अब काम देखाऊ, भाषण पुग्यो !

अब काम देखाऊ, भाषण पुग्यो !


आफ्नो जीवनमा सकारात्मक प्रभाव पर्ने खालको परिणाम नआउने या आउन नसक्ने ठम्याइमा पुगेपछि नागरिक चुप बस्दैनन् । नेपालकै कैयन सन्दर्भ र विश्वका अन्य मुलुकमा देखिएका घटना–परिघटनाबाट नेपालका वर्तमान शासकहरूले पाठ सिक्न नखोज्नु विडम्बनापूर्ण छ ।

विरोधी दलहरूलाई समेत सरकारमा अंशियार बनाएर सत्ताको पकड कसिलो तुल्याइरहेको केपी ओली नेतृत्वको सरकार आमजनताको दृष्टिमा ‘आशाको केन्द्र’बाट अब ‘निराशाको भकारी’मा रूपान्तरण हुने सम्भावना बढेको छ । सरकारले गुजारेको साढे तीन महिनाको समयावधि नागरिकलाई राहत दिनेभन्दा पीडा थप्ने काम–कारबाही गरेर गुज्रिएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यस सरकारबाट फेरि पनि तिनै तत्वहरू मात्र लाभान्वित हुने सङ्केत मिलेको छ जो हिजो–अस्तिका शासन व्यवस्थामा फल्दै, फुल्दै र फस्टाउँदै आए ।

वामपन्थीको बहुमत भएको वर्तमान सरकार देशलाई समाजवादी बाटोमा लैजाने बताइरहेको छ । तर, सामाजिक न्याय क्षेत्रमा अनुदारवादी नीति अनुशरणको लक्षण दर्शाएको ओली सरकारका भनाइ र गराइबीच ठूलो अन्तरको महसुस हर तह–तप्काका नागरिकले गरेका छन् । केपी ओलीबाट केही हुने आशाको वशीभूत भई हिजो अन्धसमर्थनमा उत्रिएका जनतामा असन्तुष्टि पैदा हुन थालिसकेको छ, तर असन्तुष्टि चुलिन नदिनेतर्फ कदम चाल्ने लक्षण सरकारले देखाइरहेको छैन ।

हो, प्रधानमन्त्री र उनका मन्त्रीहरू सार्वजनिक भाषणमा असाध्यै मनमोहक सुनिन्छन् । उनीहरू चौतर्फी विकास–निर्माणको जग तयार भएको दाबी गरिरहेका छन् । तिनका दृष्टिमा मुलुक पछौटेपनको अँध्यारोबाट मुक्त भइसक्यो, अब समृद्धिको उज्यालोमा कावा खान मात्रै बाँकी छ । शासकहरूको आग्रह छ, ‘हामी जे–जे गर्छौँ तिम्रै निम्ति गर्छौँ, जनता हामीलाई साथ देऊ !’ अहिलेसम्म जनता त साथमै छन् । मागेअनुसार सबै दिएकै छन्, तर सरकार भने दिनेभन्दा अझै लिन उद्यत् छ । यस्तोमा जनता के गरून् ?

राम्रा भाषणले नै विकास र समृद्धि प्रदान गर्न सक्दैन भन्ने ओली सरकारका अगुवाहरूलाई यथेष्ट ज्ञान हुनुपर्छ । मीठो भाषण त लागूपदार्थजस्तै हो, जसले प्रदान गर्ने आनन्द क्षणभङ्गुर हुन्छ । पञ्चायतकालमै पनि एक–दुई नेता राम्रै भाषण दिन्थे, त्यो कालखण्ड अब ‘महाअतीत’ भइसक्यो । प्रजातन्त्र पुनस्र्थापनायताकै कुरा गर्नुपर्दा ०४६ को ऐतिहासिक परिवर्तनसँगै अत्यन्त स्वादिष्ट भाषण–कलाका साथ नेता मदन भण्डारी उदाए । भाषणको मिठास कस्तो हुन्छ भन्ने तमाम नेपालीलाई भण्डारीकै बोली–शैलीले सिकायो भन्न सकिन्छ । वास्तवमा भाषण पिलाएर जनताको मन हर्ने राजनीतिक प्रतिस्पर्धा त्यहीँबाटै आरम्भ भयो भन्दा अत्युक्ति ठहरिने छैन ।

अल्प अवधिमै पाँचपटक इन्धनको मूल्य वृद्धि गरेर चौतर्फी महँगीको माहोल पैदा गर्ने, दुर्नाम अभियुक्तहरूलाई गणतन्त्रको नाममा उन्मुक्ति दिने, तस्कर–माफियाहरूलाई संरक्षण प्रदान गर्ने, भ्रष्ट मन्त्रीका क्रियाकलापमाथि आँखा चिम्लने अनि अधिकारजति आफूकेन्द्रित तुल्याएर अधिनायकीपनले ‘सुसज्जित’ हुन खोज्ने सरकारप्रमुख केपी ओलीले एकपटक छातीमा हात राखेर आफ्ना बोली र व्यवहारको निष्पक्ष मूल्याङ्कन स्वयम् गरून्, सत्य उजागर भइहाल्छ ।

भण्डारीको भौतिक अवसानको अढाइ दशकपछि उनै प्रखर भाषणवाज नेताका अनुयायीहरू आज देशको डाडुपन्यु स्वच्छन्दताका साथ चलाउने ओहोदामा पुगेका छन् । बोलीकै निम्ति बढ्ता चिनिएका ओलीबाहेक पनि भाषण दिएर आसन कब्जा गर्ने बुता भएका नेता बग्रेल्ती छन् सत्तासीन दलभित्र । ती भाषणकै बलमा जनताको दिल जित्न खोजिरहेछन्, यता जनताको मानसिकता भने बदलिइसकेको छ । अब भाषणले अघाएका छन् नेपाली, बरु समृद्धिको भोक बेस्सरी जागेको छ । यो यथार्थको महसुस भने अझै गर्न सकेका रहेनछन् जनतासँग जोडिएको दाबी गर्ने ‘कम्युनिस्ट’ नेताहरूले ।

जतिसुकै राम्रा कुरा गरे पनि सरकारले जनताप्रतिको आफ्नो कर्तव्य पूरा गर्न नसक्दा देशमा भ्रष्टाचार, अनियमितता, असुरक्षा, महँगी, बेरोजगारी र गरिबी बढ्दै जान्छ । गफाडी सरकारले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन सक्दैन भन्ने धारणामाथि विश्वास गर्नैपर्ने परिवेश यतिबेला सिर्जना हुँदै छ । परिवर्तनकामी जनताले आफ्नो पक्षमा परिवर्तन भएको ठानेका थिए, तर अब त्यो मिथ्या या भ्रम साबित हुँदै छ ।

फगत सरकारको आलोचनाका निम्ति यी शब्द खर्चिएको होइन– अल्प अवधिमै पाँचपटक इन्धनको मूल्य वृद्धि गरेर चौतर्फी महँगीको माहोल पैदा गर्ने, दुर्नाम अभियुक्तहरूलाई गणतन्त्रको नाममा उन्मुक्ति दिने, तस्कर–माफियाहरूलाई संरक्षण प्रदान गर्ने, भ्रष्ट मन्त्रीका क्रियाकलापमाथि आँखा चिम्लने अनि अधिकारजति आफूकेन्द्रित तुल्याएर अधिनायकीपनले ‘सुसज्जित’ हुन खोज्ने सरकारप्रमुख केपी ओलीले एकपटक छातीमा हात राखेर आफ्ना बोली र व्यवहारको निष्पक्ष मूल्याङ्कन स्वयम् गरून्, सत्य उजागर भइहाल्छ ।

सरकार इमानमा रहेन, यो आफ्नो निम्ति भएन भन्ने जब जनतालाई लाग्छ, त्यतिबेला निर्णायक भूमिकामा उत्रिनबाट तिनलाई कसैले रोक्न सक्दैन । आफ्नो जीवनमा सकारात्मक प्रभाव पर्ने खालको परिणाम नआउने या आउन नसक्ने ठम्याइमा पुगेपछि नागरिक चुप बस्दैनन् । नेपालकै कैयन सन्दर्भ र विश्वका अन्य मुलुकमा देखिएका घटना–परिघटनाबाट नेपालका वर्तमान शासकहरूले पाठ सिक्न नखोज्नु विडम्बनापूर्ण छ । नयाँ युग प्रवेशको कुरा मात्र गरेर हुँदैन, ‘अग्रगमनकारी’ सरकारले उज्यालोतर्फको प्रवेशमार्ग पनि प्रस्टै देखाउन सक्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को यो सरकारले भाषणमा बाहेक उज्यालो गन्तव्यको प्रवेशद्वार यथार्थमा देखाउन सकेको छैन । सरकार जनताप्रति उत्तरदायी, हितकारी र इमानदार भएको झट्टै देख्न पाइयोस् ।