नेपाली चलचित्र ‘द ब्रेक अप’को सुटिङ अष्ट्रेलियामा

नेपाली चलचित्र ‘द ब्रेक अप’को सुटिङ अष्ट्रेलियामा


राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

चलचित्रको सुटिङको लागि एकैपटक कलाकार, प्राविधिक र निर्माता गरेर नौ जना अष्ट्रेलिया आउने भएका छन् । नेपाली चलचित्रको छायांकनका लागि यति ठूलो यूनिट नेपालबाट अष्ट्रेलिया आउन लागेको यो पहिलोपटक हो । एस पिपल एजुकेशन एण्ड भिसा सर्भिससेसले भिसा प्रकृया अगाडि बढाएको थियो। यो संस्थाले यस अघि पनि सांगितिक कार्यक्रमका लागि कलाकारहरूको जम्बो टोलीको भिसामा सफलता हात पार्दै आएको थियो ।

चलचित्र ‘द ब्रेकअप’ को छायांकनका लागि नेपालबाट निर्देशक हेमराज बिसी, छायांकार नरेन्द्र मैनाली, कलाकारहरू आशिरमान देशराज जोशी, शिल्पा मास्के र सलोन बस्नेतको साथमा निर्माताहरू रोहित अधिकारी, रेनु थापा, दिपक खतिवडा र रूपक थापा अष्ट्रेलिया आउने भएका छन् ।

‘अष्ट्रेलियामा चलचित्रको छायांकन गर्न चाहने नेपाली चलचित्र यूनिटमाथि अष्ट्रेलियन सरकारले विश्वास गरेको छ । यो हामी सबैका लागि खुशीको कुरा हो,’- एस पिपल एजुकेशनका रोशन भट्टराईले भने ।

यो चलचित्रको अष्ट्रेलिया छायांकनको चाँजोपाँजो भने सविन ज्ञवाली फिल्म एण्ड टिमका निर्दैशक सविन ज्ञवालीले मिलाएका हुन् । उनले आगामी दिनमा देशका अन्य चलचित्रकर्मीहरू पनि छायांकनका लागि अष्ट्रेलिया आउन लागेको जानकारी दिए । एस पिपुल एजुकेशनका रोशन भट्टराईले जानकारी दिएअनुसार यो चलचित्रको यूनिट जुन २५ तारेखका दिन सिड्नी आउने छ भने सो चलचित्रको यहाँ एक महिना छायांकन हुने छ ।

आफ्नो चलचित्रको सुटिङ अष्ट्रेलियामा गर्ने योजना सफल भएकोमा चलचित्रका निर्माता रोहित अधिकारी पनि कम दङ्ग छैनन्, ‘के हो ला के होला भन्ने त्रास थियो, तर अब त्यो दुविधा रहेन । हामी नयाँ जोश र जाँगरका साथ आउँदै छौ’- चलचित्रका निर्माता रोहित अधिकारीले नेपालबाट भने ।