जडीबुटीमा ट्रिपरको ठक्करबाट स्कुटीचालकको मृत्यु

जडीबुटीमा ट्रिपरको ठक्करबाट स्कुटीचालकको मृत्यु


काठमाडौंस्थित जडीबुटीमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रिपरको ठक्करबाट स्कुटरचालक रौतहट गौर घर भई हाल बनेपा बस्दै आएकी २४ वर्षीया अस्मिता राजभण्डारीको मृत्यु भएको छ ।

ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले ट्रिपरमाथि आगजनी गरेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा.४ख ३५५८ नम्बरको ट्रिपरले सोही दिशातर्फ आउँदै गरेको बा.७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका कारण पेप्सिकोला, कोटेश्वरबाट र लोकन्थलीबाट जडीबुटीतर्फ जाने सवारीसाधन प्रभावित भएका छन् ।

त्यस क्षेत्रमा वैकल्पिक रुटको प्रयोग गर्न ट्राफिकले सर्वसाधारणलाई सुझाव दिएको छ । हाल दुर्घटनामा संलग्न दुवै सवारीसाधनसहित ट्रिपरचालक प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा रहेका छन् ।