तेस्रो नजर

तेस्रो नजर


pathakmanchसरकार छोडेपछि तीन हजार डलरको डिङ
मुलुकमा हुन लागेको भावी चुनावबारे अहिले निकै चर्चा-परिचर्चा चलिरहेको छ । सरकारले अहिलेसम्म निर्वाचनको मिति तय गर्न सकेको अवस्था छैन, तथापि राजनीतिक दलका नेताहरू चुनावको माहोल बनाउन गाउँ-गाउँ पुगेर जनतालाई आफ्नो पक्षमा पार्न कम्मर कसेर लागेका छन् । एक पार्टी अर्को पार्टीको धज्जी उडाउने खेलमा तल्लीन देखिएका छन् । एकले अर्कोलाई अशोभनीय तरिकाले गालीगलौज गरेर आफ्नो पक्षमा जनमत आउँछ भनेर सोच्नु भनेको मूर्खतासिवाय केही होलाजस्तो लाग्दैन । जनताको भावना र मन जित्न जनताको पक्षमा काम गर्न सक्नुप-यो, लाखौँ नेपाली युवा आफ्नो परिवार त्यागेर विदेशी भूमिमा पसिना बेचिरहेका छन्, यसमा भने कसैको ध्यान पुगेको छैन ।
विदेशी भूमिमा, उनीहरूको दर्दनाक पीडा र समस्याबारे खै त नेपाली नेताको चासो र उनीहरूको वास्तविक समस्यालाई प्राथमिकतामा राखेको ? नेपाली नागरिक विश्वको जुनसुकै मुलुकमा पनि गरिबीको कारणबाट हेपिने, श्रम शोषणमा पर्ने, उनीहरूको कुनै कुरा सुनुवाइ नहुनेजस्ता विकराल समस्याको बाबजुद उनीहरू काम गर्न बाध्य छन् । तर, खै त उनीहरूको हकअधिकारका लागि सरकारले बनाएको वैदेशिक नीति, श्रमनीति आदि ? केवल नेपालका म्यानपावर कम्पनीलाई सरकारले नै पैसा र पावरको भरमा ठगी खाने लाइसेन्स दिएको छ जसले गर्दा युवाहरू ठगिन बाध्य छन् । नेपाल सरकार यति लाचार छाया बनेको छ जहाँ विदेशी भूमिमा के समस्या छ, उनीहरूको कामको अवस्था र सुरक्षा स्थिति कस्तो छ भन्नेबारेमा उसलाई कुनै सरोकार भएको देखिँदैन ।
अहिले विशेष रूपमा खाडी मुलुकमा आउनेहरूका लागि प्रमुख समस्या भिसाको देखिएको छ । यहाँबाट आफूले काम गर्ने कम्पनीमार्फत आफ्नो मान्छेका लागि भिसा निकालेको हुन्छ तर नेपाल सरकारको परिभाषामा आफ्नो ज्वाइँ, भतिज, भाञ्जा, सालालगायत अन्य नजिकको सम्बन्धलाई समेत नाता नपर्ने भनेर उल्लेख गरेको हुँदा उनीहरूको भिसा निष्क्रिय भएको छ र उनीहरू यहाँ आउन सक्दैनन् । आफ्नो साला, ज्वाइँ, भाञ्जा, भतिजलगायत अन्य नजिकको नातालाई नाता मानिँदैन भने कुनचाहिँ नाता पर्दछ यसबारे स्पष्ट नीति हुनु जरुरी छ । यस्तो अव्यावहारिक र आफ्नो नागरिकलाई नै अप्ठ्यारो हुने किसिमको नीति बनाउनु के सरकारको नागरिकप्रतिको सदासयता हो त ? होइन भने यस्तो अव्यावहारिक नीति र कानुनलाई परिमार्जन गरी विदेशमा बस्ने नेपालीका लागि सरकार किन सहयोग गर्न आँखा चिम्लेर बसेको छ ? आखिर भिसा निस्केपछि जसरी भए पनि सम्बन्धित व्यक्ति म्यानपावरमार्फत दलाललाई पैसा खुवाएर आउने गर्दछ । सरकारको यो नीतिले झन् म्यानपावर कम्पनी र दलाललाई प्रत्यक्ष रूपमा फाइदा हुने काम गरिदिएको छ । विदेशमा बस्ने र काम गर्ने नेपालीका लागि सरकार किन स्पष्ट नीति लिएर कार्यान्वयन गर्न सक्दैन । जुन व्यक्तिगत भिसाको विषय छ यसलाई तुरुन्त परिमार्जित गरेर विदेशमा बस्ने नेपाली नागरिकको वास्तविक समस्यालाई बुझ्नु जरुरी छ । यो विषयले निकै नेपालीलाई हैरानी र दुःख दिएको अवस्था छ ।
नेपालका नेताहरू केवल कागज र भाषणमा मात्र नागरिकको हकहितबारे कुरा गर्छन् । विदेश आउँछन्, घुम्छन्, सबैथोक हेर्छन् तर विदेशमा भएको विकास, यहाँको कानुन र अन्य देशका जनताको आर्थिक विकासजस्ता जनताको प्रत्यक्ष सरोकार राख्ने कुराको विषयमा नेपाल फर्केपछि उनीहरूको सोचाइ र कल्पनामा समेत पर्दैन । उनीहरूको त्यो भ्रमणले नेपालका लागि कुनै फाइदा दिनेभन्दा पनि आफ्नो व्यक्तिगत आनन्दभन्दा अरू केही हुन सकेन । सरकारमा आफू बसुन्जेल माखो मार्न नसकेका बाबुराम भट्टराई सरकारबाट बाहिरिएपछि अहिले आएर प्रतिव्यक्ति आय तीन हजार डलर बनाउँछु भनेर हुङ्कार छोड्दै छन् । यस्ता झुटा आश्वासन र भ्रममा पारेर फेरि कुनै पार्टीले आफ्नो पक्षमा प्रभाव पारुँला भनेर सोच्नु भ्रमपूर्ण नै हुनेछ ।
– चित्र केसी (सभापति, नेपाली जनसम्पर्क समिति यूएई)

विचारोत्तेजक एवम् दीर्घप्रभावी विश्लेषण
घटना र विचार साप्ताहिकमा प्रकाशित देवप्रकाश त्रिपाठीको ‘डा. बाबुरामलाई जम्मा एउटा सुझाव’ शीर्षकको लेख साह्रै चित्त बुझ्यो । संविधानसभापश्चात्को माओवादी परिणाम र डा. बाबुराम भट्टराईको त्यतिबेला हुने राजनीतिक हैसियतको अवस्थाबारे तपाईंको गहन विश्लेषणसहितको यस लेखले देशको भविष्य उज्ज्वल देख्न चाहने जोकोहीलाई पनि सोच्न बाध्य बनाउँछ कि राजनीतिमा सफल व्यक्ति सत्तामा कि समाजनीतिमा सफल व्यक्ति सत्तामा ? आखिर डा. बाबुराम भट्टराईका पनि आप्mनै धेरै समस्या तथा कमी-कमजोरी होलान् नै तथापि यहाँले विश्लेषण गर्नुभएजस्तो डा. बाबुराम भट्टराईलाई नेपाली जनताले सामान्य अवस्थामा प्रधानमन्त्री बनाउन अझै पनि नचाहेका होइनन् । तर, देशको अवस्था र परिस्थिति तथा माओवादी राजनीतिक एजेण्डाका कारण अझै पनि कुशल व्यक्तिहरू माओवादीबाट पलायन हुने वा पछाडि पर्ने अवस्था विद्यमान छ जसको सिकार डा. भट्टराई पनि भएको सजिलै देख्न र अनुभूत गर्न सकिन्छ । राष्ट्र निर्माणका सवालमा यहाँका यस्तै विचारोत्तेजक एवम् दीर्घप्रभावी विश्लेषणहरूको प्रतीक्षामा प्रस्तुत लेखका लागि हार्दिक बधाई ।
– बीके पाल्पाली