२१ बर्षपछि शेयरधनीलाई लाभांश बाँड्ने तयारीमा नेपाल बैंक

२१ बर्षपछि शेयरधनीलाई लाभांश बाँड्ने तयारीमा नेपाल बैंक


नेपाल बैंकले शेयर धनीलाई लाभांश बाँड्ने भएको छ । सञ्चित घाटा सकिएको भन्दै बैंकले दुई दशकपछि शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो । २१ बर्षसम्म आफ्ना शेयरधनीलाई कुनै लाभांश बाँड्न नसकेको नेपाल बैंक लिमिटेडले अब लाभांश दिने जनाएको छ ।

प्रस्तावित एक करोड ७६ लाख कित्ता थप नयाँ साधारण शेयर (एफपीओ) बिक्रीबाट शेयरधनीलाई ३२ प्रतिशत बोनस शेयर दिन सकिने बैंकले जनाएको छ । प्रधान कार्यालय न्युरोडमा पत्रकार सम्मेलन गरी बैंकले एफपीओपछि सरकारको हिस्सेदारी ५१ प्रतिशतमा सीमित हुने र बैंक अरु सबल भएर जाने बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले जानकारी दिए । ‘आगामी बर्षबाट लाभांश वितरण गर्न सकिने अवस्थामा हामी छौं ।’ उनले भने, ‘बैंकको शेयर मूल्य अहिले दोस्रो बजारमा प्रति कित्ता ३०८ रुपैयाँ छ ।’ उनले बैंकको एकुमुलेटेड नोक्सान लगभग जिरो विन्दुमा पुगेको र बैंकको नाफाको आकार पनि बढ्दै गएकाले लाभांश बाँड्न सकिने अवस्थामा पुगेको जानकारी दिए । बैंकले जारी गर्न लागेको एफपिओले आर्थिक स्थिति अझै मजबुत हुने र एफपिओबाट बैंकलाई १७६ करोड रुपैयाँ शेयर पूँजीमा र ३१६ करोड संचित कोषमा थपिने आशामा बैंकका प्रमुख कार्यकारी अधिकृत शाह रहेका छन् ।

यस्तै, बैंकले आफ्ना शाखाहरुमध्ये यसै बर्ष २५ वटा शाखाहरुलाई स्मार्ट शाखाको अबधारणा अनुरुप चलाउने र ग्राहकहरुलाई बैंकिङ क्षेत्रमा नयाँ स्वाद दिने नेपाल बैंकले योजना बनाएको छ । यसका साथै बैंकले यसै बर्ष २५ अतिरिक्त स्थानमा शाखा स्थापना गरी मुलुकभरी शाखाको संख्या १६० पु¥याउने र आगामी दुई बर्षमा २०० बढि शाखा पु¥याउने लक्ष्य लिएको छ ।

नेपाल राष्ट्र बैंकले तोकेअनुसारको चुक्ता पूँजी ८ अर्ब पु¥याउने दोस्रो बैंक नेपाल बैंकले विगत तीन बर्षमा ५० अर्बबाट ८० अबै कर्जा पु¥याएको छ । यस अवधिमा बैंकले खुद व्याज आम्दानी एकसय ९ प्रतिशतबाट बढाएर ४ सय ५९ करोड पु¥याएको हो । बैंकले असार मसान्तसम्म ६ अर्ब आम्दानी गर्ने जनाएको छ । बैंकसँग अझैपनि १५ अर्बको अचल सम्पति र चार अर्ब रुपैयाँको विभिन्न कम्पनीका शेयर रहेको छ । नेपाल बैंकले नियमित आम्दानीको अनुपात बढाउँदै लगेको छ । बैंकले आफ्नो ७५ करोड सावाँ लगानी रहेको पोखराको फूलवारी रिसोर्टको २० बर्ष पुरानो कर्जा असुलीको क्रममा रहेको भन्दै होटल बिक्री हुनासाथ रकम आउने र त्यसलाई एकमुष्ठ नाफामा देखाउँन सकिने जनाएको छ ।