बिमस्टेक शिखर सम्मेलन भदौ १४ र १५ मा

बिमस्टेक शिखर सम्मेलन भदौ १४ र १५ मा


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा हुने भएको छ ।

बिमस्टेकको अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको उक्त मिति सदस्य राष्ट्रले अनुमोदन गरेपछि भदौ १४ र १५ मा सो सम्मेलन हुने भएको हो ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, ‘शिखर बैठकका निम्ति नेपालले प्रस्ताव गरेको मितिप्रति सदस्य देशले सहमति जनाएका छन् ।’

सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्राध्यक्ष शिखर बैठकमा सहभागी हुनेछन् । सन् १९९७ मा स्थापना भएको उपक्षेत्रीय संगठन (बिमस्टेक) मा नेपाल, भारत, बंगलादेश, भुटान, म्यान्मार, थाइल्यान्ड र श्रीलंका सदस्य छन् ।

रासस