यी मेयर, जसले गरे एकै वर्षमा सयौँ काम

यी मेयर, जसले गरे एकै वर्षमा सयौँ काम


जिल्ला सदरमुकाम धादिङको नीलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुङ्गानाले जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ । देशका ७५३ स्थानीय सरकारका प्रमुखहरूमध्ये सर्वाधिक सक्रिय मानिएका ढुङ्गानाले वर्षदिनभित्र जति काम गरेका छन्, त्यति नै काम सबै स्थानीय सरकार प्रमुखहरूले गर्ने हो भने यो मुलुकको कायापलट हुन अर्को पाँच वर्ष लाग्ने छैन ।

‘मेरो नीलकण्ठ मेरो मोबाइल’ शीर्षकमा एप्स निर्माण गरी नगरपालिकाका आफ्ना कार्यक्रम र गतिविधिहरू मोबाइलबाट हेर्न सकिने व्यवस्था गर्ने पहिलो नगरपालिका नीलकण्ठ हो र, यसको सम्पूर्ण श्रेय नगरप्रमुख भीम ढुङ्गानालाई दिनुपर्ने देखिन्छ ।

ढुङ्गानाले एक वर्षभित्र साना–ठूला गरी विकास र निर्माणसँग सम्बन्धित सयौँ काम गरेका छन् । तीमध्ये दीर्घकालिक महत्वका मुख्य केही कामहरूको विवरण यसप्रकार देखिएको छ–

१) नगरपालिकाको मास्टर प्लान (गुरुयोजना) बनाइएको ।

२) जनप्रतिनिधि र कर्मचारीहरूको क्षमतावृद्धिका निम्ति कार्यक्रम सञ्चालन गरिएको ।

३) सबै (१४ वटा) वडामा वडा कार्यालयहरूको स्थापना गरिएको ।

४) नगरपालिका कार्यालय र चौधवटै वडा कार्यालयहरूमा इन्टरनेट सेवा उपलब्ध गराइएको । चारवटा पार्क र एउटा पुस्तकालयमा इन्टरनेट जडान हुने क्रममा रहेको ।

५. नगरपालिकामा करिब साठी किलोमिटर लामो चक्रपथ निर्माणको लागि सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाउने क्रममा रहेको ।

६. फोहोरमैला व्यवस्थापनका लागि ल्यान्ड फिल्डसाइट निर्धारण गरी सङ्कलित फोहोरबाट ऊर्जा उत्पादनका निम्ति डीपीआर बनाइँदै ।

७. व्यवस्थित बसपार्कको लागि डीपीआर तयार गरिँदै ।

८. नगरपालिका क्षेत्रभित्र चारवटा वाईफाई फ्री पार्क निर्माणका निम्ति डीपीआर तयार गरिएको ।

९. पन्ध्र शय्याको जिल्ला अस्पताललाई स्तरवृद्धि गरी पचास शय्याको बनाइएको ।

१०) नगरपालिकाभित्र पर्ने चारवटा ठूला सडक (धादिङबेसी–सल्यानटार, धादिङबेसी–तिप्लिङ, धादिङबेसी–फोस्रेटार र धादिङबेसी–धुवाँकोट) कालोपत्रे गर्ने कार्यारम्भ भएको ।

११) धादिङबेसी–खाल्टे सडकको स्तरोन्नति गर्ने कार्य शुरु गरिएको ।

१२) थोपलखोला र अरुङ खोलामा पक्की पुल निर्माण सम्पन्न गरिएको ।

१३) दुईवटा भ्यु-टावर (जुरेथुम र निगालपानी हटिया) निर्माणको प्रक्रिया अघि बढाइएको ।

१४) मुख्य बजार क्षेत्रमा खानेपानी व्यवस्थापनको लागि चार लाख लिटरको ट्याङ्की निर्माण सम्पन्न ।

१५) बजार क्षेत्रमा पैदलमार्ग निर्माणको लागि डीपीआर तयार गरिँदै ।

१६) नगरक्षेत्रमा खानेपानीका लागि विभिन्न दातृ निकायहरूसँगको सहकार्यमा योजना छनोट कार्य भइरहेको ।

१७) ‘मेरो नीलकण्ठ मेरो मोबाइल’ शीर्षकमा एप्स निर्माण गरी आफ्नो कार्यक्रम र गतिविधिहरू मोबाइलबाट नै हेर्न सकिने व्यवस्था गरिएको ।
(सात सय त्रिपन्न स्थानीय सरकारमध्ये यसरी एप्स निर्माण गर्ने पहिलो नगरपालिका भएको ।)