नेपाललाई नयाँ हवाई विन्दु दिने विषयमा छलफल

नेपाललाई नयाँ हवाई विन्दु दिने विषयमा छलफल


आजदेखि भारत र नेपालपक्षबीच नयाँ हवाई प्रवेश विन्दुको विषयमा वार्ता हुने भएको छ । आगामी शनिवारसम्म हुने वार्तामा दुवै देशका प्रतिनिधिबीच नयाँ सहमति जुट्ने अपेक्षा गरिएको छ ।

वार्ताका लागि भारतीय नागरिक उड्डयन प्राधिकरणको टोली नेपाल आइपुगेको छ । पर्याटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार दुई दिनभित्र नेपाली र भारतीय प्राविधिक टोलीले वार्ता गरेर नयाँ प्रवेश विन्दुबारे टुंगो लाग्ने छ ।

नेपाल भ्रमणका क्रममा गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई नयाँ हवाई विन्दु दिने विषयमा छलफल गरेर टुंग्याउने बताएका थिए । ‘नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता छ ।’ मन्त्रालयका सहसचिव लामिछानेले भने, ‘चार वर्षयता पटक–पटकको वार्तापछि भारतीय पक्षले नेपालगन्ज रुट तत्काल खोल्ने समझदारी गर्दै आएका थियौं । तर, दुई पक्षले प्राविधिक रिपोर्ट तयार गरेर पुनः वार्ता गरेपनि टुंगिने भनिए पनि हालसम्म रुट भने खुल्न सकेको छैन ।’

नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ । हाल सिमराबाट मात्रै हवाई रुट खुल्ला रहेको छ । गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिन दिने सहमति भएको थियो । उक्त सहमतिसमेत हालसम्म कार्यन्वयनमा आएको छैन । नेपालले भारतसँग जनकपुर, नेपालगन्ज र भैरहवाको हवाई रुट मागेको मन्त्रालयका सहसचिव लामिछानेको भनाई छ । उनका अनुसार जनकपुर र नेपालगन्ज दिन भारत तयार भए पनि भैरहवाको रुट भने दिननसक्ने यसअघि नै बताइसकेको छ ।

वार्तामा महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरको रुटबारे छलफल हुने र भैरहवा र विराटनगरबाट पनि विमान नेपाल प्रवेश गर्न दिन प्रस्ताव राखिने लामिछानेले बताए ।