अस्ट्रेलियाबाट बिन्दुको गुन्जन- ‘भन् त ओई सुन्तली’

अस्ट्रेलियाबाट बिन्दुको गुन्जन- ‘भन् त ओई सुन्तली’


राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपाली गीत-संगीतको क्षेत्रमा उदीयमान प्रतिभाको रूपमा चिनिएकी गायिका बिन्दु पौडेलको तिजगीत ‘भन् त ओई सुन्तली’को छायांकन अस्ट्रेलियामा सम्पन्न गरिएको छ।

रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा छायाङकन गरिएको उक्त गीतको निर्देशन विजय थापाले गरेका छन्। आउँदै गरेको हरितालिका तिजको अवसर पारेर बजारमा ल्याउन लागिएको सो गीतमा बिन्दु पौडेलको स्वर र शिव हमालको लय तथा शब्द रहेको छ।

यसअघि बल्ल पर्यौ फेला, तिमी मेरो मुटु हौ धडकन हौ, तिजमा छम छम नाच मायालु, सौह र सत्रकी, तिम्रो र मेरो जोडि मिल्छ रे, लगायतका गीतहरूमा स्वर दिइसकेकी गायिका बिन्दुले सात वर्षको अन्तरालपछि यो गीत बजारमा ल्याएकी हुन् । उनी लामो समयदेखि सिडनीमा बस्दै आएकी छिन् ।

सानैदेखि कलाकारिताको क्षेत्रमा विशेष अभिरूचि राख्दै आएकी बिन्दु पौडेलले बाध्यतामा हामी छुटेको, तिमी मेरो मुटु हौ धडकन हौ, बल्लपर्यौ फेला आदिमा नायिकाको रूपमा समेत आफूलाई उभ्याएकी थिइन् । नेपालमा रहँदा दर्जनौँ म्युजिक भिडियोमा निर्देशन तथा अभिनय गरेका निर्देशक विजय थापाले यस गीतको निर्देशन गर्न पाउँदा फरक खालको अनुभूति भएको बताए ।

स्मरण रहोस्, विगत पाँच वर्षदेखि अस्ट्रेलियालाई कर्मभूमि बनाएर गीत-संगीतको क्षेत्रमा निरन्तर लागिपरेकी गायिका बिन्दुले अब आउने हरेक वर्ष नयाँ गीति सिर्जना लिएर दर्शक स्रोतामाझ आउने बताएकी छिन्।। लक्ष्मण सापकोटा र विकास सेढाईको निर्माण संयोजन तथा अंकित केसीको छायांकन रहेको यस गीतमा मुख्य नायिकाको रूपमा प्रतिमा थापा बस्नेतले अभिनय गरेकी छन् ।