प्रदेश ५ को नीति तथा कार्यक्रम पारित

प्रदेश ५ को नीति तथा कार्यक्रम पारित


प्रदेश ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज बुधबार सर्वसम्मत पारित भएको छ ।

प्रदेश ५ प्रदेश सभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यस्तै, प्रदेश ५ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५, प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयक, २०७५ पनि सर्वसम्मतिले पारित भएको छ । दुवै विधेयक र नीति कार्यक्रम पारित भएपछि प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको हो । यसअघि मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले दुवै विधेयक र नीति तथा कार्यक्रम प्रदेश सभामा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रदेश ५ प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्दै उनले धेरैजसो कर स्थानीय तहले उठाउने व्यवस्था सङ्घीय कानुनले गरेकाले प्रदेश सरकारले स्थानीय तहसँग बलियो सम्बन्ध र सहकार्य गर्नुपर्ने बताए ।

मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री पोखरेलले स्रोतको परनिर्भरता स्थानीय तहसँग भएको जानकारी दिँदै समन्वय र सहकार्यबाट समृद्धि हासिल गर्न सकिने बताए । उनले भने, ‘विगतका नीति कार्यक्रम र बजेट आवधिक थिए, तर यसपटक विस्तृत दृष्टिकोणका साथ हामी अघि बढ्दै छौँ ।’

प्रदेश ५ मा आगामी असार १ गते बजेट आउँदै छ । यस्तै, नियमावली संशोधन मस्यौदा समितिका अध्यक्ष दामाकुमारी शर्माले प्रदेश सभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेकी थिइन् ।

रासस