अवगालबाट बच्ने कि न्याय-निसाफ हेर्ने ?

अवगालबाट बच्ने कि न्याय-निसाफ हेर्ने ?


– गोपाल पराजुली

पुनरावेदन अदालत पाटनमा रहँदाखेरी हेरेका मुद्दाहरूमध्ये निकै चर्चा भएको एउटा मुद्दा थियो– रत्नलाल कनौडियाको मुद्दा । रत्नलाल कनौडिया सरकारी वकिल थिए । वरिष्ठ सरकारी अधिवक्ता । २०३३ सालतिर कार्यालयकै एकजना टाइपिष्ट महिलासँगको सम्बन्धबाट गर्भ रहन गई छोरीको जन्म भएछ । उनका उपर बहुविवाह र अंश मानाचामल मुद्दा दायर भयो । वहुविवाह मुद्दाचाहिँ हदम्याद नाघी दायर भएको कारण जनाई काठमाडौँ जिल्ला अदालतबाट तामेलीमा राखेको रहेछ, अंश मानाचामल मुद्दामा भने कार्यवाही अघि बढ्यो । कनौडियालाई कारवाही हुनुपर्छ भनी महिलाहरूले खुब आवाज उठाएका थिए ।

विशिष्ठ श्रेणीको वरिष्ठ सरकारी अधिवक्ताको पदमा का.मु. भइरहेकोले कार्यालयकै कर्मचारीसँग अनुचित सम्बन्ध राखी कार्यालयमा दुराचार गरेको आरोप उनलाई लाग्यो । घटनाको विशेष प्रहरी विभागबाट जाँजबुझ भयो र तत्कालीन सरकारले भविष्यमा सरकारी नोकरीको निमित्त समेत अयोग्य ठहरीने गरी उनलाई नोकरीबाट बर्खास्त गर्ने निर्णय समेत गरेको थियो । तर उक्त निर्णयउपर परेको उत्प्रेषणको रिट निवेदन सर्वोच्च अदालतको फुलबेन्चबाट खारेज भएको थियो ।

रत्नलाल कनौडिया आफैँमा निकै प्रवुद्ध र प्रवीण व्यक्ति थिए । करसम्बन्धी विषयमा विशेष उनको दख्खल थियो । त्यतिवेला कर र बाणिज्यसम्बन्धी विषयका आधिकारिक व्यक्ति नै थिए उनी । नेपाल र अन्तर्राष्ट्रिय क्षेत्रका वित्तीय अभ्यासहरूका बारेमा जानकार थिए । अध्ययन र ज्ञानको क्षेत्रमा यस्ता सवल पक्ष हुँदाहुँदै ती महिला कर्मचारीसँगको विवाहेत्तर सम्बन्ध उनको कमजोरी बन्न पुग्यो ।

ती महिलाले विशेष जाहेरी विभागमा कनौडियाउपर नाता कायम गरी मानाचामल तथा अंश दिलाइदिनु भन्ने हुकुम प्रमाङ्गी पाऊँ भनी निवेदन दिइछन् । सोझै अञ्चल अदालतबाट फिराद लिएर सुनिदिनु भन्ने जाहेरी विभागको २०३३/५/९ को हुकुम प्रमाङ्गी बमोजिम मुद्दा चल्यो ।

‘लोग्ने–स्वास्नी सम्बन्ध नै कायम नभएकोले वादी–प्रतिवादी अंशियार देखिन आएनन् । वादीले प्रतिवादीबाट अंश मानाचामल भराइपाउने ठहर्दैन’ भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतबाट २०४५/३/२८ मा फैसला भयो । त्यो फैसलाउपर क्षेत्रीय अदालतमा परेको पुनरावेदन निवेदन पाटनमा सरेर आयो । पुनरावेदन अदालत पाटनबाट २०४९/१०/२० मा अंशको तायदाती माग गर्ने आदेश भयो ।

सरकारी वरिष्ठ अधिवक्ता कनौडिया र टाइपिष्ट महिलासँगको सम्बन्धबाट गर्भ रहन गई छोरीको जन्म भएछ । ती महिलाले विशेष जाहेरी विभागमा कनौडियाउपर नाता कायम गरी मानाचामल तथा अंश दिलाइदिनु भन्ने हुकुम प्रमाङ्गी पाऊँ भनी निवेदन दिइछन् ।

वादी–प्रतिवादी दुवै तर्फबाट सम्पत्तिको विवरण पेश भइसकेकाले अब मुद्दामा फैसला गर्नुपर्ने थियो । तर त्यो मुद्दा कसैले हेर्न चाहँदैन थिए । मूख्य न्यायधीश इन्द्रराज पाण्डेको निष्ठा, न्याय सम्पादनप्रतिको दृढता, न्यायिक निष्पक्षतामा कसैले प्रश्न उठाउन सक्दैनथे । तर उहाँले पनि उक्त मुद्दा हेर्न चाहनुभएन । कारण थियो– रत्नलाल कनौडियासँग उहाँले सँगै जागिर खाएको अनि जग्गाको साँध–सीमाना पनि जोडिएको ।

दोस्रो सिनीयर न्यायाधीश हुनुहुन्थ्यो ज्ञाइन्द्र बहादुर श्रेष्ठ । तर उहाँलाई पनि पेशी चढेको दिन कहिले विसञ्चो हुन्थ्यो त कहिले काम विशेष भनी बिदा बसिदिने गर्नुहुन्थ्यो । एकदिन मूख्य न्यायाधीशले गफगाफका क्रममा भन्नुभयो– ‘हेर्नुस्, रत्नलालको मुद्दा सिनीयरले पो हेरिदिनुपर्छ त । मैले पटक–पटक इजलास राख्न खोजेँ । तर त्यो दिन कोही बिदा बसिदिने, कसैले कुनै सामाजिक काम देखाउने, यसरी त गाह्रो पो भयो ।’

त्यसपछिको सिनीयर न्यायाधीश कृष्णप्रसाद उपाध्याय हुनुहुन्थ्यो जस्तो लाग्छ । उहाँले पनि उक्त मुद्दा हेर्न चाहनुभएन । अनि अर्का न्यायाधीश रामप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । उहाँले पनि हेर्न नचाहने ।

खासमा रत्नलाल कनौडियाको सबैसँग सौहार्दपूर्ण सम्बन्ध थियो । कसैसँग सँगसँगै जागिर खाएको, कसैसँग सँगसँगै प्रमोसन भएको, कसैको अन्तर्वार्ता लिएको । त्यहाँ माहोल नै यस्तो थियो कि उक्त मुद्दा हेर्न सबैले इन्कार गर्थे । मुद्दा हेर्नबाट पन्छिन कोशिस गर्थे । उक्त मुद्दामा गाल र अपगाल सँगसँगै न्यायाधीशको कर्म र धर्म गाँसिएको थियो ।

अन्ततः ध्रुवनाथ उपाध्याय र मेरो इजलासमा त्यो मुद्दा पर्यो । ३–४ दिनसम्म वहश भयो । त्यतिबेलाका चर्चित वकिलहरूले जोडतोडले वहस गरे । जब एकदिन सुनुवाइकै क्रममा उपस्थित ती महिला र छोरीलाई इजलासमा देखियो । हामी अचम्भित भयौँ कि बालिकासँग कनौडियाको अनुहार दुरुस्तै मिल्थ्यो । अनुहार हेरेरै बाबु चिन्न सकिने । त्यस्तो मिल्ने अनुहार मैले अहिलेसम्म देखेको छैन । डीएनए परिक्षणको प्रविधि आइसकेको थिएन । पितृत्वको ठेगाना आमाको भनाईबाट यकीन गर्नुपर्ने हाम्रो न्यायिक मान्यता र पद्धति थियो । पितृत्वको कुरा सधैं अनुमानमै आधारित हुने र त्यस सम्बन्धमा अन्यथा प्रमाणित नभएसम्म आमाले भनेको कुरालाई साँचो मान्नुपर्ने भनी बच्ची विष्टविरुद्ध कविन्द्रबहादुर भएको (ने.का.प. २०३४ पृष्ठ १३८) र वाङदेलविरुद्ध जानु तामाङ्नी भएको (ने.का.प. २०४५ पृष्ठ १२७ को) मुद्दामा प्रतिपादित नजीर पनि थियो । गर्भ कसको भनी निश्चित गर्न सक्ने क्षमता र हक महिलासँगै हुन्छ भन्ने खालका न्यायिक अभ्यास र नजीरहरू थिए ।

खासमा रत्नलाल कनौडियाको सबैसँग सौहार्दपूर्ण सम्बन्ध थियो । कसैसँग सँगसँगै जागिर खाएको, कसैसँग सँगसँगै प्रमोसन भएको, कसैको अन्तर्वार्ता लिएको । त्यहाँ माहोल नै यस्तो थियो कि उक्त मुद्दा हेर्नबाट  सबै पन्छिन कोशिस गर्थे । उक्त मुद्दामा गाल र अपगाल सँगसँगै न्यायाधीशको कर्म र धर्म गाँसिएको थियो ।

कानून व्यवसायीका रूपमा नवलपरासीमा रहँदा मैले यस्तै मुद्दामा केही फिराद लेखेको थिएँ । ती नजीरहरूको अध्ययन गरेको थिएँ । नाता कायमसम्बन्धी नजीरहरू मलाई कण्ठस्थै थियो । त्यो अध्ययनले मलाई उक्त मुद्दामा सहयोग पनि भयो ।

रत्नलाल कनौडिया त्यतिबेलाका भावी प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिँहको नजिक थिए भन्ने गरिन्थ्यो । सुरेन्द्रप्रसाद सिँह आफ्नो भनाईमा अडिग र अलिक हठी व्यक्ति हुनुहुन्थ्यो । एकदिन रामप्रसाद श्रीमानले ‘जाउँ, हुनेवाला प्रधानन्यायाधीशलाई भेटौँ’ भनी प्रस्ताव गर्नुभयो । हामी चावहिलस्थित उहाँको निवास पुग्यौँ । सेतै कपाल भएका कनौडियालाई भावी प्रधानन्यायाधीश सिँह सँगसँगै बसिरहेको देख्यौँ ।

सुरेन्द्र श्रीमानले उक्त मुद्दामा यसै गर्नु भनेर हामीलाई सिधै केही त भन्नुभएन तर लाक्षणीक रूपमा भन्नुभयो कि जस्तो लाग्छ । कुराकानीकै क्रममा उहाँले भन्नुभएको थियो– ‘हेर्नुहोस्, मारवाडी आफ्नो संस्कार र परम्पराप्रति निकै सचेत हुन्छ । संस्कार र परम्पराविरुद्द हुने दुईवटा काम गर्नै सक्दैन । पहिलो उसले वहुविवाह गर्दैन र दोस्रो उ जेल बस्दैन ।’

सम्पति विवरणमा केही पनि नभएको देखाएका थिए कनौडियाले । तर ती महिलाले आफ्नो बयानमा भनेकी थिइन्– ‘मैले उहाँलाई सम्पत्तिको लोभमा मुद्दा हालेको होइन । उहाँको सेवा गरौँ र वृद्ध अवस्थामा साथ दिउँ भनेकी हुँ । पति ग्रहण गरिसकेकी छु । सतित्व सुम्पिसकेको छु । पति स्थापित गर्नका लागि आएकी हुँ । नाता कायम गरिपाऊँ ।’

‘सर्वोच्चका सिद्धान्त र नजीरले पनि नाता कायम गर्न नमिल्ने कतै देखिन्न त !’ सिनियर न्यायाधीशलाई मैले सोधेँ, ‘नाता कायम गरेर अंश दिलाउनुपर्छ । फैसला उल्टी गरौँ ।’

‘उल्टी त गर्नुहोला ठीकै छ, तर यो मुद्दाको कारणबाट तपाईँको दिपायल वा त्यतै कतै सरुवा पक्कै हुन्छ ।’ ध्रुवनाथ उपाध्याय श्रीमानले मजाकमै भविष्यवाणी गर्नुभयो । दुवैको सल्लाहबाट मुद्दा छिनियो । वादीले प्रतिवादीसँग लोग्ने नाता कायम गरी वादी दाबीबमोजिम छोरी समेत प्रतिवादीकै हुने ठहर्छ भनी २०५१/४/२७ मा फैसला गऱ्यौं ।

वरिष्ठ अधिवक्ता जस्तो व्यक्तिले अंश दिने प्रयोजनका लागि सम्पत्ति केही नदेखाएकाले कानून बमोजिम खोजेर लिनसक्ने हक निज वादीसँग हुने भनेर पनि लेख्यौँ । धेरैले यो फैसला सुरेन्द्रप्रसाद सिँहका पालामा उल्टिन्छ भने, तर त्यसो भएन । सर्वोच्चबाट कृष्णजंग रायमाझी र हरिश्चन्द्रप्रसाद उपाध्यायको इजलासबाट पुनरावेदनको फैसला सदर नै भयो । वरु ध्रुवनाथ श्रीमानको भविष्यवाणी मिल्यो । केही समयपछि मेरो सरुवा दिपायल भयो ।

यो मुद्दा हेर्दाखेरी मैले के बुझेँ भने कतिपय न्यायाधीशहरू न्याय–निसाफ कसरी हुन्छ भन्ने भन्दा पनि अवगालबाट कसरी बच्न सकिन्छ भन्ने कोशिशमा हुँदा रहेछन् । हुन पनि जो अवगालबाट जोगिन सक्छ उ नै सफल मानिने रहेछ । तर जसले गाल-अवगाल विचार नगरी न्याय-निसाफ गर्छ उसलाई असफल पार्ने कोशिस गरिँदोरहेछ ।

यो मुद्दा हेर्दाखेरी मैले के बुझेँ भने कतिपय न्यायाधीशहरू न्याय–निसाफ कसरी हुन्छ भन्ने भन्दा पनि अवगालबाट कसरी बच्न सकिन्छ भन्ने कोशिशमा हुँदा रहेछन् । हुन पनि जो अवगालबाट जोगिन सक्छ उ नै सफल मानिने रहेछ । तर जसले गाल–अवगाल विचार नगरी न्याय–निसाफ गर्छ उसलाई असफल पार्ने कोशिस गरिँदोरहेछ ।

निन्दन्तु नीतिनिपुणाः यदि वा स्तुवन्तु, लक्ष्मीः समाऽविशतु गच्छतु वा यथेष्टम् ।
अद्यंव वा मरणमस्तु युगान्तरे वा, न्याय्यात् पथः प्रविचलन्ति पदं न धीराः ।

(चाहे निन्दा होस् या प्रशंसा, लक्ष्मी आउन् या जाउन्, मरण आजै होस या कालान्तरमा, यी कुनै कुराको रतिभर चिन्ता नगरी धीर पुरुषहरू न्यायको मार्गबाट हिँडिरहन्छ, कत्ति पनि विचलित हुँदैनन् ।) भतृहरिको यो नीतिवचनको अध्ययन गरेका न्यायाधीशहरू प्रशस्त छन् तर त्यसलाई व्यवहारमा उतार्ने कोशिस थोरैले मात्र गरेका छन् । ज–जसले गरेका छन् तीमध्ये सफलताको इतिहास लेख्ने अझ थोरै छन् ।

बेलायतका एक प्रसिद्ध न्यायमूर्ति Tom Bingham ले भन्नुभएको थियो कि न्यायाधीश जति सक्रिय हुन्छ उसलाई उति नै अवगालहरू आइ नै रहन्छ । संयुक्त राज्य अमेरिकाका अर्का न्यायमूर्ति John Marshall ले १८०३ मा Marbury vs Madison को मुद्दामा प्रतिपादन गर्नुभएको कानूनी सिद्धान्तहरू, सार्वजनिक सरोकारका विषय, न्यायिक पुनरावलोकनको सिद्धान्त र न्यायिक सक्रियताको विषयलाई लिएर त्यस समयमा कडा आलोचना भएको थियो । वास्तवमा न्यायाधीशको धीरता तत्कालमा होइन उसका फैसला र आदेशमा कालान्तरमा झल्किन्छ ।

त्यसकारण मलाई के लाग्छ भने न्यायको लागि मरिमेट्ने मानिसलाई नै यहाँ असफल पार्ने भरमग्दुर प्रयास हुँदोरहेछ । नेपालको वा विश्वकै इतिहास हेऱ्यौं भने पनि यस्ता कैयन दृष्टान्त छन् । न्यायाधीशहरूका लागि यो बडा विडम्बनापूर्ण छ । (क्रमशः)

यसअघिको खण्ड पढ्नुहोस्-

उपचारभन्दा आत्मबल ठूलो !
https://www.ghatanarabichar.com/103680