एकीकृत प्रयासबाट मात्र बालविवाहको अन्त्य : मन्त्री बराल

एकीकृत प्रयासबाट मात्र बालविवाहको अन्त्य : मन्त्री बराल


चन्द्रकान्त खनाल

बालविवाह अन्त्यका लागि एकीकृत आवश्यकतामा जोड दिइएको छ । प्रदेश ५ को बुटवलमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।

सन् २०३० सम्म नेपालमा बालविवाह अन्त्य गर्ने लक्ष्य राखिए पनि गरिबी बालविवाहको मुख्य कारण रहेको कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख छ । ८१.७ प्रतिशत बालविवाह गरिबीको कारण हुने उक्त कार्यपत्रमा प्रस्तुत गरिएको हो ।

प्रदेश नम्बर ५ को बुटवलमा मंगलबार आयोजना गरेको बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी भइसकेको सन्दर्भमा स्थानीय निकायमा प्रदेशस्तरीय कार्याशाला गोष्ठी कार्यक्रममा बालविवाह अन्त्यका लागि स्थानीय तहले महत्वपूर्ण भूमिका खेल्न सक्न बताइएको छ ।

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले एकीकृत प्रयासबाट मात्र बालविवाहको अत्य हुने बताएका छन् । बालविवाह समाजका लागि चुनौतीपूर्ण रहेको बताउँदै मन्त्री बरालले बालविवाह अन्त्यका लागि सबैको प्रयास एक हुनुपर्नेमा जोड दिए ।

‘तराईमा बालविवाह बढ्नु गरिबी, सामाजिक, सांस्कृतिक कारण हो,’ उनले भने, ‘पहाडमा सामाजिक सञ्जालको दुरुपयोगले पनि बालविवाह बढ्दै गएको छ ।’

सरकार मात्र लागेर बालविवाह अन्त्य नहुने बताउँदै बालविवाह अन्त्यको लागि मिडिया, राजनीतिक दल, सङ्घसंस्था, सामाजिक अगुवाहरू एक भएर अभियानमा लागे सम्भव हुने मन्त्री बरालले बताए ।

स्थानीय तह अहिले बजेट र अधिकारले बलियो भएकाले पूर्वाधार विकासमा मात्र नलागेर सामाजिक क्षेत्रमा पनि बजेटको सदुपयोगको आवश्यकता रहेको उनको कथन थियो ।

त्यस्तै जिल्ला समन्वय समितिका सभापति एकराज विश्वकर्माले पूर्वाधार विकासले मात्र समाजको विकास हुन नसक्ने बताउँदै मानवीय विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । बालविवाह अन्त्यका लागि स्थानीय तहहरू एक भएर लाग्नुपर्ने बताउँदै यसका लागि सामूहिक प्रयासको खाँचो रहेको विश्वकर्माको भनाइ छ ।