनेको हो । रिट निवेदनमा अन्तरिम आदेश जारी गरिरहँदा पनि यस्तो किसिमको अवगाल !

त्यसकारण मलाई के लाग्छ भने वास्तवमा न्यायधीशहरूको कर्म नै यस्तो हुन्छ कि सँधैभरी अवगाल र अपजसको भारी बोकेर हिँड्नुपर्छ । जस भन्ने कुरा नियतिले सायद कसै–कसैलाई लेखेको हुन्छ होला, नत्र प्रायः न्यायाधीशहरूलाई अपजस नै प्राप्त हुन्छ भन्ने शिक्षा पनि मैले यही घटनाबाट अनुभव गरेँ ।

वास्तवमा मान्छेले आफ्नो अहितको कुरा सुन्न सक्दैन । यो मान्छेको विशेषता नै हो । आफूले जित्ने कुरा र आफूमाथि पर्ने कुरा मात्रै मान्छेलाई न्यायपूर्ण लाग्छ । उहाँले पनि आफ्नो मुद्दा भएको हुनाले ‘सँधियारको जग्गाको अस्तित्व नै थिएन, त्यो जग्गा पनि आफ्नो हुनुपर्छ’ भन्ने कुरा गर्नुभएको होला । यद्यपि त्यो जग्गाको लालपूर्जा उक्त छिमेकीको नाउँमा भयो होला या भएन होला म चिन्दा पनि चिन्दिनँ त्यो पक्षलाई । तर अकारण जागिरे जीवनभर मीनबहादुर रायमाझीबाट मैले अपजस पाएँ । उहाँ जब शक्तिमा पुग्नुभयो, सँधैभरी मलाई पख्लास् र देख्लास् भन्ने खालको व्यवहार गर्नुभयो ।

मलाई कुनैदिन न्यायाधीश रामप्रसाद श्रेष्ठले त भन्नुभएकै थियो– ‘तपाईँ मीनबहादुरको कोपभाजनमा पर्नुभयो । म पनि प्रधानन्यायाधीश हुने मान्छे हो । तपाईँ पनि प्रधानन्यायाधीश हुने मान्छे नै हो । तर मीनबहादुर राममाझीको आफ्नो बलियो संगठन छ । उहाँका खास मान्छेहरू छन् । तपाईंले पनि दुःख पाउनुहुने भयो ।’

मलाई कुनैदिन न्यायाधीश रामप्रसाद श्रेष्ठले त भन्नुभएकै थियो– ‘तपाईँ मीनबहादुरको कोपभाजनमा पर्नुभयो । म पनि प्रधानन्यायाधीश हुने मान्छे हो । तपाईँ पनि प्रधानन्यायाधीश हुने मान्छे नै हो । तर मीनबहादुर राममाझीको आफ्नो बलियो संगठन छ । उहाँका खास मान्छेहरू छन् । तपाईंले पनि दुःख पाउनुहुने भयो ।’

हुनपनि म रायमाझी श्रीमानकै कार्यकालमा मूख्य न्यायाधीश हुनुपर्थ्यो, तर हुन सकिनँ । उहाँकै कार्यकालमा सर्वोच्च अदालत आउनुपर्थ्यो, आउन सकिनँ । पुनरावेदन अदालतको मूख्य न्यायाधीशमा त म अरुभन्दा सिनियर नै थिएँ । तर रायमाझी श्रीमानको प्रतिशोधको भावनाबाट जहिले पनि आक्रान्त भइरहेँ ।

उहाँको अन्तर्मनले के भन्यो मलाई थाहा छैन । तर जे भए पनि एउटा न्यायाधीशले अर्को न्यायाधीशसित न्यूनतम पनि सहिष्णुता कायम गर्नुपर्ने हो । एउटै क्षेत्रमा कार्यरत रहँदा एकता र पारिवारिक भावना राख्नुपर्ने हो ।

मेरो जागिरे जीवनमा अत्यन्तै खट्किएको विषय हो यो । प्रतिशोधपूर्ण व्यवहारकै कारण म सर्वोच्च अदालतमा आउन ढिलाई भयो । पटक–पटक दुर्गम ठाउँमा सरुवा हुनुपर्यो । उहाँ शक्तिमा आइसकेपछि मैले जहिले पनि अपहेलना र अपमानपूर्ण व्यवहारसँग जुध्नुपर्यो । मैले न्यायाधीशहरूको एउटा सम्मेलनमा त भनिदिएको थिएँ कि ‘उहाँले अँध्यारो कोठामा अमिलो निर्णय’ गर्नुभयो । न्यायाधीशहरूले खुवै ताली बजाएका थिए मैले त्यसो भनीरहँदा । यद्यपि म उहाँलाई सम्मान गरिरहन्थे । भाइचारा कायम नै राख्न खोज्थेँ, कुनै कसर नै नराखेर ।

मेरो अन्तर्मनको कथाचाहिँ के हो भने मीनबहादुर रायमाझी जस्तो मान्छे एउटा मुद्दाविशेषमा भएको आदेशलाई लिएर किन त्यसरी मेरो पछाडि लाग्नुभयो ? यसको जवाफ मैले पाउन सकेको छैन । यद्यपि मैल जे गरेँ, न्याय गरेँ जस्तो लाग्छ । तर न्यायका मूल्य–मान्यता र सिद्धान्तहरूको परिपालना गरिरहँदाखेरी निरन्तर जुन किसिमको अपजस र अवगाल मैले प्राप्त गरेँ त्यो पनि नियतिभित्रको एउटा अकाट्य संयोग थियो कि ? न्यायाधीशहरूको बीचमा हुनुपर्ने न्यूनतम मर्यादा र सहिष्णुतालाई बिर्सेर उहाँले मप्रति अनवरत रूपमा गर्नुभएको व्यवहारलाई पनि मैले मेरो जीवनवृत्तभित्रको एउटा संयोगकै श्रृङ्खलाको रूपमा लिएको छु ।
(क्रमशः)

यसअघिको खण्ड पढ्नुहोस्–

अवगालबाट बच्ने कि न्याय-निसाफ हेर्ने ?
https://ghatanarabichar.com/104588