वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन


वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो ।

लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थापाको घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिस आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाइँ पनि लडेका थिए ।

झन्डै सयवटा चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका थापाको लोकप्रियता हास्य टेलिफिल्म ‘तीतो सत्य’मा काम गरेपछि झन् चुलिएको थियो । उनी कलाकारितामा प्रवेश गर्नुअगाडि नेपाली सेनामा कार्यरत थिए ।

उनको निधनले नेपाली कला जगत् स्तब्ध बनेको छ । थापाको निधनमा हजारौँले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन् ।