दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु

दक्षिण र उत्तर कोरियाबीच सैन्य वार्ता सुरु


दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ । स्थानीय सञ्चारमाध्यामहरुले सो जानकारी दिएका हुन् । आज (विहिबार) बिहानबाट उक्त वार्ता सुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयाअनुसार विहीबार १० बजे दुई कोरियाका सैनिक जर्नेल वार्ताका लागि उक्त गाउँमा पुगेका थिए । यी दुई देशका उच्च सैनिक अधिकारीबीच गएको दश वर्षमै यो पहिलो पटक यसरी वार्ता भएको बताइएको छ ।

यसअघि सन् २००७ को सुरुमा दुई कोरियाका उच्च सैन्य अधिकारीहरुबीच वार्ता भएको बताइएको थियो । पाँच सदस्यीय दक्षिण कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर मेजर जनरल किम डो ग्युन बिहीबार बिहान उक्त गाउँमा पुगेका हुन् ।

त्यसैगरी उत्तर कोरियाको तर्फबाट पनि जनरल आन लक सनले नेतृत्व गरेका छन् । उनीहरुबीच दुई कोरियाको बीचमा सैनिक तहमा समस्या समाधानका लागि यो बैठकको आह्वान गरिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत मङ्गलबार सिङ्गापुरमा भएको अभूतपूर्व शिखर वार्तापछि दुई कोरियाबीच पनि सम्बन्धमा सुधार आएको छ ।

उक्त शिखर वार्तामा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक गृहकार्य गरिने र निशस्त्रीकरणका लागि प्रक्रिया थालिने भनेर उत्तर कोरियाली नेताले प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच उत्तर कोरियाले निशस्त्रीकरणको काम छिट्टै सम्पन्न गर्ने अपेक्षा अमेरिकाले गरेको अमेरिकी विदेशमन्त्री माइक पम्पेओले जानकारी दिएका छन् । विहीबार दक्षिण कोरियाको राजधानी सोल पुगेका विदेशमन्त्री पम्पेओले भने– यो कुरा दक्षिण कोरियाली नेता किम जोङ उनलाई पनि थाहा छ, यो काम जतिसक्दो चाँडै हुनेछ ।

अमेरिका पनि उत्तर कोरियाली नेता किमजस्तै निशस्त्रीकरणप्रति प्रतिबद्ध रहेको धारणा पनि उनले राखे । उनेले सिङ्गापुर शिखर वार्ताको पहिलो र महत्वपूर्ण कार्य नै यही भएकोले यसमा उत्तर कोरियाको प्रतिबद्धता हाम्रो चासो हो ।

गत मङ्गलबार सिङ्गापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको ऐतिहासिक सम्झौतामा उत्तर कोरियाले निशस्त्रीकरण गर्ने जनाएको छ ।

उत्तर कोरियाले आफ्नो उक्त प्रतिबद्धतालाई चाँडै कार्यान्वयन गर्ने क्रममा रहेको बताएको छ । सोही बमोजिम नै प्रतिबद्धता पूरा होस् भन्नेमा आफू पनि रहेको अमेरिकाले जनाएको हो ।

हामी चाहन्छौँ उत्तर कोरियाले गरेको सिङ्गापुर प्रतिबद्धताजस्तै आगामी केही दिनमा नै निशस्त्रीकरणका लागि प्रक्रिया थालोस् र पूरा गरोस्– विदेशमन्त्री पम्पेओले भने । हामीलाई विश्वास छ नेता किमले यो आवश्यकतालाई बुझ्नुभएको छ र त्यसैबमोजिम चाँडै गर्नुहुने छ– सोलमा बिहीबार मन्त्री पम्पेओले भने ।

विदेशमन्त्री पम्पेओ गत जुन १२ को उक्त ऐतिहासिक शिखर वार्ताको बारेका जानकारी दिन दक्षिण कोरिया पुगेका छन् । उनले यसबारेमा दक्षिण कोरियासँग आवश्यक छलफल गर्नेछन् ।

सोलमा जापान र दक्षिण कोरियाका विदेशमन्त्रीसँग भेटवार्तापछि विहीबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सो पत्रकार सम्मेलमा अमेरिकी विदेशमन्त्री पम्पेओ, दक्षिण कोरियाली विदेशमन्त्री काङ क्याङ ह्वा र जापानी विदेशमन्त्री तारो कोनो छन् ।

उनीहरुले गत मङ्गलबार सम्पन्न भएको विश्व चर्चित सिङ्गापुर वार्ताको बारेमा कुराकानी गरेका थिए। त्यस विषयमा उहाँहरुले आगामी दिनमा उत्तर कोरियाली जतिसक्दो चाँडो निशस्त्रीकरणको काम पूरा गर्नुपर्ने बताएको समाचारमा जनाइएको छ ।


pic: Reuters