काँग्रेस भेलामा गुटगत लडाईं प्रष्ट देखिने संकेत

काँग्रेस भेलामा गुटगत लडाईं प्रष्ट देखिने संकेत


असार ५ देखि ७ गतेसम्म हेटौडामा काँग्रेस जिल्ला सभापतिको भेला हुने भएको छ ।
जिल्ला सभापतिको राष्ट्रिय भेलामा नेपाली काँग्रेसको गुटगत लडाईं प्रष्ट देखिने भएको छ । भेलालाई आफू अनुकुल पार्ने रणनीतिमा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर तथा नेता रामचन्द्र पौडेल पक्षधर देखिएको बुझिएको छ ।

भेलामा पौडेल पक्षधर नेताहरु सभापति विरुद्ध कडारुपमा प्रस्तुत हुने तयारीमा जुटेका छन् । पौडेललाई नेता कृष्णप्रसाद सिटौला समूहले पनि साथ दिने संकेत गरेको छ । भदौमा बोलाइएको महासमिति बैठकलाई समेत प्रभावमा पार्ने गरी दुई समूहबीच टकराव हुने देखिएको काँग्रेसकै नेता तथा कार्यकर्ताहरु बताउँछन् ।

राष्ट्रिय भेलालाई आफ्नो पक्षमा पार्न नेताहरुको सक्रियता बढेको छ । आफ्नो पक्षमा रणनीति तयार पार्न नेताहरुले आन्तरिक छलफल तथा भेटघाटलाई तीव्र बनाएका छन् । जिल्ला सभापति भेला अघिको पौडेल तथा सिटौला समूहको गुटगत कार्यक्रमले समेत सभापति देउवा विरुद्ध कडै रुपमा प्रस्तुत हुने संकेत गरेको छ ।

उता सभापति देउवा समूह पनि पौडेल–सिटौला समूहको प्रतिवादमा उत्रिने रणनीतिक तयारीमा जुटेको छ । निर्वाचनमा पराजित हुनुमा सभापतिको कार्यशैलीलाई दोष दिँदै आएका दुवै नेताले एउटै मञ्चमा उभिएर एकै स्वरमा देउवाको विरोध गर्दैै आएका छन् ।