भाषाप्रति सर्वोच्च-दृढता

भाषाप्रति सर्वोच्च-दृढता


नेपाली भाषामा भएका एकल र संयुक्त वर्ण तथा देवनागरी लिपिलाई नै समाप्त पार्ने उद्देश्य र योजना राखेर गत केही वर्षदेखि नेपाली भाषामाथि हुँदै आइरहेको अन्यायको विरोध र विरूद्धमा कानून व्यवसायीहरू समेत डटेर दृढतापूर्वक सामना गरिरहेका छन् ।

जिम्मेवार निकायबाटै एकल र संयुक्त वर्ण एवं देवनागरीक लिपिमाथि नै गम्भीर आघात पारेर लागू गरिएको पाठ्यपुस्तकहरू त्रिभुवन विश्वविद्यालयले समेत बदर गरेको र नेपाल प्रज्ञाप्रतिष्ठानले आफूले प्रकाशित गरेको शब्दकोश (नवौ संस्करण) प्रतिष्ठान स्वयंले रद्ध गरिसकेको सूचना सार्वजनिक गरेको छ ।

इम्बोष्ड नम्बर प्लेट मार्फत नेपाली भाषामा भएका वर्ण र अंकलाई माटियामेट बनाउने दुष्प्रयासलाई आम सचेत र जागरूक नागरीकहरू त्था सम्मानित सर्वोच्च अदालतबाट जारी भएको अन्तरीम आदेशले निष्तेज बनाइदिएको छ । हाल शिक्षामन्त्रालय, पाठ्यपुस्तक विकास केन्द्रद्वारा नेपाली भाषाले प्राप्त गरेको पूर्णांक भार एकसय (१००) लाई घटाएर पचास (५०) बनाउने र क्रमशः नेपाली भाषा विषयलाई नै नेपाली विद्यार्थीहरूबाट विस्थापित गराउने अन्धकार योजनाप्रति नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठानले पूर्णतः असहमति प्रकट गरेको छ । यो दुष्प्रयास नेपाली सार्वभौम अस्तित्वमाथिको हमला भएको प्रतिष्ठानले जनाएको छ ।

नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठानले कक्षा एकदेखि पीएचडीसम्मका सबै विद्यार्थीहरूलाई नेपाली भाषा अध्ययन अध्यापन अनिवार्य हुनुपर्ने र पूर्णांक भार एकसय (१००) लाई कुनै पनि हालतमा नघटाउन शिक्षा मन्त्रालय पाठ्यपुस्तक विकास केन्द्रलाई सुझाएको छ ।

सोही सम्बन्धमा न्यायलयले प्रयोग गर्दै आएको नेपाली भाषामा समेत युनिकोड (Unicode)को हवाला दिएर एकल र संयुक्त वर्णमाथि व्यापक लापरवाही भैरहेकाप्रति सम्मानित का.मु. प्रधानन्यायधीश दीपकराज जोशीसँग प्रतिष्ठानका अध्यक्ष कवि एवं अधिवक्ता रामेश्वर राउत मातृदासको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भेटी भाषिक शुद्धता र मर्यादाप्रति सम्मानित न्यायालयको ध्यानाकृष्ट तथा जिज्ञासा प्रकट ग¥यो । सम्मानित प्रधानन्यायाधीश दीपकराज जोशीले प्रतिनिधि मण्डलसँग सर्वोच्च अदालत भाषाप्रति सधैं सम्वेदनशील रहिरहने दृढता व्यक्त गर्नु भयो । प्रतिनिधि मण्डलमा अधिवक्ताहरू राजकुमार थापा, श्रीकृष्ण शर्मा, भुवनेश्वर थापा, हरिओम तिमिल्सेना लगायतका कानुन व्यवसायीहरूको सहभागिता रहेको थियो ।