निर्यातजन्य वस्तुको अभावमा विदेशी वस्तुको भर पर्दा व्यापार घाटा चुँलिदो

निर्यातजन्य वस्तुको अभावमा विदेशी वस्तुको भर पर्दा व्यापार घाटा चुँलिदो


निर्यातजन्य बस्तु निकै कम हुनु र विदेशमा उत्पादित सामग्रीको भर पर्नुपर्ने बाध्यताले व्यापार घाटा चुलिँदो छ । राष्ट्र बैंकले जारी गरेको १० महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार व्यापार घाटा नौ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो ।
आघिल्लो आर्थिक बर्षको तुलनामा यस बर्षको पहिलो १० महिनामा व्यापार घाटा बढेको छ ।

चालु आर्थिक बर्षको बैशाख महिनासम्म मुलुकले ९ खर्ब १९ अर्ब रुपैयाँको व्यापार घाटा भोग्न बाध्य छ । जुन गत आर्थिक बर्षको तुलनामा २ अर्ब बढि हो । चालु आर्थिक बर्षको पहिलो नौ महिनाको अवधिमा ८ खर्ब १६ अर्ब ५५ करोड बराबरको व्यापार घाटा पुगेकोमा अर्को एक महिनाको अवधिमा झण्डै एक खर्ब बढि व्यवभार थपिएको नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताए । उनका अनुसार सार्वजनिक गरिएको आर्थिक तथा वित्तीयस्थिति अनुसार मुलुकको व्यापार घाटा गत वर्षको सोही अवधिको भन्दा २२ दशमलव ९ प्रतिशतले बढेर नौ खर्ब १९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । ‘गत आर्थिक वर्ष ०७३–७४ को कुल व्यापार घाटा नौ खर्ब १७ अर्ब ६ करोड रहेको छ ।’ उनले भने, ‘१० महिनाको अवधिमा कुल वस्तु निर्यात ९ दशमलव २ प्रतिशतले बढेर ६६ अर्ब ६५ करोड पुगेको छ भने कुल वस्तु आयात २१ दशमलव ९ प्रतिशतले बढेर नौ खर्ब ८५ अर्ब ८३ करोड पुगेको छ ।’

यस्तै, मुलुकको व्यापार घाटा तीव्र रुपमा बढेको अवस्थामा निर्यातको अनुपात गत वर्षको भन्दा कम भएको छ । १० महिनामा कुल वस्तु निर्यात ९ दशमलव २ प्रतिशतले बढेर ६६ अर्ब ६५ करोड पुगेको छ ।

गत वर्ष सोही अवधिमा यस्तो निर्यात ९ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा कुल वस्तु आयात २१ दशमलव ९ प्रतिशतले बढेर नौ खर्ब ८५ अर्ब ८३ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार भारततर्फको निर्यात ७ दशमलव १ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ८७ दशमलव ४ प्रतिशतले बढेको छ । यस अवधिमा अलैँची, जुटको बोरा, पोलिस्टर यार्न, धागो, अदुवा, लगायत वस्तुको निर्यात बढेको हो ।