ट्रम्पको अभिव्यक्तिले संसार मुग्ध

ट्रम्पको अभिव्यक्तिले संसार मुग्ध


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा वाक्यले यतिबेला विश्वभरका मानिसको मन जितेको छ । उनले भनेका छन्– ‘युद्ध त जसले पनि गर्न सक्छ, तर अत्यन्त साहसीहरूले मात्र शान्ति ल्याउन सक्छन् ।’ (Anyone can make war, only the most courageous can make peace)

कहिल्यै मिल्न नसक्ने ठानिएका महाशक्तिराष्ट्र अमेरिका र उत्तर कोरियाबीच हिजो मंगलबार भएको शिखरवार्तापछि विश्व तरङ्गित भएको छ । लगभग एक वर्षदेखि दुवै देशले एकअर्कालाई युद्धको धम्की दिए, अशिष्ट भाषा प्रयोग गरेर व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रन समेत पछि परेनन् राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उन । तर, सिंगापुरको सान्तोसा टापुस्थित क्यापिला होटलमा दुई नेताबीच भएको लगभग पौने घण्टाको भेटवार्ताले माहोल पूरै उल्टाइदिएको छ । गाली र घृणाका बोली वर्षाउँदै आएका नेताहरूले संसारलाई नै मोहित तुल्याउने प्रेम र शान्तिका वाणी बोल्न थालेका छन् । माथि उल्लिखित राष्ट्रपति ट्रम्पको अभिव्यक्ति यसैको एउटा उदाहरण हो ।

‘म प्रफुल्ल महसुस गरिरहेको छु, हामीबीच शानदार कुराकानी हुनेवाला छ र मलाई लाग्छ कि यो भेटघाट जबर्जस्त रूपमा सफल बन्नेछ र हामीबीच राम्रो सम्बन्ध स्थापित हुनेमा मलाई कुनै शङ्का छैन’ भन्दै ट्रम्प वार्ताको लागि तोकिएको स्थानमा प्रवेश गरेका थिए । त्यहीबेला मुस्कुराउँदै हात हल्लाएर किमले पनि सुखद् घडी निम्तिँदै गरेको सन्देश प्रवाहित गरिदिए ।

वहुप्रतिक्षीत एवम् सर्वव्यापी चासो र चर्चायुक्त शिखरवार्तापछि राष्ट्रपति ट्रम्पले भने– ‘किम र मबीच बेग्लै नाता जोडिएको महसुस गरेको छु । वास्तवमा उनी निकै प्रतिभाशाली छन् र आफ्नो देशलाई निकै माया गर्छन् । मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ ।’ अमेरिकी राष्ट्रपतिबाट यस लवजमा अभिव्यक्ति आउनु कम महत्वको विषय नभएको विश्लेषकहरूको टिप्पणी छ ।

अमेरिकाले औंल्याउँदै आएको परमाणु निशस्त्रीकरणको मुद्दामा दुई नेताले कुराकानी गरे । भेटवार्तापछि दुवैले द्विपक्षीय तनाव घटाई आपसी सम्बन्धमा व्यापक सुधारका लागि एक महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर गरेका छन् । उक्त दस्तावेजमा कोरियाली प्रायद्वीपमा परमाणु निशस्त्रीकरण तथा द्विपक्षीय सम्बन्धमा सुधार ल्याउने प्रतिबद्धता जनाइएको छ ।

ध्यानयोग्य यो छ कि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट सम्पूर्ण परमाणु निरस्त्रीकरण गरिनुपर्ने जिकीर गरेका छन् । परमाणु निरस्त्रीकरण गरिएको पुष्टि हुनुपर्ने र यो सदाका लागि हुनुपर्ने अमेरिकाको सर्त छ । साथै कोरियाली प्रायद्वीपमा स्थायी शान्तिको माग पनि उसले गरेको छ ।

उत्तर कोरियाले आफ्ना मिसाइल परीक्षण अड्डाहरू नष्ट गर्न शुरु गरिसकेको अभिव्यक्ति किम जोङ उनले दिएको पनि ट्रम्पले बताएका छन् । यसका बाबजुद उत्तर कोरियामाथिको अमेरिकी प्रतिबन्ध भने अहिले नै हट्ने छैन, त्यहाँ मानवअधिकारको अवस्थामा व्यापक सुधार भएपछि मात्र सो कदम चालिने बताइएको छ ।

स्वदेश फर्कनुअघि सञ्चारकर्मीहरूले राष्ट्रपति ट्रम्पलाई सोधेका थिए– ‘तपाईंले उत्तर कोरियालाई बर्बाद पार्ने अभिव्यक्ति किन दिनुभएको थियो ?’ उनको जवाफ थियो– ‘त्यतिबेलाको हिसाबले मेरो सो अभिव्यक्ति उचित नै थियो ।’

तस्बिर एएफपी