व्यवस्थित खानेपानीका लागि डिप बोरिङ शिलान्यास

व्यवस्थित खानेपानीका लागि डिप बोरिङ शिलान्यास


रोजिना बुढाथोकी

भक्तपुर/ प्राकृतिक रूपमा रहेका खानेपानीका मुहानहरूबाट स्थानीयको आवश्यकता पूरा हुन छाडेपछि जिल्लाको चाँगुनारायण नगरपालिकाको छालिङमा डिप बोरिङमार्फत खानेपानी व्यवस्थापनको तयारी थालिएको छ ।

स्थानीय थापागाउँ खानेपानी आयोजना निर्माण उपभोक्ता समितिको सक्रिय पहलमा नगरपालिकाको चार वडाका उपभोक्तालाई समेट्ने गरी सञ्चालन गर्न लागिएको डिप बोरिङको बुधबार भीमसेनडाँडा सिमचौरमा शिलान्याश गरिएको हो ।

चाँगुनारायण नगरपालिकाको वडा नंं. ३, ४, ५ र ६ (बाजुभैरव)का ४५० घरधुरीमा रहेका करिब पाँच हजार उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने सो आयोजनाको छालिङ नगरपालिकाकी उपप्रमुख बिना बास्तोलालगायत अतिथिहरूले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बास्तोलाले गएको निर्वाचनका सन्दर्भमा जनताबीच गरिएका प्रतिबद्धता आफूहरूले एकपछि अर्को गर्दै पूरा गर्ने अठोट दोहोऱ्याइन् । ‘हामीले चुनावको बेला तपाईंहरूसँग गरेका वाचाहरू बिर्सिएका छैनौँ,’ उपप्रमुख बास्तोलाले भनिन्, ‘नयाँ संविधान र सङ्घीयताको मर्मअनुसार नगरपालिका विगतमा भन्दा थप अधिकारसम्पन्न भएर आएको छ । जनतामा भएको विकासको भोक मेटाउनकै लागि हामी प्रभावकारी कार्ययोजनाहरू बनाइरहेका छौँ । उपलब्धिहरू अब बिस्तारै देखिँदै जानेछन् ।’

नगरपालिकाले छालिङको विकासप्रति विशेष चासो राखेको र यो बोरिङ आयोजनाले सीमित क्षेत्रलाई समेटे पनि समग्र छालिङको खानेपानी समस्या समाधान गर्न करिब एक करोड रुपैयाँ लागतको डिप बोरिङ आयोजना केही हप्ताभित्रै सुरु गरिने पनि बताइन् ।

थापागाउँ खानेपानी आयोजनाले संयोजन गरेको शिलान्यास कार्यक्रममा उपप्रमुख बास्तोलासहित ३ नम्बर वडा प्रमुख तथा चाँगुनारायण नगरपालिका पूर्वाधार विकास समितिका संयोजकसमेत रहेका श्यामसुन्दर धिमाल, ५ नम्बर वडाका प्रमुख जयन्द्र खड्का, नगर कार्यपालिका सदस्य शर्मिला बयलकोटी, वडा जनप्रतिनिधिहरू र आयोजना क्षेत्रभित्रका उपभोक्ताको भव्य उपस्थिति रहेको थियो ।

चाँगुनारायण नगरपालिकाको प्रारम्भिक २० लाख रुपैयाँको लागतमा शुरु गरिएको सो आयोजनाले एक महिनाभित्रै खानेपानी निकाल्ने लक्ष्यसहित काम अगाडि बढाइएको समितिले जनाएको छ ।