कुन कुन मन्त्री जाँदैछन् प्रधानमन्त्रीको साथमा चीन ?

कुन कुन मन्त्री जाँदैछन् प्रधानमन्त्रीको साथमा चीन ?


प्रधानमन्त्री केपी शर्मा ओली असार ५ गते उत्तरी छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमणमा प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिङपिङ, प्रधानमन्त्री ली खछ्याङसहित उच्च नेतारअधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको हैसियतमा ओली दोस्रोपटक चीन लागेका हुन् ।

प्रधानमन्त्री ओलीको साथमा चार मन्त्री पनि चीन जान लागेका छन् । बुधबार परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यअनुसार प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन अनन्त, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ चीन जाने कार्यक्रम तय भइसकेको हो ।

भ्रमण कार्यतालिका अनुसार प्रम ओलीले बेइजिङमा हुने नेपाल–चीन बिजनेस फोरम र विद्वत समूहको फोरममा समेत सम्बोधन गर्नेछन् । यस उच्चस्तरीय भ्रमणका क्रममा चीनसँग केही महत्त्वपूर्ण सम्झौता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । तर कस्ता विषयमा सहमति र सम्झौता हुने भन्ने खुलाइएको छैन् ।

प्रधानमन्त्रीको साथमा ४ मन्त्रीका अतिरिक्त पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल, केही सरकारी उच्च अधिकारी र निजी क्षेत्रका प्रतिनिधि समेत जानेछन् ।