श्रीमती बलात्कार गर्नेलाई ३ वर्ष जेल र ५० हजार जरिवानाको आदेश

श्रीमती बलात्कार गर्नेलाई ३ वर्ष जेल र ५० हजार जरिवानाको आदेश


आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने गरेको आरोपमा एक श्रीमानलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमानलाई ३ वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ति दिलाउन आदेश दिएका हुन् ।

तर, पीडक श्रीमानले बयानका क्रममा आफ्नो कुनै जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको हो ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका बस्दै आएका पीडकको नाम खोल्दा पीडितसमेतलाई असर गर्ने भएकाले पीडक र पीडित दुवैको परिचय भने गोप्य राखिएको छ ।

सो मुद्दा २०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको र भदौ ३० गते अदालत पुगेको स्रेस्तेदार गोपाल थापाले बताए । प्रतिवादी फरार रहेकोले मुलतबी राखिएको उक्त मुद्दा दुई वर्षपछि ब्युँतिएको थियो । पीडितले जाहेरीमा श्रीमानले कान्छी श्रीमती लिएर भागेको र केही सययपछि फर्केर आफूमाथि जबर्जस्ती करणी गरेको उल्लेख गरेकी थिइन् ।