राजा महेन्द्रको ‘बहुदलीय पञ्चायती संविधान’, जो जारी हुन पाएन

राजा महेन्द्रको ‘बहुदलीय पञ्चायती संविधान’, जो जारी हुन पाएन


‘महाराजले के ज्ञानुलाई युवराज घोषणा गरिबक्सने सोच बनाइबक्सेको हो ?’

‘होइन महारानी, वीरेन्द्रलाई राजा भएर बस्न कसरी सजिलो हुनसक्ला भन्नेबारेमा मात्र म सोचिरहेको छु ।’

‘के गरियो भने त्यस्तो होला त महाराज ? के सोचिबक्सेको छ मौसुफले ?’

‘म पञ्चायतभित्रै पार्टीहरू स्वतन्त्र रहने र दलगत आधारमा निर्वाचन भई विजयी पार्टीले सरकार चलाउने र प्रतिपक्षले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रणालीमा जाने कि भन्ने सोच्दै छु ।’

‘त्यसो गर्दा कसरी वीरेन्द्र राजा भएर सजिलोसँग बस्न सक्लान् त ?’

‘अहिले दलहरूमाथि प्रतिबन्ध छ, प्रतिबन्धित दलहरूलाई साथमा लिएर विदेशीले खेल्ने सम्भावना जहिले पनि रहन्छ । विदेशी सेना यहाँ आउन मुस्किल छ, तर स्वदेशीकै बुई चढेर विदेशी यहाँ आउन सक्छन्, त्यो रोक्न अहिले नै पार्टी स्वतन्त्र गरिनुपर्छ भन्ने मलाई लागेको छ । पार्टीहरूले सरकार सञ्चालनको काम गर्छन्, राजाको भूमिका अभिभावकको जस्तो हुन्छ । सरकारका क्रियाकलापमाथि राजाको निगरानी रहन्छ । नराम्रा काम राजाले रोक्न सक्छन्, देशलाई राम्रो हुने काम मात्र सरकारले गर्न पाउँछ । हामीले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गऱ्यौं भने राजनीतिक दलहरू पनि हामीप्रति कृतज्ञ रहनेछन् र विदेशीको उक्साहटमा लागेर राजसंस्थाविरुद्धको धन्दामा उनीहरू लाग्ने छैनन् । जुन तनाव म थेगिरहेको छु, वीरेन्द्रमा त्यति तनाव थेग्न सक्ने क्षमता छैन । पार्टीहरूले सरकार चलाउन थालेपछि राजाको भारी कम हुन्छ, म वीरेन्द्रलाई सानो भारी बोकाउन चाहन्छु– जुन उसले बोक्न सकोस् ।’

राजाको कुराले महारानीलाई खिन्न तुल्यायो । उनले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्ने कुरालाई स्वीकार गरिनन् र भनिन्, ‘हातमा भएको राजपाठ छोड्नुहुँदैन सरकार ! बरु वीरूलाई अर्कै भूमिका दिएर ज्ञानुलाई युवराज घोषणा गरिबक्से भइहाल्यो नि । ज्ञानु बुद्धिमान छ, सरकारको सबै गुण उसमा सरेको छ । उसले राम्रोसँग राज्य चलाउन सक्छ, उसैलाई युवराज घोषणा गरिबक्योस् सबै ठीक हुन्छ सरकार ।’

होइन महारानी, ऊ क्षमतावान त छ, तर उसले समयलाई बुझ्न र बुझेर व्यवहार गर्न सक्दैन । सीधा बाटो जति पनि हिँड्न सक्छ ऊ, तर बाङ्गोटिङ्गो बाटोमा ऊ पनि अलमलमा पर्छ, त्यसैले यो भारी बिसाउनु नै उपयुक्त हुन्छ ।’

‘त्यसो भए मसँग किन सल्लाह लिइबक्सनुपऱ्यो त, अखिर के गर्ने भनेर महाराजले निर्णय नै गरिबक्सेको रहेछ त ।’ महारानीले असन्तुष्टि पोखिन् ।

महारानी रिसाएको भनक पाएपछि उनलाई सम्झाउँदै राजाले भने, ‘मैले कहाँ निर्णय गरेको छु र ? तिमीसँग यसो गर्दा कसो होला भनेर सल्लाह पो मागेको हुँ त । नरिसाउन, जे–जसो गर्नुपर्छ सल्लाह गरेरै गरौँला ।

‘म नवयुवराज भए ठाउँमा जान्छु, महाराज सोच्दै गरिबक्स्योस्’ भन्दै महारानी उठिन् र ऐश्वर्यको शनकक्षतर्फ लागिन् ।

०००

त्यसपछि राजा महेन्द्रले कानुनमन्त्री शम्भुप्रसाद ज्ञवालीलाई दरबारमा बोलाउन सचिवलाई अह्राए । एक घन्टापछि मन्त्री ज्ञवाली दरबारमा हाजिर भए ।

राजा महेन्द्र मन्त्रीहरूसँग भेट गर्ने कक्षमा पुगे । शम्भुप्रसादले कक्षमा प्रवेश गर्दै राजालाई धनुष्टङ्कार शैलीमा प्रणाम गरे । राजाबाट ‘बस’ हुकुम भएपछि उनी नजिकैको कुर्सीमा बसे ।

‘शम्भु, आज मैले तिमीलाई अलिक गम्भीर विषयमा कुरा गर्न बोलाएको छु, कुरा तिमी र मेराबीचमा मात्र सीमित रहोस्, यतिसम्म कि हाम्रा बडामहारानीले नै सोधिखोजी गरे पनि तिमीले नबताउनू ।’

‘आदेश शिरोपर सरकार, मबाट बाहिर जाँदैन,’ शम्भुले प्रतिबद्धता जनाए ।

‘शम्भु, अब निर्दलीय स्वरूपमा पञ्चायती व्यवस्था चल्न सक्दैन र चलाउनु पनि हुँदैन, पञ्चायतभित्रै पार्टीहरूलाई छुट दिनुपऱ्यो, के–कसरी गर्दा हुन्छ, तिमीले बहुदलीय पञ्चायती व्यवस्थाको एउटा मस्यौदा गोप्य रूपमा तयार गर्नुपऱ्यो । धेरै हतार छैन, ६ महिनाभित्र तिमीले मलाई नयाँ संविधानको मस्यौदा बनाएर देऊ ।’

राजाको कुरा सुनेर शम्भु छक्क परे, उनले त्यहाँ कुनै ठूलो बहस गरिरहनुपर्ने ठानेनन्, तर नयाँ संविधानमा राजा र सरकारको अधिकार कसरी निर्धारण गर्ने भन्ने विषयमा भने उनी स्पष्ट हुन चाहे । सोधे, ‘सरकार, अधिकारको विभाजन कसरी गर्ने ?’

राजाले भने, ‘दैनिक राजकाज र प्रशासनको काम सरकारले गर्ने, सेना, परराष्ट्र मामिला संवैधानिक नियुक्ति र अन्य संवेदनशील विषय राजदरबारले हेर्ने, तर सरकारचाहिँ राजा र जनता दुवैप्रति उत्तरदायी हुनुपर्ने गरी व्यवस्था गर न ।’

‘जो हुकुम सरकार’ भन्दै मन्त्री शम्भुप्रसाद बैठककक्षबाट बाहिरिए ।

मन्त्री ज्ञवालीले बहुदलीय पञ्चायती व्यवस्थाको संविधानको प्रारूप राजाले दिएको समयसीमाभित्रै तयार पारिसकेका थिए । राजा महेन्द्रलाई हस्तान्तरण गर्नु अगावै भरतपुर दियालोबङ्गलामा राजाको निधन भइदियो । नयाँ राजाको सोच के–कस्तो हो भन्ने बुझ्न बाँकी नै थियो । त्यसैले ज्ञवालीले संविधानको मस्यौदा आफैँसँग राखेका थिए ।

वीरेन्द्रले राजगद्दी सम्हालेको केही दिनपछि नै अचानक शम्भुप्रसाद ज्ञवालीलाई दरबारमा बोलावट भयो । नारायणहिटी दरबार पुगेर उनले नयाँ राजाको दर्शनभेट गरे । राजाबाट ज्ञवालीलाई कुनै नयाँ कुरा ‘हुकुम’ भएन । ‘तिमीलाई बुबाले संविधानको मस्यौदा तयार गर्न भन्नुभएको थियो रे हो ?’ वीरेन्द्रले सोधे ।

राजा वीरेन्द्रको प्रश्न सुनेर सुरुमा त ज्ञवाली झस्किए । सम्हालिँदै उत्तर दिए, ‘हो सरकार ।’

‘तयार गऱ्यौ त ?’

‘गरिसकेँ सरकार ।’

‘लौ, त्यो तिमीले आजै मलाई ल्याइदिनू र यसबारेमा कसैसँग कुनै कुरा नगर्नू ।’

‘हवस् सरकार’ भन्दै ज्ञवालीले दुई हात जोडे । बाहिरिने इसारा पाएपछि ज्ञवाली त्यहाँबाट हिँडे र पछि संविधानको मस्यौदाका सम्पूर्ण प्रतिहरू राजा वीरेन्द्रकहाँ पुऱ्याइदिए । आफ्नै पिता महेन्द्रको ऐतिहासिक नासोलाई वीरेन्द्रले कहीँ सुरक्षित राखे या जलाइदिए, त्यसको जानकारी हुन सकेको छैन ।

(क्रमशः)

पढ्नुहोस् यसअघिको खण्ड-

‘कुलनाशक’ देखिएपछि दीपेन्द्रको जन्मकुण्डली परिवर्तन
https://ghatanarabichar.com/104502