खेलकुदमा महिला सहभागिता अभिवृद्धि अभियान

खेलकुदमा महिला सहभागिता अभिवृद्धि अभियान


खेलकुदमा महिला सहभागिता व्यापक बनाउने र त्यसको माध्यमबाट महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय खेलकुद परिषद्ले देशका ७७ वटै जिल्लामा विशेष अभियान चलाउने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममार्फत अभियान सञ्चालन गर्न लागेको हो । यसका लागि परिषद्ले जेठ २९ गते मंगलबार सरोकारवालाहरूसँग सुझाव सङ्कलन गर्न अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

बिजुलीबजारमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले खेलकुदमा महिला सहभागिता अभिवृद्धि अपरिहार्य रहेको भन्दै नेपालले पाएको अन्तर्राष्ट्रिय पदकमा महिलाको पनि महत्वपूर्ण भूमिका रहेको बताए । उनले यथास्थितिवादी शासकहरूले महिलाको अधिकार कटौती गरी पछि पारेकैले नेपाली समाजको सर्वाङ्गीण विकास हुन नसकेको बताए ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले राखेपकै आयोजनामा देशका सबै जिल्लाहरूमा खेलकुदमा महिला सहभागिता बढाउन अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । राष्ट्रपति महिला अभिवृद्धि कार्यक्रममार्फत अभियानका लागि बजेट विनियोजन भइसकेको जानकारी पनि सदस्यसचिव विष्टले सो अवसरमा गराएका थिए ।

राखेपले असारको दोस्रो सातादेखि खेलकुदमा महिला सहभागिताको विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘महिला सशक्तीकरणका लागि हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नारासहित सञ्चालन हुन लागेको अभियानमा महिलाहरूलाई आत्मरक्षाका लागि तालिम पनि प्रदान गरिनेछ ।

अन्तक्र्रियामा सहभागी अन्य वक्ताहरूले महिला हिंसा न्यूनीकरणका लागि स्वतन्त्रता र बलियो कानुनी व्यवस्थाको अपरिहार्य रहेको धारणा राखेका थिए । सञ्चारकर्मी तथा महिला हिंसाबारे विशेषज्ञ आरती चटौतले महिलाहरू घरभित्र र पुरुषहरू घरबाहिर भन्ने मान्यतालाई नतोडेसम्म महिलाको खेलकुदमा सहभागितालाई व्यापक बनाउन नसकिने धारणा व्यक्त गरिन् ।

सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले ऐन, नीति, नियम र पाठ्यक्रममै महिला हिंसाविरुद्धको जनचेतना अभिवृद्धि गनुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा नेपाल कुरुदया मार्सल आर्ट सङ्घका खेलाडीले पुरुषहरूले महिलामाथि गर्ने दुव्यर्र्वहारको कसरी आत्मरक्षा गर्नेसम्बन्धी कलाको प्रदर्शन गरेका थिए ।