प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई


त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी आर्मीलाई ६ विकेटले पराजित गरेको हो ।

पहिलो ब्याटिङ गर्दै आर्मीले दिएको २१० रनको लक्ष्य पछ्याउने क्रममा अनिल शाह र प्रदीप ऐरीले समान ६३–६३ रनको योगदान दिए । व्यक्तिगत १२ रन बनाउँदा सुवास खकुरेल चोटका कारण मैदान छाड्दै रिटायर्ड भएपछि क्रिजमा आएका प्रदीप ऐरीसँग मिलेर अनिल शाहले पहिलो विकेटका लागि १३८ रनको साझेदारी गरेका थिए ।

३०.१ ओभरमा सोमपाल कामीको बलमा आउट हुनुअघि ऐरीले ९९ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । त्यसको १ ओभरपछि विक्रम सोवको बलमा आउट भएका अनिल साहले ७२ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए । अनिल साह फाइनलका ‘म्यान अफ दी म्याच’ बने ।

त्यसपछि क्रिजमा आएका पृथु बाँस्कोटाले २४ बलमा ३२ रनको आक्रामक पारी खेले । एपीएफका लागि रोहितकुमार पौडेलले पनि १५ रनको योगदान दिए । खेलको अन्तिम समयमा सुवासले क्रिजमा फर्किएर २ रन थपे । करण केसीले अन्तिममा १५ रनको योगदान दिएपछि एपीएफले ४१.२ ओभरमा लक्ष्य भेट्टाएको थियो ।

बलिङतर्फ सोमपाल कामीले तीन विकेट र विक्रम सोवले १ विकेट लिएका थिए । एपीएफका चारैजना खेलाडी क्याचआउट भएका थिए र चारवटै क्याच विनोद भण्डारीले लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले इनिङको अन्तिम बलमा सबै विकेट गुमाउँदै २०९ रनको मध्यम योगफल बनाएको थियो । आर्मीले ५६ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो । यसक्रममा सागर पुन ५ रन, अनिल मण्डल १९, नरेश बुढाऐर २० रन र राजु रिजाल ६ रनमा पेभेलियन फर्किएका थिए ।

भीम सार्कीले ४५ रन बनाएर पारी उकास्ने प्रयास गरे पनि उनी वसन्त रेग्मीको बलमा बोल्ड भएका थिए । आर्मीका लागि सबैभन्दा धेरै रन भीम नै बनाएका थिए । सोमपाल कामीले ३६ र कप्तान विनोद भण्डारीले ३५ रन बनाए । बलिङतर्फ एपीएफका करण केसीले ३ विकेट, भुवन कार्की र वसन्त रेग्मीले २–२ विकेट हात पारेका थिए ।

उपाधिसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पायो भने उपविजेता बनेको आर्मीले १० लाख रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताभर अलराउन्ड प्रदर्शन गरेका आर्मीका सागर पुन म्यान अफ दी सिरिज चुनिए । उनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । उनले प्रतियोगितामा ब्याटिङतर्फ २११ रन र बलिङमा ११ विकेट लिएका थिए । त्यस्तै, उत्कृष्ट बलर पनि आर्मीकै सुसान भारी बने । प्रतियोगिताको ६ इनिङमा सर्वाधिक १२ विकेट लिएका भारीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपालयको व्यवस्थापनमा भएको प्रतियोगितामा एपीएफका प्रदीप ऐरी उत्कृष्ट ब्याट्सम्यान चुनिए । समूह चरणमा प्रदेश २ विरुद्ध प्रतियोगिताकै सर्वाधिक १५८ रनको शतकीय पारी खेलेका उनले फाइनलमा पनि ६३ रन बनाएका थिए । ६ इनिङमा कुल ३१५ रन बनाएका ऐरीले पनि ३० हजार रुपैयाँ पुरस्कार पाए । प्रदेश ४ का हरि चौहान उदीयमान खेलाडी चुनिँदै ५० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, सदस्यसचिव केशवकुमार विष्ट, कोषाध्यक्ष शैलेश कर्माचार्य, सदस्यत्रय गंगाबहादुर थापा, सकुन्तला नगरकोटी, उपेन्द्र पौडेललगायतले पुरस्कृत गरेका थिए ।