आचार्य समूहको जित सुनिश्चित छ

आचार्य समूहको जित सुनिश्चित छ


२०२६ सालमा स्याङ्जामा जन्मिएका तेजेन्द्रजंग कार्की ०४७ सालमा नेपाल खानेपानी संस्थानमा खुलेको युनियनको संस्थापक सदस्य हुन् । त्यसयता निरन्तर ट्रेड युनियन आन्दोलनमा सक्रिय रहँदै विभिन्न तहका जिम्मेवारी निर्वाह गरेका जुझारु स्वभावका कार्की यसपटक खुलातर्फको उपाध्यक्ष उम्मेदवारका रूपमा पुष्कर आचार्य समूहबाट मैदानमा उत्रिएका छन् ।

‘नेपाली काङ्ग्रेसको अवस्था खस्किएको बेला तपाईंहरू प्यानलवाइज नलडी सहमतिबाट नेतृत्व चयन गर्ने दिशामा गएको भए सकारात्मक सन्देश जान्थ्यो होला, किन समूह बनाएर जुध्दै हुनुहुन्छ ?’ भन्ने जिज्ञासामा श्रमिक नेता कार्कीले सवाल सान्दर्भिक रहेको स्वीकार गर्दै भने– ‘नेपाल ट्रेड युनियन कङ्ग्रेसको जन्मकालदेखि आजसम्मको लामो यात्रामा सहमतिबाट नेतृत्व चुनिएको उदाहरण नभएकोले यसपटक हुन लागेको दुई समूहको चुनावलाई पनि अनौठो रूपमा लिनु आवश्यक छैन ।’

उनले अगाडि थपे– ‘नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था भएकोले यसरी समूहमा विभक्त भई चुनावी प्रतिष्पर्धा गर्दा यसको प्रभाव पार्टीमा त पर्छ नै, तर स्वस्थ चुनाव भएमा खास दुष्प्रभाव रहँदैन भन्ने लाग्छ । विजयी बन्नेले अर्को पक्षलाई सम्मानपूर्वक साथ लिएर अघि बढ्ने नीति अवलम्बन गर्नुपर्छ, ता कि संस्थाको उद्देश्य र गरिमामा आँच नपुगोस् । काङ्ग्रेस पार्टीले पनि ‘नेपाल ट्रेड युनियन कङ्ग्रेस’भित्र अस्वस्थ चलखेल बढाउनुहुन्न, नेताहरूले त्यस्ता विकृत खेलमा आफूलाई संलग्न गराउनु हुँदैन भन्ने मेरो प्रस्ट धारणा छ ।

पुष्कर आचार्य समूहबाट खुलातर्फको उपाध्यक्ष लड्दै गरेका उनलाई ‘यसपटक हुने निर्वाचनबाट प्यानल–प्यानल नै जितेर आउला कि उम्मेदवारको व्यक्तित्वका आधारमा छ्यासमिस भएर नेतृत्व छानिएला ?’ भन्ने सवाल गरियो । जवाफमा उनी भन्छन्– ‘चितवनमा विगतमा सम्पन्न एकता महाधिवेशनले जुन लक्ष्य बोकेको थियो, उक्त महाधिवेशनले दिएको सन्देशअनुसारको नेतृत्व वर्तमान नेतृत्वले गर्न नसकेको आमनेपाल ट्रेड युनियन कङ्ग्रेस सदस्यहरूले महसुस गरेका छन् । यस आधारमा भन्नुपर्दा वरिष्ठ श्रमिक नेता पुष्कर आचार्यको समूह नै विजयी बन्ने निश्चित छ भनी बुझ्दा हुन्छ ।’