अन्तर्राष्ट्रिय निर्णायकमा गौतमको छनोट

अन्तर्राष्ट्रिय निर्णायकमा गौतमको छनोट


मित्रराष्ट्र अमेरिकाको लासभेगास सहरमा यही असार ४ देखि १० गतेसम्म सञ्चालन हुने ‘विश्व भेट्रान्स टेबलटेनिस प्रतियोगिता २०१८’मा अन्तर्राष्ट्रिय निर्णायकको रूपमा नेपालका शंकर गौतम छनोट भएका छन् ।

वरिष्ठ प्रशिक्षक गौतमले उक्त प्रतियोगितामा विश्वका ५००० भन्दा बढी खेलाडीको सहभागिता रहने बताएका छन् । उक्त प्रतियोगिता हरेक दुई वर्षमा हुने पनि गौतमले जानकारी गराएका छन् । गौतमले यसअघि स्पेनमा भएको संस्करणमा पनि अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगिता, एसियन जुनियर प्रतियोगिता, विश्व जुनियर टेबलटेनिस प्रतियोगिता, दक्षिण एसियाली खेलकुद, एसियन च्याम्पियनसीप, विश्व टेबलटेनिस प्रतियोगिता, यूएस ओपन, कमनवेल्थ गेम्सलगायत गरी भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड, जापान, कोरिया, अमेरिका, अस्ट्रिया, स्पेनलगायतका देशमा अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरिसकेको गौतमले जानकारी दिए । गौतम अखिल नेपाल टेबलटेनिस सङ्घका महासचिव पनि हुन् ।