खुद्रा व्यवसायीलाई मूल्यसूची राख्न निर्देशन

खुद्रा व्यवसायीलाई मूल्यसूची राख्न निर्देशन


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्य रूपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ ।

बजारमा वस्तुको मूल्यमा एकरूपता कायम राख्न आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्यवृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको जानकारी गराएका थिए ।

‘व्यापारीले मूल्यसूचीका साथै बिलबिजक जारी गर्नुपर्छ, अनुगमनका क्रममा त्यसो नगरेको पाइए कारबाही गर्छौं,’ अन्तरक्रिया कार्यक्रममा गौचनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले बजारमा अनधिकृत रूपमा मूल्य बढाउने कालोबजारी तथा कर, अन्तःशुल्क छल्ने व्यापारीलाई आफ्नो संस्थाले कुनै पनि हालतमा संरक्षण नगर्ने प्रस्ट पार्दै विभागको निर्देशनलाई कार्यान्वयन गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि देवेन्द्र श्रेष्ठले बजेटमा करका दरमा नीतिगत परिवर्तन भएको भए पनि त्यसले अति आवश्यक दैनिक उपभोग्य वस्तुमा खासै असर नपर्ने बताए ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले आयातीत केही वस्तुमा अन्तःशुल्क वृद्धि भएका कारण कुनै वस्तुको सामान्य मूल्य वृद्धि भएको बताउँदै अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यापारीलाई कारबाही गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा अखिल नेपाल महिला संघकी प्रतिनिधि ज्योति गिरीले गलत कार्य गर्ने व्यापारीलाई कारबाही गर्न नसकिएका कारण एउटै वस्तुलाई पसलैपिच्छे फरक–फरक मूल्य लिने गरिएकामा चिन्ता व्यक्त गरिन् ।

रासस