चुनाव मजदुरको हार्ने र जित्नेचाहिँ नेता !

चुनाव मजदुरको हार्ने र जित्नेचाहिँ नेता !


नेपाली काङ्ग्रेससम्बद्ध ट्रेड युनियन कङ्ग्रेसको महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवा र देउवाविरोधी पक्षका निम्ति ठूलो प्रतिष्ठाको विषय बन्न पुगेको छ । मंगलबार (जेठ २९) राजधानीमा शुरु भएको छैटौं महाधिवेशनमा देउवाको समर्थनमा खिलानाथ दाहाल अध्यक्षको उम्मेदवार बनेका छन् भने प्रकाशमान सिंह, रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. शेखर कोइराला र कृष्ण सिटौला पक्षले पुष्कर आचार्यलाई अध्यक्षको उम्मेदवार बनाएर प्रस्तुत गरेको छ ।

ट्रेड युनियनको नेतृत्वमा विजय हात पार्ने कुराले काङ्ग्रेसमा को बलियो भन्ने सन्देश दिने विश्वास दुवै पक्षले गरेका छन् । र, दुवै पक्ष आफूले समर्थन गरेको उम्मेदवार विजयी बन्ने विश्वासमा पनि छन् । खिलानाथ दाहाल यसअघि पनि देउवाको समर्थनबाट युनियनको अध्यक्षमा विजयी व्यक्ति हुन् । पार्टीमा देउवासँग असहमत पक्ष एकजुट नभएकोले आफू विजयी हुनेमा दाहाल ढुक्क थिए । पछिल्लो समयमा प्रकाशमान सिंहदेखि कृष्ण सिटौलासम्मका नेताहरू एकताबद्ध भएपछि अध्यक्षका उम्मेदवार दाहाल र उनलाई उम्मेदवार बनाउने सभापति शेरबहादुर देउवा तिलमिलाएका छन् ।

खिलानाथ दाहालको पक्षबाट वरिष्ठ उपाध्यक्ष अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) मा बमबहादुर केसी र डीपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) नूरमोहम्मद रैन, महासचिव सञ्जय मिश्र, उपमहासचिव (खुला) जनार्दनराज निरौला र काजीराम श्रेष्ठ, उपमहासचिव (महिला) कमला लामिछाने, उपमहासचिव (सेवा) रजन थापा, उपमहासचिव (उत्पादन) धीरेन्द्र सिंह, उपमहासचिव (अनौपचारिक तथा स्वरोजगार) आत्माराम पौडेल, कोषाध्यक्षमा ऋषभदेव घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई रहेका छन् ।

पुष्कर आचार्यको पक्षबाट वरिष्ठ उपाध्यक्ष महेन्द्र यादव, उपाध्यक्ष (खुला) तेजेन्द्र कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिव योगेन्द्र कुँवर, उपमहासचिव (खुला) गणेश केसी र ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुइँकेल, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वर परियार, उपमहासचिव (सेवा) सीताराम अवस्थी तथा कोषाध्यक्षमा मोहन बस्नेत र सहकोषाध्यक्षमा सुशीला घिमिरे मैदानमा उत्रिएका छन् ।

तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गरेका थिए । उद्घाटन समारोहमा देउवाका अतिरिक्त उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, कृष्ण सिटौला, गगनकुमार थापा, सञ्जय गौतमलगायतको विशेष उपस्थिति थियो । स्वास्थ्यका कारण महामन्त्री पूर्णबहादुर खड्का उद्घाटन समारोहमा सहभागी हुन नसक्नुभएको बताइएको छ ।