तराई मुक्ति मोर्चाले मौका पाउनुपर्यो

तराई मुक्ति मोर्चाले मौका पाउनुपर्यो


माओवादी ट्रेड युनियनको अवरोधका कारण उद्योगधन्दा बन्द हुँदा प्रतिदिन आठ करोड घाटा परेका समाचार केही समयअघिसम्म पनि सार्वजनिक हुँदै थिए । यस्तो सुन्नुपर्दा देशप्रति चिन्तनशील हामीजस्ता नागरिकलाई चिन्ता लाग्नु स्वाभाविक हो । यसको प्रतिरोधका लागि सरकारको मात्र मुख नताकी उद्योगी-व्यवसायीहरू आफैं जुर्मुराउनुपर्छ भन्ने अनुभूति हुनु पनि अस्वाभाविक थिएन । ६/८ महिनाअघि त उद्यमीहरू पनि देशै तताउन सफल भएका थिए । तर, फेरि कहाँबाट के गडबड भयो कुन्नि ठूला उद्यमीहरू नै राजनीतिक दलका नेताहरूसँग मिलेर तातिसकेको जनजागृतिलाई ठण्डा तुल्याइदिए । सारा उद्यमीलगायत देशैलाई यसबाट अन्तर्घात हुन पुग्यो । अब कसको पछि लाग्ने ? के गर्ने ? भनी जनता रनभुल्लमा परे । यस्तो परिस्थितिमा रोजगारदाता र कामदारहरूको टे्रड युनियनबीच चार वर्षसम्म हडताल नगर्ने भनी सहमति भएको कुरा स्वागतयोग्य छ । तर, विगतमा भएका सहमतिहरूको कन्तविजोग भएको आधारमा हेर्दा यो पनि व्यवहारमा कति लागू हुने हो भन्ने आशङ्का पैदा भएकै छ ।
आज ९० प्रतिशत नेपाली विद्वान् मूर्ख छन् । ‘लिटल नलेज डेन्जरस’ भन्ने उक्ति यहाँ लागू भइरहेको छ । राष्ट्रका नीति-निर्माता नै यिनै ‘विद्वान् मूर्ख’हरू हुन्छन् अनि देशको दशा कसरी सुध्रन्छ ? देश यसरी बेथितिमा गएको छ कि अस्पतालका कर्मचारी नै बारम्बार तालाबन्दी गरेर स्वास्थ्य संस्थालाई बिचल्लीमा पारिदिन्छन् । तराईमा बच्चा अपहरणको खेती विकासे मल हालेको बालीझैं मौलाइरहेको छ । फिरौती रकमको बढिबढाइ चल्छ । जेलभित्रै पुगेर अपराधीले मानिसलाई गोली ठोकिदिन्छ । कुख्यात बद्मास समातिए पनि अदालत र नेताहरूको कृपा वा पहुँचका कारण सहजै छुटकारा पाउँछन् । यो देशका लागि महासङ्कट नै हो भन्दा फरक पर्दैन । यस्ता कुरा जति लेखे पनि स्थिति नसुध्रनु विडम्बनाको कुरा हो । जति नै आ-आफ्नो बखान गरे पनि मुलुकका ठूला भनिने तीनै दल माओवादी, काङ्ग्रेस र एमाले सबै अयोग्य भइसके । मुलुकभित्रका विडम्बनाकै कुरा गर्दा यो प्रसङ्ग पनि जोड्न चाहन्छु कि राष्ट्रपति डा. रामवरण यादवको गृहजिल्लातिर कृषकले एक किलोको ५/७ रुपैयाँ पनि हात नपर्ने बन्दाकोबी काठमाडौंमा ४० रुपैयाँमा बिक्री हुन्छ । राष्ट्रपति यादवज्यू काठमाडौंबाट तराई जाँदा हेलिकोप्टर प्रयोग नगरी बाइरोडको बाटो भएर मोटरमा गइदिए ४० को बन्दाकोबी २० मा उपलब्ध हुने अवस्था पैदा हुन्थ्यो । यसका लागि हिजोका माधव नेपालमा ७५ प्रतिशत दोष लाग्छ भने दुईकोटी नेपालीको संरक्षकको रूपमा रहेका रामवरण यादवज्यूमा पनि २५ प्रतिशत दोष जान्छ ।
यसरी नेताहरूका बारेमा औंल्याउनुपर्दा पङ्क्तिकारलाई एउटा सर्न्दर्भको सम्झना आउँछ । मेरा अति निकटका शुभचिन्तक एवम् अंगरक्षक गोबर्द्धन सिलवाल मेरा पछिल्तिर अरूहरूसँग भन्ने गर्नुहुन्थ्यो, ‘घमण्डले गर्दा बिक्कु बाबु बिग्रिए ।’ मेरा अति नै घनिष्ट नेता महेन्द्रनारायण निधि बराबर मलाई व्यावहारिक हुन सम्झाउनुहुन्थ्यो, मचाहिँ उहाँलाई ठूला नेताको अन्धभक्त किन बन्नुपर्यो भनी प्रश्न गर्थें । मित्रहरू ठान्छन् कि ८७ वर्षीय कार्कीको वि.सं. २००२ देखि २०६५ सम्मको राजनीतिक बाटो अँध्यारोमा गुज्रिन पुग्यो । तर, प्रकृतिको नियमअनुसार मचाहिँ अँध्यारोबाट उज्यालोमा छु, देशको स्थिति कहालीलाग्दो भए पनि । भाग्यमानीको भूतै कमारो भन्ने उखान त्यसै बनेको त होइन नि । म निराश बनेको छैन, अनुभव र भिजनहरू छन् । तराई मुक्ति मोर्चाका नीतिहरू कार्यान्वयन हुने अवसर मिल्ने हो भने मुलुकलाई सकारात्मक दिशा र समृद्धिमा लैजाने सोच-समझ अझै छ ।
– डा. जिवेन्द्रध्वज कार्की (बिक्कु बाबु)
संयोजक, तराई मुक्ति मोर्चा (अहिंसावादी)

अयोध्याको ‘नेपाली मन्दिर’ उपेक्षित
भारतको अयोध्या भगवान् श्रीरामको जन्मभूमिको रूपमा विश्वभर प्रख्यात छ । त्यसो त मन्दिर पहिला कि मस्जिद पहिला स्थापना भएको भन्ने विवादले मूर्तरूप लिएको यो अध्योध्या भूमिमा प्राचीन कालको राममन्दिर पनि पूर्णतया ध्वस्त पारिएको कुरो त जगजाहेर नै छ ।
भारतीय सुप्रिम कोर्टको फैसलाअनुसार सीमाक्षेत्र तोकी मन्दिर तथा मस्जिद पुन्नर्मणका लागि प्रदान गरिएको अनुमतिपश्चात् अहिले विवाद केही साम्य भएको छ । यसै प्रसङ्गमा अयोध्या विभीषण कुण्डमा स्थापित श्रीकूर्मनारायण भगवान्को मन्दिरबारे केही जानकारी गराउन सान्दर्भिक होला ।
वडा नं. ३३ का पूर्वअध्यक्ष एवम् श्रीकूर्मनारायण ‘नेपाली मन्दिर’ सहयोग समितिका को-अर्डिनेटर श्री भानुकुमार शर्मा बताउनुहुन्छ, ‘यो नेपाली मन्दिर भारतको अयोध्याभरको विशेष मन्दिर हो र श्री कुर्मनारायण भगवान् मुक्तिक्षेत्रमा स्वयम् व्यक्त (आफैं प्रकट हुनुभएको) विशाल शालिग्राम हो ।’ वि.सं. २०५३ मा श्री ५ को सरकार पुरातत्त्व विभागद्वारा भारु चार लाख २० हजार खर्च गरी मर्मत-सम्भार गरिएको नेपाली मन्दिर अहिले भारतीय नागरिकको आँखाको कसिङ्गर बनेको छ र पूर्णरूपमा उपेक्षित छ । पूर्वउपाध्यक्ष शर्माको गुनासो छ ।
-ज्योतिदेव भट्टराई
नक्साल, काठमाडौं

सम्झनालाई बधाई
घटना र विचार साप्ताहिकले अधिकांशतया राजनीतिक विषय-वस्तुलाई स्थान दिँदै आएको मेरो अनुभव या बुझाइ छ । यस पत्रिकाका राजनीतिक विश्लेषणहरू प्राय: सही सावित पनि हुँदै आएका छन् । तर्सथ, घटना र विचारको नियमित पाठक बन्न पुगेको छु । अन्य स्तम्भहरू नियमित नहुनुचाहिँ यसलाई खोट लगाउन मिल्ने एक आधार हो भन्न हिच्किचाउनु नपर्ला । तथापि, केही सातायता नियमित प्रकाशित हुँदै आएको स्वास्थ्य-सरोकार स्तम्भ यस साप्ताहिकको एउटा मूल्यवान गहना नै सावित भएको छ । स्वास्थ्यसम्बन्धी विषयवस्तुलाई व्यावहारिकतामा ढालेर लेखिएका सामग्रीहरू अत्यन्त उपयोगी छन् । यसका लागि सो स्तम्भका स्तम्भकार सम्झना शाक्य बधाईकी पात्र हुनुहुन्छ भने यस्तो उपयोगी स्तम्भ सुरु गरेकोमा घटना र विचारलाई पनि धन्यवाद दिनैपर्छ । यस्तै उपयोगी र रोचक सामग्रीहरूले स्थान पाओस्, शुभकामना छ ।
– जनार्दन बानियाँ, भक्तपुर