निर्माणाधीन नगरपालिकाभवन अलपत्र पारेर ठेकेदार बेपत्ता

निर्माणाधीन नगरपालिकाभवन अलपत्र पारेर ठेकेदार बेपत्ता


ठेकेदार सम्पर्कविहीन भएपछि काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका भवनको तला थप गर्ने काम अलपत्र अवस्थामा रहेको छ । पाँच महिनाअघि निर्माण कार्यको सम्झौता गरिए पनि हालसम्म सम्बन्धित निर्माण व्यवसायी सम्पर्कमा नआएपछि नगरपालिकाभवन अलपत्र परेको हो ।

नगरपालिकाले भवनको तला थप गर्नका लागि एसएमआर÷इजी जेभी, काभ्रेका प्रोप्राइटर गणेश बाँस्कोटासँग गत २०७४ माघ २ गते सम्झौता भएको थियो । निर्माण कम्पनीलाई जिम्मा दिएको वर्ष दिन हुन लाग्दा पनि कामको कुनै सुरसार नै नभएपछि काम हुने कि नहुने भन्ने विषयमा अन्योलता छाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागार्इंले सम्झौता भएको समयदेखि काममा कुनै पनि चासो नदेखाएको बताउनुभयो । ‘काम थालनी नगरेपछि हामीले पटक–पटक सम्पर्क गऱ्यौं र चिठीसमेत पठायौँ, उहाँले त्यसमा पनि कुनै चासो नै गर्नुभएन ।’ चापागाईंले भन्नुभयो, ‘असारको २४/२५ मा काम सम्पन्न गरी नगरपालिकालाई बुझाउनु पर्नेमा अहिलेसम्ममा दुई–तीन प्रतिशत पनि काम भएको छैन ।’

सो निर्माण कम्पनीले नगरपालिकाको भवनको तला थप्नका लागि रु ९२ लाखमा ठेक्का सम्झौता गरेको र त्यससँगै नगरको अरु चारवटा वडा कार्यालय निर्माणका लागि करीब रु साढे चौध लाखका दरले सम्झौता गरेकामा अहिलेसम्ममा कुनै पनि काम अगाडि नबढाएको नगरपालिकाले जनाएको छ । सोही निर्माण कम्पनीले नगरपालिकाको वडा नं ५, ७, २ र १० का कार्यालय निर्माणका लागि जिम्मा लिएर सम्झौता गरी काम नगरेको हो ।

लो विडिङमा सम्झौता गर्ने र बैंक ग्यारेन्टी गर्ने र मोविलाइजेशनमा मात्रै लाग्ने भएका कारण पनि काम गर्न नआएको बुझिएको नगरपालिकाका प्रमुख महेश खरेलले बताउनुभयो । राससका अनुसार पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएका कारण अब कानूनअनुसार कारवाहीको प्रक्रियामा जानुको विकल्प नभएको खरेलको भनाई छ ।