चीन र भारत भ्रमणको तयारीमा प्रचण्ड

चीन र भारत भ्रमणको तयारीमा प्रचण्ड


नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छिमेकी देश भारत र चीन जाने भएका छन् । आज मंगलबार भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफू विकासको एजेन्डा लिएर दुई छिमेकीको भ्रमणमा जान लागेको जानकारी दिए ।

आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको एजेन्डा लिएर भारत भ्रमण गर्न निम्ता दिएकाले आफू त्यसको तयारीमा रहेको उनले बताए । मोदी काठमाडौं आएका बेला आफूलाई भारत भ्रमणमा बोलाएको भन्दै प्रचण्डले भने, ‘भारतीय प्रधानमन्त्रीले एकपटक विकासको एजेन्डामा मात्र कुरा गर्न समय मिलाएर आउनुस् भन्नुभएको छ र म जाने तयारीमा छु ।’

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि आफू पनि चीन जाने बताए । प्रधानमन्त्री फर्केपछि पार्टी अध्यक्षको हैसियतमा चीन आउन आफूलाई बोलाइएको भन्दै उनले चीन जाने बताएका हुन् । ‘प्रधानमन्त्री चीन भ्रमण जाँदै हुनुहुन्छ । उहाँको चीन भ्रमण सकिएपछि पार्टी अध्यक्षको हैसियतमा तपाईं पनि तयारी गर्नुस् भनेर चिनियाँ कम्युनिस्ट पार्टीको निम्ता आई नै सकेको छ,’ प्रचण्डले सो अवसरमा बताए ।

नेपालमा भारत र चीनले एक–एकवटा ऐतिहासिक योजना निर्माण गरुन् भन्ने एजेण्डा लिएर ती देशको भ्रमणमा जान लागेको बताए ।