पोल तोडफोड गरेको आशंकामा तीनजना प्रहरी नियन्त्रणमा

पोल तोडफोड गरेको आशंकामा तीनजना प्रहरी नियन्त्रणमा


हेमशंकर सिंह

राजविराज । ग्रामीण विद्युतीकरणका लागि बलान बिहुल गाँउपालिकामा गाडिएका विद्युतका दशवटा पोल तोडफोड गरी नष्ट गर्ने कार्यमा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ ।

यसरी पक्राउ पर्नेमा बलान विहुल गाँउपालिका वडा न.२ का सुरेन्द्र यादव, उदग नारायण यादव र हरि नारायण साह रहेका छन् । घटना छानविनको लागि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले जानकारी दिएका छन ।

बलान बिहुल गाँउपालिका वडा न. २ मा पर्ने सानो टोलमा १६ दिन अगाडि गाउँपालिकाले गाडेको पोलमध्ये दशवटा पोल मंगलबार राती घनले फुटाएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले बताए ।

राजनितिक भावनाले प्रेरित भई नेपाली कांग्रेसका स्थानीय नेताहरुबाट घटना घटाइएको आरोप लगाउँदै उनले त्यस्ता ब्यक्तिहरुलाई नछाडिने चेतावनी समेत दिएका छन् ।

यता नेपाली काग्रेसका स्थानीय नेताहरुले भने आफ्ना निर्दोष कार्यकर्ताहरुलाई पक्राउ गरेको आरोप लगाउँदै उनीहरुको रिहाई र भ्रष्टाचारविरुद्ध आज गाँउपालिका कार्यालय र मलहनिया मौवाहा प्रहरी चौकी अगाडी मसाल जुलुससहित आन्दोलन गर्ने जनाएको छ ।

भ्रष्टाचारको ढाकछोप गर्न गाँउपालिका अध्यक्ष गोइतले भ्रम फैलाउन खोजेको आरोप समेत नेपाली कांग्रेसका स्थानीय नेताहरुले लगाएका छन् ।

विद्युतीकरणका लागि गाडिएको पोल गुणस्तरहीन रहेको दाबी गर्दै नेपाली कांग्रेसको तर्फबाट सो गाँउपालिका अध्यक्षको उम्मेदवार भई निकटतम प्रतिद्वन्द्वी रहेका जितेन्द्र यादवले भने— राती परेको पानीसँगै आएको हावाहुरीका कारण पोल ढलेर फुटेको हो ।

गाँउलेहरुको सहमतिबिना निजी जग्गामा पोल गाडिएकाले केही दिनअघि मात्र गाउँपालिका अध्यक्ष गोइतका आफ्नै काका सत्यनारायण गोइतले पाँचवटा पोल ढालेको यादवको भनाई छ ।

ग्रामीण विद्दद्युतीकरणका लागि तीन करोड बजेट छुटयाइएको र वडा न. २ को सानो टोलमा विद्युतीकरणका लागि ३४ लाख बजेट रहेकाले अनियमितता गर्न गाउँपालिका अध्यक्ष गोइतले सुनियोजित रुपमा घटना घटाउने गरेको आरोप समेत यादवले लगाएका छन् ।