ट्रेड युनियन विकासको बाधक होइन

ट्रेड युनियन विकासको बाधक होइन


प्रजातान्त्रिक मजदुर आन्दोलनको लामो इतिहास बोकेको नेपाल ट्रेड युनियन कङ्ग्रेसको छैटौँ महाधिवेशन हिजो मंगलबारदेखि शुरु भएको छ । पच्चीसवटा विभिन्न राष्ट्रिय सङ्घहरूको छाता–सङ्गठनको रूपमा रहेको यस महासङ्घमा करिब चार लाख सदस्य रहेका छन् भने सङ्गठित–असङ्गठित सबै क्षेत्रका श्रमिकहरू समेटिएका छन् । नेपाल ट्रेड युनियन कङ्ग्रेसको संशोधित विधानअनुसार सातवटै प्रदेशमा प्रदेश समिति बनेको छ र एकहत्तर जिल्लामा जिल्ला समिति गठन भई क्रियाशील छन् ।

सामान्यतया चार वर्षमा महाधिवेशन हुने भए पनि विधानतः एक वर्ष थप गर्न सकिन्छ । अहिले चार वर्ष नौ महिनामा महाधिवेशन हुँदै छ । काङ्ग्रेसको यो भ्रातृ सङ्गठन नभई शुभेच्छक संस्था हो, जो काङ्ग्रेससम्बद्ध अन्य सङ्घ–संस्थाको तुलनामा अत्यन्त क्रियाशील एवम् सशक्त छ । यो राजनीतिक मात्र नभई व्यावसायिक सङ्गठन पनि हो ।

नेपाल ट्रेड युनियन कङ्ग्रेसको हिजो मंगलबार उद्घाटन भएको छैटौँ अधिवेशनअन्तर्गत आज बुधबार बन्द सत्र हुँदै छ भने भोलि बिहीबार नयाँ नेतृत्व चयनको लागि निर्वाचन हुनेछ । सामूहिक सौदाबाजीमा विश्वास राख्ने यो सङ्गठन वर्ग समन्वयमा विश्वास गर्छ, वर्ग समन्वयको चरित्र संवादमा देखिन्छ । संवाद र छलफलबाट समस्याको हल खोज्ने यसको चरित्र हो । गिरिजाप्रसाद कोइरालाले वि.सं. २००३ मा स्थापना गरेको यो सङ्गठन प्रजातान्त्रिक आन्दोलनको जग नै मानिन्छ ।

गिरिजाप्रसादपछि लक्ष्मण बस्नेतले करिब २३ वर्ष नेतृत्व गरेको यो सङ्गठन यतिबेला खिलानाथ दाहालको अगुवाइमा छ । छैटौँ महाधिवेशनमा पनि दाहालले आफूलाई अध्यक्षको उम्मेदवारका रूपमा अघिसारेका छन् । वरिष्ठ उपाध्यक्ष एक, खुलातर्फबाट दुई, सेक्टोरियल (सेवा, उत्पादन र स्वरोजगार अनौपचारिक) तीन र महिला एक गरी जम्मा ६ जना उपाध्यक्ष रहने सङ्गठनको खुलातर्फका एक उपाध्यक्ष उम्मेदवार हुन् बमबहादुर डीसी (बीबी डीसी) । हालसम्मका सबै महाधिवेशनमा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्दै आएको यस महासङ्घमा यसपटक पनि दुई समूहबीच चर्को प्रतिस्पर्धा हुँदै छ । खिलानाथ दाहाल र पुष्कर आचार्यले अलग–अलग समूहको नेतृत्व गरेका छन् । बमबहादुर डीसी दाहाल समूहबाट मैदानमा उत्रिएका हुन् ।

०४६ सालदेखि नै ट्रेड युनियन आन्दोलनममा आबद्ध र श्रमिकका सवालमा सदैव अगाडि रही क्रियाशील रहँदै आएका डीसीसमक्ष ‘यसअघि आचार्य समूहको नेताका रूपमा चिनिने तपाईं एकाएक कसरी दाहाल पक्षबाट उपाध्यक्षको उम्मेदवार बन्न पुग्नुभयो ?’ भन्ने जिज्ञासा तेर्स्याइयो ।

जवाफमा बीबी डीसी भन्छन्, ‘पुष्कर आचार्यको कुरा आफ्नै ठाउँमा होला, नेपाल ट्रेड युनियन कङ्ग्रेसमा मैले लक्ष्मण बस्नेतको समूहमा रही लामो समय काम गरेको हुँ । ट्रेड युनियन कङ्ग्रेसको जिल्ला अध्यक्ष, मध्यपश्चिम क्षेत्रीय अध्यक्ष हुँदै दुई कार्यकाल राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी मैले सम्हालिसकेको छु । वीरगञ्जमा आयोजित चौथो एकता महाधिवेशनमा पुष्कर आचार्यले लक्ष्मणबहादुर बस्नेतविरुद्ध विद्रोह गर्दा हामी केही साथीहरूले लक्ष्मण बस्नेतलाई साथ दिई विजयी तुल्याएका थियौँ । पाँचौँ महाधिवेशनबाट म उपाध्यक्ष विजयी भएपछि विगत साढे चार वर्षदेखि मैले अध्यक्ष खिलानाथ दाहालको कार्यशैली, व्यवहार सबै पक्ष नजिकबाट नियाल्ने अवसर पाएँ । एउटा शहीद परिवारबाट आएको उहाँको सरलपन, इमानदारिता, सहज कार्यशैली, त्याग, समर्पण सबै हेर्दा ट्रेड युनियन काङ्ग्रेसको आगामी दायित्व उहाँकै नेतृत्वबाट मात्र पार लाग्छ भन्ने निचोडमा म पुगेको छु । यसर्थ दाहालजीकै टिमबाट खुलातर्फ उपाध्यक्षको उम्मेदवारी दिएको हुँ ।

० आफ्नो तथा टिमकै अवस्थाबारे कस्तो आकलन गर्नुभएको छ नि ?
– चुनावी परिणाम कस्तो आउला भन्ने सन्दर्भमा यो प्रश्न गर्नुभएको हो भने म प्रस्ट्याउन चाहन्छु कि ट्रेड युनियन कङ्ग्रेसमा लामो समयदेखिको क्रियाशीलता र पछिल्लो चार वर्षमा जे–जति काम गर्न सकियो, यसले के स्पष्ट पारेको छ भने खिलानाथ दाहाल समूहका सबै उम्मेदवार विजयी हुनेछन् । मेरो व्यक्तिगत पोजिसनको सवालमा पनि विश्वस्त छु कि सबै महाधिवेशन प्रतिनिधि साथीहरूले मेरो काम वा योगदानलाई बुझ्नुभएको छ । मलाई विश्वास छ साथीहरूको अत्यधिक साथ–समर्थन मैले पाउनेछु ।

० ट्रेड युनियन भनेको विकासका बाधक हुन्, यिनले राज्यका काममा अवरोध सिर्जना गरेर मुलुकको उत्पादन, विकास र समृद्धिलाई नै पछि धकेलिरहेका छन् भन्ने आरोप पनि छ, तपाईं के भन्नुहुन्छ ?
– पक्कै पनि यस्तो आरोप ट्रेड युनियन सङ्गठनहरूमाथि लाग्दै आएको छ । तर, यो नबुझेर या पूर्वाग्रह राखेर गरिएको टिप्पणी भन्न चाहन्छु । ट्रेड युनियनलाई बाधकको रूपमा हेर्नुहुँदैन । रोजगारदाता, सरकार र ट्रेड युनियन गरी त्रिपक्षीय सहमतिमा चल्ने कुरामा हामी विश्वास गर्दछौँ । श्रमिकको हकहितको कुरा गर्दै गर्दा मुलुकको हितबारे हामी उत्तिकै संवेदनशील रहन्छौँ । सहयात्रा, सहमतिमा नै विकासको ढोका खुल्छ भन्ने मान्यता हाम्रो छ । त्यसैले हामी अवरोधक होइनौँ, विकास र समृद्धिका सहयात्री हौँ ।

० यस्तो हो भने किन आलोचित छ त ट्रेड युनियन ?
– ट्रेड युनियनहरूलाई हामीले सदुपयोग गर्न सकेनौँ, नियमसङ्गत वा वैधानिक ढङ्गले अगाडि लिएर जान सकेनौँ र ट्रेड युनियनले आफ्नो आदर्श, मूल्य–मान्यताअनुसार चल्न सकेन या सरकारले पनि प्रजातान्त्रिक चरित्र प्रदर्शन गर्न सकेन होला । यस्तो अवस्थामा मात्र यस्ता आलोचना उठ्ने हुन् । यतिबेला मुलुकमा कम्युनिस्टको सरकार छ, र ट्रेड युनियनबारे सरकारले जे–जस्तो प्रतिक्रिया दिइरहेको छ, यो कम्युनिस्ट सिद्धान्तविपरीत छ । वास्तवमा प्रजातन्त्रवादीलाई नै ट्रेड युनियन आवश्यक पर्छ, विकास, शान्ति र समृद्धि सबै प्रजातन्त्रमा मात्रै निहित छ न कि कम्युनिज्ममा ।

० ट्रेड युनियनलाई यसका नेतृत्वकर्ताहरूले कमाइखाने भाँडो बनाएका छन् भन्ने आरोप पनि सुनिन्छ नि ?
– कसैले व्यक्तिगत रूपमा त्यस्तो आचरण प्रदर्शन गरेका छन् भने त्यो कतैबाट छुप्ने कुरा होइन । अरूका विषयमा म यतिबेला केही बोल्न चाहन्न । जहाँसम्म ट्रेड युनियन कङ्ग्रेसको कुरा छ, हाम्रो संस्थाले यस्तो क्रियाकलाप गर्नेबारे कल्पना गर्न सक्दैन र व्यक्तिगत रूपले मैले आफ्नो कुरा गर्ने हो भने ट्रेड युनियनको आदर्शमाथि अत्यन्त विश्वास गर्छु, प्रजातन्त्रको आदर्शमा विश्वास गर्छु र त्यही मान्यताका आधारमा चल्नुपर्छ भन्नेमा विश्वास राख्दछु । व्यक्तिगत लाभ लिन सङ्गठनलाई कसैले प्रयोग–दुरुपयोग गर्न हुँदैन भन्ने मेरो मान्यता छ । यस्तै आरोपहरू नलागून् भनेर नै हामीले सबै महाधिवेशन प्रतिनिधिहरू, सम्बन्धित अग्रज र शुभेच्छुकसँग आग्रह–अनुरोध गरेका छौँ कि यदि देशमा ट्रेड युनियनलाई विश्वसनीय, सबल, सुदृढ र व्यापक बनाउने हो भने यसका लागि एक शालीन, इमानदार, कर्मठ र विश्वासिलो नेतृत्व छान्नुपर्छ । यस्तो नेतृत्व गर्ने क्षमता हाम्रो वर्तमान अध्यक्षमा रहेको म दोहोऱ्याउन चाहन्छु । ट्रेड युनियन अधिकार भनेको मानवअधिकार पनि हो । ट्रेड युनियन कमजोर भयो भने मानवअधिकार र प्रजातन्त्र नै कमजोर हुन्छ । यस कुरालाई सम्बन्धित सबैले मनन गर्न म आग्रह गर्दछु ।

० तपाईंहरू यो महाधिवेशनमा खास के–कस्ता एजेन्डा लिएर जाँदै हुनुहुन्छ ?
– श्रमिकहरूका सबै सवालमा छलफल हुन सकोस् भनेर सबै श्रमिकका लागि संवैधानिक तवरले नै एउटा राष्ट्रिय श्रम आयोग बन्नुपर्छ भन्ने हाम्रो माग छ । अर्को कुरा सरकारले वैधानिक हडतालमाथि नै बन्देज लगाएको छ । यस्तो व्यवस्था खारेज गरिनुपर्छ भन्ने पनि हाम्रो एउटा जोडदार एजेन्डा छ । यसैगरी श्रमिकहरूले कार्यस्थलबाटै आफ्नो मतदान गर्न पाउनुपर्छ र राज्यको नीति–निर्माण गर्ने सबै तहमा श्रमिकहरूको आफ्नै प्रतिनिधित्व हुने व्यवस्थाका लागि पनि हामीले आवाज उठाएका छौँ । राज्यका तीनै तहका सरकारमा श्रमिकहरूको अभिलेखीकरण गरी परिचयपत्र दिइनुपर्छ भन्ने पनि हाम्रो अर्को एजेन्डा छ । देशका सातै प्रदेशमा श्रमिक अस्पताल खोलिनुपर्छ भन्ने पनि हाम्रो जोडदार मुद्दा रहेको छ । श्रम ऐन र सामाजिक सुरक्षा ऐन प्रभावकारी ढङ्गले कार्यान्वयन होस् ताकि श्रमिक वर्गले लाभ उठाउन सकोस् । श्रमिकको सम्मान र मर्यादाको सवाललाई पनि राज्यले सम्बोधन गर्न सक्नुपर्छ भन्ने कुरालाई हामीले मुद्दाको रूपमा उठाएका छौँ ।

० नेपाली काङ्ग्रेसको अवस्था खस्किएको बेला तपाईंहरू प्यानलवाइज नगई सहमतिबाट गएको भए सकारात्मक सन्देश जान्थ्यो कि, यसरी सोचिएन ?
– सहमति हुन सक्नु नराम्रो कुरा होइन, तर निर्वाचन भन्नेबित्तिकै त्यसलाई नकारात्मक रूपमा बुझ्नु आवश्यक छैन । कुनै पनि निर्वाचनले प्रजातान्त्रिक पद्धति र प्रक्रियालाई नै लाभ पु¥याउँछ भन्ने हामी प्रजातन्त्रवादीहरूले मनन गर्नुपर्छ ।